47
पलिश्तीहरूको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो । फारोले गाजालाई आक्रमण गर्नुअघि यो वचन तिनीकहाँ आयो ।2 "परमप्रभु यसो भन्‍नुहुन्‍छः उत्तरमा पानीको बाढी उर्लंदैछ । तिनीहरू बाढीको भलझैँ हुनेछन् ! तिनीहरूले यस देश र यसमा भएका हरेक थोक, यसका सहरहरू र यसका बासिन्‍दाहरूलाई डुबाउनेछन् !त्‍यसैले हरेकले मदतको लागि गुहार माग्‍नेछ, र देशका सबै बासिन्‍दाहरूले विलाप गर्नेछन् ।3 बलिया घोडाहरूको टापले फड्केको आवाजमा, तिनीहरूका रथका वेग र तिनीहरूका पाङ्‌ग्राका हल्लामा, बुबाहरूको आफ्नै कमजोरीको कारणले तिनीहरूले आफ्नै छोराछोरीहरूलाई सहायता गर्नेछैनन् ।4 किनकि सारा पलिश्तीहरूको सर्वनाश हुने दिन आउँदैछ । बाँचेकाहरूमध्‍ये टुरोस र सीदोनलाई मदत गर्न चाहनेहरू बहिष्कृत हुने छन् । किनभने परमप्रभुले कप्तोरको टापूमा बाँकी रहेका पलिश्तीहरूलाई सर्वनाश पार्दै हुनुहुन्‍छ ।5 गाजाको तालु खुइलिनेछ । अश्कलोनको बेँसीमा बाँकी रहेका मानिसहरू मौन रहनेछन् । शोक गरेर कहिलेसम्म तिमीहरूले आ-आफ्नो शरीरलाई काट्नेछौ ?6 हाय परमप्रभुको तरवार ! तँ मौन हुनलाई कति लामो समय लाग्‍नेछ ? तेरो म्यानमा फर्केर जा । रोकी र मौन हो ।7 अशक्लोन र समुद्र किनारका देशहरूलाई आक्रमण गर्न परमप्रभुले नै यसलाई आज्ञा दिनुभएको छ भने, यसले कसरी विश्राम गर्न सक्छ र ?"