46
जाति-जातिहरूको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो ।2 मिश्र देशको विषयमाः "यो यूफ्रेटिस नदीको तीरमा अवस्थित कर्कमीशमा भएका मिश्र देशका राजा फारो नेकोका सेनाको विषयमा हो । यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा यही सेनालाई बेबिलोनका राजा नबूकदनेसरले पराजित गरेका थिए ।3 साना र ठूला ढालहरू तयार पार, अनि युद्ध गर्नलाई अगाडि बढ ।4 घोडाहरूमा जीन-लगाम कस । घोडाहरूमा सवार होओ, र टोप लगाएर आफ्नो ठाउँमा खडा होओ । भालाहरू टल्काओ, र आ-आफ्नो कवच लगाओ ।5 म यहाँ के देख्दैछु ? तिनीहरू त्रासले भरिएका छन्, र टाढा भाग्दैछन्, किनकि तिनीहरूका सिपाहीहरू पराजित भएका छन् । सुरक्षाको लागि तिनीहरू भाग्दैछन्, र पछाडि फर्केर हेरिरहेका छैनन् । त्रास चारैतिर छ, यो परमप्रभुको घोषणा हो -6 तीव्र गतिमा कुद्नेहरू भाग्न सक्दैनन्, र सिपाहीहरू उम्कन सक्दैनन् । तिनीहरू उत्तरमा ठक्कर खान्छन्, र यूफ्रेटिस नदीको छेउमा ढल्छन् ।7 नील नदीझैँ बढेर आउने यो को हो, जसको पानी नदी झैँ उर्लन्छ र झर्छ ?8 मिश्र देश नील नदीझैँ बढेर आउँछ । त्यो नदीको पानीझैँ उर्लन्छ र झर्छ । मिश्र देशले भन्छ, 'म माथि जानेछु र पृथ्वीलाई ढाक्नेछु । सहरहरू र तिनका बासिन्दाहरूलाई म नष्ट पार्नेछु ।9 ए घोडाहरू हो, माथि जाओ । ए रथहरू हो, रिसाओ । सिपाहीहरू बाहिर जाऊन्, ढाल बोक्ने कूश र पूतका निपुण मानिसहरू अनि लूदका बाण हान्न निपुण मानिसहरू हो, अगि बढ ।'10 त्यस दिन सर्वशक्तिमान् परमप्रभुको लागि प्रतिशोधको दिन हुनेछ, र उहाँले आफ्ना वैरीहरूलाई आफै बदला लिनुहुनेछ । तरवारले स्वाहा पार्नेछ, र त्यो सन्तुष्ट हुनेछ । यसले तिनीहरूको रगत पिउनेछ । किनकि यूफ्रेटिस नदीको किनारमा अवस्थित उत्तर देशमा सर्वशक्तिमान् परमप्रभुका लागि बलिदान चढाइनेछ ।11 ए मिश्र देशका कन्या-छोरी हो, गिलादमा उक्लेर जाओ, र औषधी प्राप्त गर । तैँले धेरै औषधी लगाए तापनि त्यो व्यर्थ हुन्छ । तेरो लागि कुनै उपचार छैन ।12 जातिहरूले तेरो अपमानको बारेमा सुनेका छन् । पृथ्वी तेरो विलापले भरिएको छ, किनकि सिपाहीहरू एक-अर्कामा ठक्कर खान्छन् । तिनीहरू दुवै एकसाथ ढल्छन् ।"13 बेबिलोनका राजा नबूकदनेसर मिश्र देशमा आउँदा र आक्रमण गर्दा परमप्रभुले यर्मिया अगमवक्तालाई भन्नुभएको वचन यही होः14 "मिश्र देशमा सूचना दे, र मिग्दोल, मेम्फिस र तहपनेसमा यो घोषणा गर् । 'आ-आफ्नो ठाउँ लेओ र आफूलाई तयार राख, किनकि तिमीहरूको वरिपरि भएकाहरूलाई तरवारले स्वाहा पार्नेछ ।'15 तेरा शक्तिशाली मानिसहरू किन भुइँमा घोप्टो पर्छन् ? तिनीहरू खडा हुनेछैनन्, किनकि म परमप्रभुले तिनीहरूलाई भुइँमा धकेलेको हुँ ।16 उहाँले ठक्कर खानेहरूको सङ्ख्या बढाउनुहुन्छ । हरेक सिपाही अर्कोमा ढल्नेछ । तिनीहरू भन्दैछन्, 'खडा होऊ । हामी घर जाऔँ । हाम्रा आफ्नै मानिसहरूकहाँ, हाम्रो आफ्नै मातृभूमिमा जाऔँ । हामीलाई प्रहार गर्ने यो तरवारलाई हामी छोडौँ ।'17 तिनीहरूले त्यहाँ घोषणा गरे, 'मिश्र देशका राजा फारो हल्ला गर्ने स्वर मात्र हो, मौका पाएको व्यक्ति चिप्लेको छ ।'18 जस्तो म जीवित छु, सर्वशक्तिमान् परमप्रभु महाराजा घोषणा गर्नुहुन्छ - कोही एक जना तबोर पर्वतझैँ र समुद्र किनारको कर्मेल पर्वतझैँ आउनेछ ।19 ए मिश्र देशमा बस्नेहरू हो, निर्वासनमा लानलाई आफ्ना निम्ति पोकापन्तरा बाँध । किनकि मेम्फिस उजाड हुनेछ । यो भग्नावशेष हुनेछ, र त्यहाँ कोही पनि बस्नेछैन ।20 मिश्र देश एउटा सुन्दरी गाई हो, तर उत्तर दिशाबाट एउटा चिल्ने कीरा आउँदैछ । त्यो आउँदैछ ।21 त्यसको बीचमा भएका ज्यालादार सिपाहीहरू पोसिएका साँढेहरू जस्तै हुन्, तर तिनीहरू पनि फर्केर भाग्नेछन् । तिनीहरू एकसाथ खडा हुनेछैनन्, किनकि तिनीहरूका विरुद्धमा तिनीहरूका विपत्तिको दिन, तिनीहरूको दण्डको समय आउँदैछ ।22 सर्पले झैँ मिश्र देशले आवाज निकाल्नेछ र घिस्रेर भाग्नेछ, किनकि त्यसका शत्रुहरू त्यसको विरुद्धमा अगि बढ्दैछन् । दाउरा काट्नेहरूले बन्चरो लिएर हिँडेझैँ तिनीहरू त्यसतर्फ जाँदैछन् ।23 जङ्गल घना भए तापनि तिनीहरूले त्यसलाई काट्नेछन्, यो परमप्रभुको घोषणा हो । किनकि शत्रुहरू गन्नै नसकिने गरी सलहहरू भन्दा धेरै हुनेछन् ।24 मिश्र देशकी छोरी लाजमा पारिनेछे । त्यसलाई उत्तरबाट आउने मानिसहरूको हातमा दिइनेछ ।"25 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, "हेर, थेबेसको अमोन, फारो, मिश्र देश र त्यसका देवताहरू, त्यसका राजा फारोहरू र तिनीहरूमाथि भरोसा गर्नेहरूलाई मैले दण्ड दिनै लागेको छु ।26 मैले तिनीहरूका ज्यान लिन खोज्नेहरू र बेबिलोनका राजा नबूकदनेसर र उसका सेवकहरूका हातमा तिनीहरूलाई दिन लागेको छु । त्यसपछि मिश्र देशमा पहिलेझैँ आवादी हुनेछ, यो परमप्रभुको घोषणा हो ।27 तर ए मेरो दास याकूब, तँ नडरा । ए इस्राएल, तँ हताश नहो, किनकि हेर्, मैले तँलाई धेरै टाढाबाट र तेरा सन्तानलाई तिनीहरूको निर्वासनको देशबाट फर्काएर ल्याउनै लागेको छु । तब याकूब फर्कनेछ, शान्ति पाउनेछ र सुरक्षित हुनेछ, र उसलाई आतङ्कित पार्ने कोही हुनेछैन ।28 ए मेरो दास याकूब, तँ नडरा, यो परमप्रभुको घोषणा हो - किनभने म तँसित छु, यसैले मैले तँलाई जहाँजहाँ छरपष्ट पारेँ त्यहाँका सबै जातिहरूको विरुद्धमा म पूर्ण विनाश ल्याउनेछु । तर म तँलाई भने पूर्ण रूपमा नष्ट गर्नेछैनँ । तापनि म तँलाई न्यायपूर्वक अनुशासन गर्नेछु, र म तँलाई निश्चय पनि दण्डबिना छाड्नेछैनँ ।"