49
अम्मोनीहरूको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ, "के इस्राएलका छोराछोरीहरू छैनन् र ? के इस्राएलमा कुनै उत्तराधिकारी छैन ? किन मोलोखले गाद कब्जा गर्छ र त्‍यसका मानिसहरू यसका सहरहरूमा बस्छन् त ?2 त्‍यसैले, यो परमप्रभुको घोषणा हो, हेर्, यस्ता दिनहरू आउँदैछन्, जति बेला म अम्मोनीहरूका बीचमा रब्बाको विरुद्धमा युद्ध-ध्वनीको लागि सङ्‌केतको आवाज निकाल्नेछु, यसरी यो भग्‍नावशेषको थुप्रो हुनेछ, र यसका गाउँहरूमा आगो लगाइनेछ । किनकि इस्राएललाई अधिकार गर्नेहरूलाई त्‍यसले अधिकार गर्नेछ”, परमप्रभु भन्‍नुहुन्‍छ ।3 "ए हेश्बोन, विलापको आवाज निकाल्, किनकि ऐ सहरलाई सर्वानाश गरिनेछ ! ए रब्बाकी छोरीहरू हो, चिच्‍च्‍याओ ! भाङ्‌ग्रा लगाओ । विलाप गर, र व्यर्थैमा यताउता कुद, किनकि मोलोख त्‍यसका पूजाहारीहरू र अगुवाहरूसँगै निर्वासनमा लगिनेछ ।4 ए विश्‍वासहीन छोरी, तँ किन तेरा ज्‍यादै फलवन्‍त बेँसीहरूको विषयमा घमण्ड गर्छेस् ? आफ्नो धन-सम्पत्तिमा भरोसा गरी तँ भन्‍छस्, 'मेरो विरुद्धमा को आउनेछ ?'5 यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, हेर्, मैले तँमाथि त्रास ल्याउनै लागेको छु, यो त्रास तेरो वरिपरि भएका सबैबाट आउनेछ । यसको सामु तिमीहरू हरेक तितरबितर हुनेछौ । ती भाग्‍नेहरूलाई जम्मा गर्ने कोही पनि हुनेछैन ।6 तर यसपछि म अम्मोनका मानिसहरूको सुदिन फर्काउनेछु, यो परमप्रभुको घोषणा हो ।"7 एदोमको विषयमा सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छ, "के तेमानमा अबदेखि कुनै बुद्धि पाइँदैन ? के समझदारहरूबाट असल सल्लाह गायब भएको छ ? के तिनीहरूको बुद्धि भ्रष्‍ट भएको छ ?8 ए ददानका बासिन्‍दाहरू हो, भाग र फर्क, जमिनका गुफाहरूमा बस । किनकि मैले त्‍यसलाई दण्ड दिने बेलामा म त्‍यसमाथि एसावको विपत्ति ल्याउँदैछु ।9 दाख टिप्‍नेहरू तँकहाँ आए भने के तिनीहरूले केही दानाहरू छोड्दैनन् र ? रातमा चोरहरू आए भने के तिनीहरूले आफूले चाहे जति मात्र लैजाँदैनन् र ?10 तर मैले एसावलाई नाङ्‌गै पारेको छु । मैले त्‍यसका लुक्‍ने ठाउँहरू देखाएको छु, यसैले उसले आफैलाई लुकाउन सक्‍नेछैन । त्‍यसका छोराछोरीहरू, दाजुभाइ र छिमेकीहरू नष्‍ट पारिएका छन्, र त्‍यो नष्‍ट भएको छ ।11 तेरा अनाथहरूलाई पछाडि छोड् । तिनीहरूका जीवनको हेरचाह म गर्नेछु, र तेरा विधवाहरूले ममाथि भरोसा गर्न सक्छन् ।"12 किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ, "हेर, कचौरा पिउनु नपर्नेले त निश्‍चय नै केही पिउनैपर्छ । के तँचाहिँ दण्डबिना उम्कन्‍छस् भनी सोच्‍छस् ? तँ उम्कनेछैनस्, किनकि तैँले निश्‍चय नै पिउनेछस् ।13 यो परमप्रभुको घोषणा हो, म आफैले यो शपथ खाएको छु, कि बोज्रा त्रास, अपमान, उजाड र सरापको पात्र बन्‍नेछ । यसका सबै सहरहरू सदाको लागि सर्वनाश पारिनेछन् ।14 मैले परमप्रभुबाट समाचार सुनेको छु, र जातिहरूकहाँ एक जना सन्‍देशवाहक पठाइएको छ, 'एकसाथ जम्मा होओ र त्‍यसलाई आक्रमण गर । युद्धको लागि तयार रहो ।'15 “किनकि हेर ! अरू जातिहरूको तुलनामा मैले तँलाई सानो, मानिसहरूद्वारा घृणित तुल्याएको छु ।16 तेरो त्रासको विषयमा, ए चट्टानका ठाउँहरूमा बस्‍ने बासिन्‍दाहरू हो, तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ, गरुडले झैँ तैँले आफ्नो गुँड अग्लो ठाउँमा बनाउन भनेर अग्ला डाँडाका टाकुराहरू ओगटेर बस्‍नेहरू हो, म त्‍यहाँबाट तँलाई तल झार्नेछु, यो परमप्रभुको घोषणा हो ।17 एदोमबाट भएर जाने हरेकको लागि यो त्रासको पात्र बन्‍नेछ । यसका सबै विपत्तिको कारण हरेक व्यक्ति तर्सनेछ र गिल्ला गर्नेछ ।18 जसरी सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूको पतन भयो”, परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यहाँ कोही पनि बस्‍नेछैन । कुनै पनि व्यक्ति त्‍यहाँ रहनेछैन ।19 हेर्, यर्दनका जङ्‌गलहरूबाट हरिया खर्कहरूमा सिंहझैँ ऊ माथितिर उक्लनेछ । किनकि म एदोमलाई त्‍यहाँबाट तुरुन्‍तै भाग्‍ने बनाउनेछु, र चुनिएको कुनै व्यक्तिलाई म त्‍यसको जिम्मा लगाउनेछु । किनकि म जस्‍तो को छ र कसले मलाई बोलाउनेछ ? कुनचाहिँ गोठालोले मेरो विरोध गर्न सक्छ ?20 “त्‍यसैले परमप्रभुले एदोमको विरुद्धमा निधो गर्नुभएका योजनाहरू, तेमानका बासिन्‍दाहरूको विरुद्धमा बनाउनुभएका योजनाहरू सुन । निश्‍चय नै तिनीहरूका स-साना बगालका पनि घिस्याएर लगिनेछन् । तिनीहरूका खर्कहरू उजाड-स्थानमा परिणत हुनेछन् ।21 तिनीहरूको पतनको स्‍वरमा पृथ्वी हल्लिन्‍छ । निराशाको चित्कारको स्‍वर लाल समुद्रमा सुनिनेछ ।22 हेर्, कसैले बोज्रालाई गरुडझैँ आक्रमण गर्नेछ, तलतिर बेग हानी यसमाथि आफ्ना पखेटा फैलाउनेछ । तब त्‍यस दिनमा एदोमका सिपाहीहरूका हृदयहरू प्रसव-वेदनामा भएकी स्‍त्रीको हृदय जस्‍तै हुनेछन् ।"23 दमस्कसको विषयमाः "हमात र अर्पाद लाजमा पर्नेछन्, किनकि तिनीहरूले विपत्तिको खबर सुनेका छन् । तिनीहरू पग्लेर जान्‍छन् ! तिनीहरू शान्‍त नरहने समुद्रझैँ छटपटीमा हुन्‍छन् ।24 दमस्कस साह्रै कमजोर भएको छ । यो भाग्‍नलाई फर्कन्‍छ । त्रासले यसलाई पक्रन्‍छ । प्रसव-वेदनामा भएकी स्‍त्रीझैँ निराशा र पीडाले यसलाई पक्रन्‍छन् ।25 त्‍यो प्रशंसाको सहर अर्थात् मेरो आनन्‍दको नगर किन त्‍यागिएको छैन ?26 त्‍यसकारण त्‍यस दिन त्‍यसका युवाहरू सार्वजनिक ठाउँहरूमा ढल्नेछन्, र सबै योद्धाहरू नष्‍ट हुनेछन्, यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।"27 “किनकि दमस्कसको पर्खालमा म आगो लगाउनेछु, र यसले बेन-हददका किल्लाहरूलाई भस्म पार्नेछ ।"28 केदार र हासोरका राज्‍यहरूको विषयमा परमप्रभु नबूकदनेसरलाई यसो भन्‍नुहुन्‍छ (यति बेला बेबिलोनका राजा नबूकदनेसरले यी ठाउँहरूलाई आक्रमण गर्न लागेका थिए)ः "उठ्, र केदारलाई आक्रमण गर्, अनि पूर्वका ती मानिसहरूलाई नष्‍ट पार् ।29 तिनीहरूका पाल र तिनीहरूका बगाल लगिनेछन्, साथमा तिनीहरूका पालका पर्दाहरू र तिनका सबै सरसामान पनि । तिनीहरूका ऊँटहरू तिनीहरूबाट लगिनेछन्, र मानिसहरू तिनीहरूमाथि चिच्‍याउनेछन्, 'त्रास जताततै छ !'30 ए हासोरका बासिन्‍दाहरू हो, भाग, धेरै टाढा जाओ, जमिनका गुफाहरूमा लुक, यो परमप्रभुको घोषणा हो - किनकि बेबिलोनका राजा नबूकदनेसरले तिमीहरूको विरुद्धमा योजना रच्दैछ । भाग, पछि फर्क ।31 उठ्, आराम भएको जातिलाई आक्रमण गर, जुन सुरक्षामा बस्छ”, परमप्रभु भन्‍नुहुन्‍छ । “तिनीहरूका मूल ढोकाहरू वा तिनमा गजबारहरू छैनन्, अनि त्‍यसका मानिसहरू त्‍यत्तिकै बस्छन् ।32 किनकि तिनीहरूका ऊँटहरू लूटको माल बन्‍नेछन्, र तिनीहरूको प्रचुर धन-सम्पत्ति युद्धमा लुटिने माल बन्‍नेछन् । तब शोकमा आफ्ना कपाल काट्ने हरेकलाई म हावामा तितरबितर पार्नेछु, र तिनीहरूमाथि म हरेक कुनाबाट विपत्ति ल्याउनेछु, यो परमप्रभुको घोषणा हो ।33 हासोर स्यालहरूको अखडा अर्थात् सदाको निम्ति उजाड-स्थान बन्‍नेछ । त्‍यहाँ कोही बस्‍नेछैन । कुनै मानिस त्‍यहाँ रहनेछैन ।"34 एलामको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो । यहूदाका राजा सिदकियाहले राज्‍य गर्न सुरु गर्दा यो वचन आएको थियो, र तिनले भने,35 "सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छः हेर्, मैले एलामका धनुर्धारीहरूलाई तोड्नै लागेको छु, जुन तिनीहरूको शक्तिको मुख्य कुरा हो ।36 किनकि आकाशका चार कुनाबाट म चार वटा बतास ल्याउनेछु, र एलामका मानिसहरूलाई म ती सबै हावामा तितरबितर पार्नेछु । त्‍यहाँ कुनै राज्‍य नै हुनेछैन जहाँ एलामबाट छरिएकाहरू नपुगेको होस् ।37 यसरी एलामीहरूलाई म तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्‍यान लिन खोज्‍नेहरूको सामु चूरचूर पार्नेछु । किनकि म तिनीहरूको विरुद्धमा विपत्ति अर्थात् मेरो क्रोधको ज्वाला दन्‍काउनेछु, यो परमप्रभुको घोषणा हो - र मैले तिनीहरूलाई निमिट्ट्‌यान्‍न नपारेसम्म म तिनीहरूका पछि तरवार पठाउनेछु ।38 त्‍यसपछि एलाममा म आफ्नो सिंहासन स्थापित गर्नेछु, र त्‍यहाँबाट त्‍यसका राजाहरू र अगुवाहरूलाई नष्‍ट पार्नेछु - यो परमप्रभुको घोषणा हो -39 र यस्तो हुनेछ कि पछिल्ला दिनहरूमा म एलामको सुदिन फर्काउनेछु - यो परमप्रभुको घोषणा हो ।"