48
सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर मोआबलाई यसो भन्‍नुहुन्‍छ, "नेबोलाई धिक्कार ! किनकि यसलाई सर्वनाश पारिएको छ । कर्यातैमलाई अपमानित गरिएको छ र कब्जा गरिएको छ । त्‍यसका किल्लाहरू लाजमा पारिएका छन्, र भत्काइएका छन् ।2 फेरि मोआबको आदर गरिनेछैन । हेश्बोनमा भएका त्‍यसका शत्रुहरूले त्‍यसको विरुद्धमा विनाशको षड्‌यन्‍त्र रचेका छन् । तिनीहरूले भने, 'आओ र जातिको रूपमा त्‍यसलाई नाश पारौँ । बौलाहाहरू पनि नष्‍ट हुनेछन् । तरवाले तँलाई खेद्‌नेछ ।'3 सुन ! होरोनैमबाट क्रन्‍दनको सोर आइरहेको छ, जहाँ भग्‍नावशेष र ठूलो विनाश छ ।4 मोआब नष्‍ट पारिएको छ । त्‍यसका बच्‍चाहरू चिच्‍च्‍याएको स्‍वर सुनिन्‍छ ।5 तिनीहरू रुँदै लूहीतको डाँडामा जान्‍छन्, किनकि विनाशको कारण होरोनैमको ओह्रालोमा क्रन्‍दन सुनिन्‍छ ।6 भाग ! आ-आफ्ना ज्‍यान बचाओ, र उजाड-स्थानमा पोथ्रा जस्‍तै बन ।7 किनकि तिमीहरूका अभ्यास र धनमा भएको तिमीहरूको भरोसाको कारण तिमीहरू समातिनेछौ । तब कमोश त्‍यसका पूजाहारीहरू र अगुवाहरूसँगै निर्वासनमा लगिनेछ ।8 किनकि विनाशक हरेक सहरमा आउनेछ । कुनै पनि सहर उम्कनेछैन । त्‍यसैले बेँसी नष्‍ट हुनेछ, र मैदान सर्वनाश पारिनेछ, जस्‍तो परमप्रभुले भन्‍नुभएको छ ।9 मोआबलाई पखेटा देओ, किनकि निश्‍चय नै त्‍यसले उड्नुपर्नेछ । त्‍यसका सहरहरू काम नलाग्‍ने भूमि हुनेछन्, जहाँ बस्‍ने कोही हुनेछैन ।10 परमप्रभुको काम गर्नमा अल्छे कुनै पनि व्यक्ति श्रापित होस् ! रगत बगाउनदेखि आफ्नो तरवारलाई रोक्‍ने कुनै व्यक्ति श्रापित होस् !11 आफ्नो युवावस्थादेखि नै मोआबले आफूलाई सुरक्षित ठानेको छ । त्‍यो एउटा भाँडोदेखि अर्को भाँडोमा कहिल्यै नखन्‍याइएको दाखमद्य जस्‍तो हो । त्‍यसलाई कहिल्यै निर्वासनमा लगिएको छैन । त्‍यसकारण त्‍यसको स्वाद सदा स्वादिष्‍ठ हुन्‍छ । त्‍यसको बास्‍ना नबदली रहन्‍छ ।12 त्‍यसैले हेर, यो परमप्रभु घोषणा हो, यस्ता दिनहरू आउँदैछन् जति बेला म त्‍यसलाई ती मानिसहरूकहाँ पठाउनेछु, जसले त्‍यसमाथि भाँडा घोप्‍ट्‌याउनेछन्, र त्‍यसका सबै घैँटा रित्त्‍याउनेछन्, र त्‍यसका गाग्राहरू चूरचूर पारेर फुटाइदिनेछन् ।13 तब जसरी आफूले भरोसा गरेको बेथेलदेखि इस्राएलको घराना लाजमा परेको थियो, त्‍यसै गरी मोआब कमोशदेखि लाजमा पारिनेछ ।14 तँ कसरी यसो भन्‍न सक्छस्, 'हामी सिपाही, शक्तिशाली योद्धाहरू हौँ ?'15 मोआब सर्वनाश पारिनेछ, र यसका सहरहरू आक्रमणमा पर्नेछन् । किनकि यसका सबै भन्‍दा उत्तम युवाहरू हत्‍याको स्थानमा गएका छन् । यो महाराजाको घोषणा हो ! सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।16 मोआबको विनाश चाँडै आउँनेछ । विपत्ति झट्टै हतारिँदैछ ।17 मोआबको वरिपरि भएका तिमीहरू सबै विलाप गर, र यसको ख्याति जान्‍नेहरू सबै यसो भन्‍दै कराओ, 'धिक्कार शक्तिशाली लट्ठीलाई ! त्‍यो गौरवको लौरो भाँचिएको छ ।'18 ए दीबोनकी छोरी हो, तेरो इज्‍जतदार ठाउँबाट तल झरेर आइज, र सुक्खा भुइँमा बस् । किनकि मोआबलाई नष्‍ट गर्नेले तँलाई आक्रमण गर्दै छ, जसले तेरा किल्लाबन्‍दी गरिएका सहरहरूलाई नष्‍ट गर्नेछ ।19 ए अरोएरमा बस्‍ने मानिसहरू हो, बाटोमा खडा होओ र हेर । भागिरहेका र उम्किरहेकाहरूलाई सोध, 'के भएको छ ?'20 मोआब लाजमा परेको छ, किनकि यसलाई चूरचूर पारिएको छ । रोओ र विलाप गर ! मदतको लागि गुहार ! मोआब सर्वनाश पारिएको छ भनी अर्नोन नदीको किनारमा बस्‍ने मानिसहरूलाई बताओ ।21 दण्ड पहाडी इलाकाहरूमा आएको छ - होलोन, यहसाह र मेपातमाथि,22 दीबोन, नेबो र बेथ-दिब्लातैममाथि,23 किर्यातैम, बेथ-गमूएल र बेथ-मोनमाथि,24 किर्योत, बोज्रा र मोआब देशका नजिक र टाढाका सबै सहरहरूमाथि आएको छ ।25 मोआबको सीङ टुक्राटुक्रा पारिएको छ । यसको पाखुरा भाँचिएको छ, यो परमप्रभुको घोषणा हो ।26 त्‍यसलाई मत्त्‍याओ, किनकि त्‍यो परमप्रभुको विरुद्धमा अहंकारी भयो । मोआब आफ्नै बान्‍तामा लडीबडी खेलोस्, र त्‍यो हाँसोको पात्र बनोस् ।27 किनकि के इस्राएल तेरो लागि हाँसोको पात्र बनेको थिएन र ? के त्‍यसलाई चोरहरूका बीचमा पाइएको थियो ताकि तैँले त्‍यससित प्रायः कुरा गर्दा तैँले तेरो शिर हल्लाइस् ?28 ए मोआबका बासिन्‍दाहरू हो, सहरहरूलाई छोड र चट्टानहरूमा छाउनी हाल । चट्टानको दुलोको मुखमा गुँड लगाउने ढुकुर जस्‍तो होओ ।29 हामीले मोआबको घमण्ड अर्थात् त्‍यसको अहंकार, त्‍यसको हठ, त्‍यसको शेखी, त्‍यसको आत्मगौरव र त्‍यसको हृदयमा भएको छलको बारेमा सुनेका छौँ ।30 यो परमप्रभुको घोषणा हो, त्‍यसको अटेरी बोली म आफैलाई थाहा छ, जुन त्‍यसका कामहरू जस्‍तै व्यर्थको छ ।31 त्‍यसैले म मोआबको निम्ति विलाप गर्नेछु, र म सारा मोआबको लागि शोकमा कराउनेछु । म कीर-हरेशेतका मानिसहरूका लागि विलाप गर्नेछु ।32 ए सिब्माका दाखको बोट हो, याजेरको लागि रोएको भन्‍दा म तेरो लागि बढी रुनेछु ! तेरा हाँगाहरू नूनको समुद्र पार गरी याजेरसम्मे पुगे । विनाशकहरूले तेरो ग्रीष्म ऋतुको फल र तेरो दाखमद्यलाई आक्रमण गरेका छन् ।33 मोआब देश र त्‍यसका फल फलाउने रूखहरूबाट उत्सव र रमाहट खोसिएको छ । तिनीहरूका दाखको कोलबाट दाखको रस मैले बन्‍द गरेको छु । तिनीहरू आनन्‍दले कराउँदै कुल्चनेछैनन् । कुनै पनि स्वर आनन्‍दको स्वर हुनेछैन ।34 तिनीहरू रोएको स्‍वर हेश्बोनबाट एलालेसम्म र सोअरदेखि होरोनैम र एग्लत-शलीशियाहसम्मै सुनिएको छ, किनकि निम्रीमको पानी सुकिसकेको छ ।35 किनकि मोआबमा आफ्ना देवताहरूलाई उच्‍च स्थानहरूमा बलिदान चढाउने र धूप बाल्नेहरू जोकसैलाई म खतम पार्नेछु, यो परमप्रभुको घोषणा हो ।36 त्‍यसैले मेरो हृदयले मोआबको लागि बाँसुरीझैँ विलाप गर्दै छ । कीर-हरेशेतका मानिसहरूका लागि मेरो हृदयले बाँसुरीझैँ विलाप गर्दै छ । तिनीहरूले कमाएका धन-सम्पत्ति नष्‍ट भएका छन् ।37 किनकि हरेक तालु खुइलेको छ, र हरेक दाह्री खौरिएको छ । हरेकको हात काटेर चिरिएको छ, र तिनीहरूका कम्मरको चारैतिर भाङ्‌ग्रा छ ।38 मोआबको हरेक समतल कौसी र मोआबका चोकहरूमा जताततै शोक छ । किनकि मैले मोआबलाई कसैले नचाहने भाँडोलाई झैँ नाश पारेको छु, यो परमप्रभुको घोषणा हो ।39 त्‍यो कस्तो चूरचूर पारिएको छ ! आफ्नो विलापमा तिनीहरू कसरी रुन्‍छन् ! मोआबले लाजमा आफ्नो पिठिउँ फर्काउँछ । त्‍यसैले आफ्नो वरिपरि भएका सबैका लागि मोआब हाँसो र त्रासको पात्र बन्‍नेछ ।"40 किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ, "शत्रु मोआबमाथि आफ्नो पखेटा फैलाउँदै गरुडझैँ उडेर आउनेछ ।41 किर्योत कब्जा गरिएको छ, र यसका किल्लाहरू घेरिएका छन् । किनकि त्‍यस दिन मोआबका सिपाहीहरूका हृदयहरू प्रसव-वेदनामा भएका स्‍त्रीहरूका हृदयझैँ हुनेछन् ।42 त्‍यसैले मोआब पूर्ण रूपमा नष्‍ट पारिनेछ, र त्‍यो फेरि एउटा जाति रहनेछैन, किनकि परमप्रभुको विरुद्धमा यसले आफैलाई ठूलो बनायो ।43 ए मोआबका बासिन्‍दा हो, तँमाथि त्रास, खाडल र पासो आउँदै छन्, यो परमप्रभुको घोषणा हो ।44 त्रासको कारणले भाग्‍ने जो कोही पनि खाडलमा खस्‍नेछ, र खाडलबाट निस्केर आउने जो कोही पनि पासोमा पर्नेछ, किनकि म तिनीहरूमाथि मेरो बदलाको वर्षमा यी कुरा ल्याउनेछु, यो परमप्रभुको घोषणा हो ।45 भागेर जानेहरू तागतबिनै हेश्बोनको छायामा अडिनेछन्, किनकि हेश्बोनबाट आगो निस्कनेछ, सीहोनको बीचबाट ज्‍वाला आउनेछ । यसले मोआबको निधारलाई भस्म पार्नेछ, र घमण्डी मानिसहरूका शिरको थाप्लोलाई जलाइदिन्‍छ ।46 ए मोआब, तँलाई धिक्कार छ ! कमोशका मानिसहरू नष्‍ट पारिएका छन्, किनकि तेरा छोराहरू कैदीको रूपमा लगिएका छन्, र तेरा छोरीहरू निर्वासनमा लगिएका छन् ।47 तर पछिल्ला दिनमा म मोआबको सुदिन फर्काइदिनेछु, यो परमप्रभुको घोषणा हो ।" मोआबको इन्साफ यहीँ समाप्त हुन्‍छ ।