8
यो परमप्रभुको घोषणा हो, त्‍यस बेला तिनीहरूले चिहानहरूबाट यहूदाका राजाहरू, यसका अधिकारीहरू, पूजाहारीहरू, अगमवक्ताहरू र यरूशलेमका बासिन्‍दाहरूका हड्‌डीहरू निकाल्नेछन् ।2 त्‍यसपछि तिनीहरूले सूर्य, चन्‍द्रमा र आकाशका सबै ताराको प्रकाशमा तिनलाई फैलाउनेछन् । तिनीहरूले आकाशका यी कुराहरूलाई पछ्याएका छन्, सेवा गरेका छन्, तिनको खोजी गरेका छन् र पूजा गरेका छन् । हड्‌डीहरू फेरि जम्मा गरिने र गाडिने छैनन् । ती जमिनको सतहमा मलझैँ परिरहनेछन् ।3 हरेक बाँकी रहेको ठाउँ जहाँ मैले तिनीहरूलाई धपाएको छु, त्‍यहाँ तिनीहरूले आफ्नो निम्ति जीवनको साटो मृत्‍यु रोज्‍नेछन्, यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।4 त्‍यसैले तिनीहरूलाई भन्, "परमप्रभु यसो भन्‍नुहुन्‍छ, 'के कोही लडेर उठ्दैन र ? के कोही हरायो भने त्‍यो फर्केर आउन खोज्दैन र ?5 यरूशलेमका मानिसहरू किन स्थायी विश्‍वासहीनतामा तर्केर गएका छन् त ? तिनीहरू विश्‍वासघातमा टाँसिरहन्‍छन्, र पश्‍चात्ताप गर्न इन्कार गर्छन् ।6 मैले ध्‍यान दिएँ, र सुनेँ, तर तिनीहरूले सही कुरा बोलेनन् । आफ्नो दुष्‍टताको लागि कोही पनि दुःखी भएन, 'मैले के गरेको छु ?' भनेर सोध्‍ने कुनै व्यक्ति छैन । घोडा युद्धमा गएझैँ तिनीहरू सबै आफूलाई इच्‍छा लागेको ठाउँमा जान्‍छन् ।7 आकाशको सारस अनि ढुकुर, गौँथली र सारिका चरा पनि आफ्नो समय थाहा छ । तिनीहरू ठीक समयमा बसाइँ सर्छन्, तर मेरा मानिसहरूले परमप्रभुका आज्ञाहरू जान्‍दैनन् ।8 'परमप्रभुको व्यवस्था हामीसित भएको हुनाले हामी बुद्धिमान् छौँ' भनी तिमीहरू कसरी भन्‍न सक्छौ ? वास्तवमा, हेर, शास्‍त्रीहरूको छलपूर्ण कलमले छलको सृजना गरेको छ ।9 बुद्धिमान् मानिसहरू लज्‍जित हुनेछन् । तिनीहरू हताश भएका छन् र पासोमा परेका छन् । हेर, तिनीहरूले परमप्रभुको वचन इन्कार गर्छन्, यसैले तिनीहरूको बुद्धिको के काम ?10 त्‍यसैले म तिनीहरूका पत्‍नीहरू अरूहरूलाई दिनेछु, र तिनीहरूका खेतबारी अधिकार गर्नेहरूलाई म ती दिनेछु, किनकि सानादेखि ठूलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी छन् । अगमवक्तादेखि पूजाहारीसम्म सबैले छलको अभ्यास गर्छन् ।11 शान्‍ति नै नहुँदा पनि 'शान्‍ति, शान्‍ति' भनेर तिनीहरूले मेरा मानिसहरूको चोटलाई अलिअलि मात्र निको पारेका छन् ।12 तिनीहरूले घृणित कामहरू गर्दा के तिनीहरू लज्‍जित भए ? तिनीहरू लज्‍जित भएनन् । कसरी शर्म मान्‍ने भन्‍ने कुरा पनि तिनीहरूलाई थाहा भएन । त्‍यसैले पतन भएकाहरूका बीचमा तिनीहरू पतन हुनेछन् । तिनीहरूलाई दण्ड दिइँदा तिनीहरू तल खसालिनेछन्, परमप्रभु भन्‍नुहुन्‍छ ।13 म तिनीहरूलाई पूर्ण रूपमा हटाइदिनेछु, यो परमप्रभुको घोषणा हो । दाखका बोटहरूमा दाख हुनेछैन, न त अञ्‍जीरका रूखहरूमा अञ्‍जीर हुनेछ । किनकि पात सुकेर जानेछ, र मैले तिनीहरूलाई दिएका कुरा हराएर जानेछ ।14 हामी किन यहाँ बसिरहेका छौँ ? सँगसँगै आओ । हामी किल्लाबन्‍दी गरिएका सहरहरूमा जाऔँ, र त्‍यहाँ हामी मरेर चूप बनौँ । किनकि परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई चूप पार्नुहुनेछ । उहाँले हामीलाई विष पिउन लगाउनुहुनेछ किनकि हामीले उहाँको विरुद्धमा पाप गरेका छौँ ।15 हामी शान्‍तिको अपेक्षा गर्दैछौँ, तर त्‍यहाँ कुनै असल कुरो हुनेछैन । हामी चङ्‌गाइको समयको आशा गर्दैछौँ, तर त्‍यहाँ त्रास हुनेछ ।16 दानबाट त्‍यसका घोडाहरूको घ्वार-घ्वार आवाज सुनिन्‍छ । त्‍यसका शक्तिशाली घोडाहरूको हिनहिनाइको आवाजमा पूरै पृथ्वी हल्लिन्‍छ । किनकि तिनीहरू आउनेछन् र यो देश र यसको सम्पत्ति, सहर र यसमा बस्‍नेहरूलाई स्वाहा पार्नेछन् ।17 किनकि हेर, म तिमीहरूका बीचमा सर्पहरू, तिमीहरूका टुनामुनाले वशमा पार्न नसक्‍ने विषालु सर्पहरू पठाउँदै छु । तिनीहरूले तिमीहरूलाई डस्‍नेछन्, यो परमप्रभुको घोषणा हो ।18 मेरो शोकको कुनै अन्‍त छैन, र मेरो हृदय व्याकुल भएको छ ।19 हेर्नुहोस्, टाढाको देशमा भएका मेरो मानिसहरूको छोरीको क्रन्‍दन सुन्‍नुहोस् । के परमप्रभु सियोनमा हुनुहुन्‍न र ? के त्‍यसका राजा अहिले त्‍यहाँ हुनुहुन्‍न र ? त्‍यसो भए, तिनीहरूले आफ्ना खोपिएका मूर्तिहरू र बेकम्मा विदेशी देवताहरूले मलाई किन रीस उठाउँछन् त ?20 कटनीको समय बितेको छ, ग्रीष्म ऋतु पनि सकिएको छ । तरै पनि हामी बचाइएका छैनौँ ।21 मेरा मानिसहरूको छोरीको चोटको कारणले मलाई मलाई चोट लागेको छ । त्‍यसलाई आइपरेका डरलाग्दा कुराहरूमा म शोक गर्छु । म लज्‍जित भएको छु ।22 के गिलादमा कुनै औषधी छैन ? के त्‍यहाँ कुनै निको पार्न व्यक्ति छैन ? मेरा मानिसहरूको छोरीको चोट किन निको भएको छैन त ?"