45
यर्मिया अगमवक्ताले नेरियाहका छोरा बारूकलाई भनेका वचन यही हो । यर्मियाको आवाज सुनेर तिनले यी वचन एउटा मुट्ठोमा लेखे - यो यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्ष थियो र तिनले भने,2 "बारूक, परमप्रभु इस्राएलका परमेश्वरले तिमीलाई यसो भन्नुहुन्छः3 तैँले भनिस्, 'धिक्कार छ मलाई ! किनकि परमप्रभुले मलाई पीडामा वेदना थप्नुभएको छ । मेरो सुस्केराले मलाई थकाएको छ । मैले विश्राम पाइन ।'4 तैँले उसलाई यसो भन्नुपर्छ, ‘परमप्रभु यसो भन्नुहुन्छः हेर, जे मैले बनाएँ, त्यो म अब भत्काउँदैछु । जे मैले रोपेँ, त्यो अहिले म उखेल्दैछु - सारा पृथ्वीभरि नै म यसै गर्नेछु ।5 तर के तँचाहिँ आफ्नै निम्ति ठूला-ठूला कुराहरूको आशा गर्छस् ? त्यसको आशा नगर् । किनकि हेर्, सारा मानव-जातिमाथि विपत्ति आउँदैछ, यो परमप्रभुको घोषणा हो- तर तँ जहाँ जानेछस्, त्यहाँ म तेरो जीवन तेरो लूटको रूपमा तँलाई नै दिनेछु' ।"