44
मिश्र देशमा बसोबास गरेका, मिग्दोल, तहपनेस, नोप र माथिल्लो मिश्रमा बसिरहेका सबै यहूदीको विषयमा यो वचन यर्मियाकहाँ आयोः2 "सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'यरूशलेम र यहूदाका सबै सहरहरूमाथि मैले ल्याएका विपत्तिहरू तिमीहरू आफैले देखेका छौ । हेर, आज ती भग्नावशेष भएका छन् । तिनमा बस्ने कोही छैन ।3 धूप बाल्न र अरू देवताहरूको पूजा गर्न गएर तिनीहरूले मलाई चोट पुर्याउनलाई गरेका तिनीहरूका दुष्ट कुराहरूले गर्दा यसो भएको हो । यी देवताहरूलाई न तिनीहरूले चिन्दथे, न तिमीहरू चिन्छौ, न त तिमीहरूका पुर्खाहरूले चिन्दथे ।'4 त्यसैले मैले बारम्बार मेरा दास अगमवक्ताहरूलाई तिनीहरूकहाँ पठाएँ । मैले तिनीहरूलाई यसो भन्न पठाएँ, 'मैले घृणा गर्ने यी घिनलाग्दा कुराहरू गर्न छोड ।'5 तर तिनीहरूले सुनेनन् । अरू देवताहरूलाई धूप बाल्ने तिनीहरूको दुष्टताबाट ध्यान हटाउने वा फर्कने कुरालाई तिनीहरूले इन्कार गरे ।6 त्यसैले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा मेरो रीस र क्रोध खन्याइयो, र आगो लगाइयो । ती उजाड र सर्वनाश भए, जस्तो आजको दिनसम्म छ ।7 त्यसैले अब परमप्रभु सर्वशक्तिमान् परमेश्वर, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'आफ्नै विरुद्धमा तिमीहरू किन ठूला-ठूला दुष्ट काम गर्दैछौ ? यहूदाका पुरुषहरू, स्त्रीहरू, बालबालिका तथा दूधे बालकहरूबाट किन आफै बहिष्कृत हुँदैछौ ? तिमीहरूका कोही पनि बाँकी छाडिनेछैनन् ।8 तिमीहरूका हातका कामहरूद्वारा, तिमीहरू बस्न गएका मिश्र देशमा अरू देवताहरूलाई धूप बालेर तिमीहरूका हातले गरेका कामका दुष्टताहरूले तिमीहरूले मलाई चोट पुर्याएका छौ । तिमीहरू नष्ट गरिन र पृथ्वीका सबै जातिका बीचमा सराप र निन्दाको पात्र बन्न तिमीहरू त्यहाँ गएका छौ ।9 तिमीहरूका पुर्खाहरू अनि यहूदाका राजाहरू र तिनीहरूका पत्नीहरूले गरेका दुष्टतालाई के तिमीहरूले बिर्सेका छौ ? यहूदा देशमा र यरूशलेमका सडकहरूमा तिमीहरू आफै र तिमीहरूका पत्नीहरूले गरेका दुष्ट कामलाई के तिमीहरूले बिर्सेका छौ ?10 आजको दिनसम्म पनि तिनीहरू नम्र भएका छैनन् । मैले तिनीहरू र तिनीहरूका पुर्खाहरूका सामु राखेको मेरा व्यवस्था वा विधानहरूलाई तिनीहरूले आदर गर्दैनन्, न त तिनीहरू तीअनुसार हिँड्छन् ।'11 त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'हेर, तिमीहरूमाथि विपत्ति ल्याउन र सारा यहूदालाई नष्ट गर्न मैले आफ्नो अनुहारलाई तिमीहरूबाट हटाउनै लागेको छु ।12 किनकि मिश्र देशमा बस्न जाने निधो गरेका यहूदाका बाँकी रहेकाहरूलाई म नष्ट पार्नेछु । तिनीहरू सबै मिश्र देशमा नष्ट होऊन् भनेर म यसो गर्नेछु । तिनीहरू सबै तरवार र अनिकालले ढल्नेछन् । सानादेखि ठूलासम्म तिनीहरू तरवार र अनिकालले नष्ट हुनेछन् । तिनीहरू मर्नेछन्, अनि कसम, सराप, निन्दा र घृणाका पात्र बन्नेछन् ।13 जसरी मैले यरूशलेमलाई तरवार, अनिकाल र विपत्तिले दण्ड दिएँ, त्यसै गरी मिश्र देशमा बसेका मानिसहरूलाई दण्ड दिनेछु,14 जसको कारणले मिश्र देशमा बस्न गएका यहूदाका बाँकी रहेकाहरूमध्ये कोही पनि उम्कने वा बाँच्ने वा यहूदामा फर्कनेछैन, जहाँ फर्केर जाने र बस्ने तिनीहरूको इच्छा छ । अनि त्यहाँबाट भागेका थोरैबाहेक अरू कोही फर्कनेछैन' ।"15 तब आफ्ना पत्नीहरूले अरू देवताहरूलाई धूप बाल्दै थिए भनी थाहा पाएका त्यस ठूलो सभाका सबै मानिसहरू र उक्त सभामा भएका सबै स्त्रीहरू अनि तल्लो र माथिल्लो मिश्रमा बस्ने सबै मानिसहरूले यर्मियालाई जवाफ दिए ।16 तिनीहरूले भने, "परमप्रभुको नाउँमा तिमीले हामीलाई भनेका वचनका तिम्रा कुरा हामी सुन्नेछैनौँ ।17 किनकि हामीले गर्नेछौँ भनेका सबै कुरा हामी निश्चय नै गर्नेछौंँ, अर्थात् स्वर्गकी रानीलाई धूप बाल्नेछौँ, अनि यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा हामी, हाम्रा पुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अगुवाहरूले गरेझैँ हामी तिनको निम्ति अर्घबलिहरू खन्याउनेछौँ । तब हामी भोजनले पूर्ण हुनेछौँ, र कुनै विपत्तिबिना हाम्रो उन्नति हुनेछ ।18 हामीले स्वर्गकी रानीलाई धूप बाल्न र उनलाई अर्घबलिहरू खन्याउन छोड्दा हामी सबै जनाले गरीबी भोग्दै थियौँ अनि हामी तरवार र अनिकालले मर्दै थियौँ ।19 स्त्रीहरूले भने, हामीले स्वर्गकी रानीको सामु धूप बाल्दा र उनलाई अर्घबलिहरू खन्याउँदा, उनको प्रतिरूपका फुरौलाहरू बनाउँदा र उनलाई अर्घबलिहरू चढाउँदा के हामीले आफ्ना पतिहरूले भनेको नमानेर यी कुराहरू गर्यौँ र ?"20 तब यर्मियाले सबै मानिसहरू अर्थात् पुरुषहरू र स्त्रीहरू अनि तिनलाई जवाफ दिने सबै मानिसहरूलाई तिनले घोषणा गरे र भने,21 "के तिमीहरू, तिमीहरूका पुर्खाहरू, तिमीहरूका राजाहरू, अगुवाहरू र देशका मानिसहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा चढाएका धूपलाई परमप्रभुले सम्झनुभएन र ? किनकि परमप्रभुले यो सम्झनुहुन्छ । यो उहाँको विचारमा आउँछ ।22 तब तिमीहरूका दुष्ट अभ्यासहरूका कारणले र तिमीहरूले गरेका घिनलाग्दा कुराहरूको कारणले उहाँले यसलाई सहन सक्नुभएन । तब तिमीहरूको देश उजाड, त्रास र सराप बन्यो, यसैले आजको दिनसम्म त्यहाँ एक जना बासिन्दा छैन ।23 तिमीहरूले धूप बालेका र परमप्रभुको विरुद्धमा पाप गरेको कारणले अनि तिमीहरूले उहाँको स्वोर, उहाँको व्यवस्था, उहाँका विधानहरू वा उहाँका करारका आदेशहरू पालन नगरेको कारणले तिमीहरूको विरुद्धमा यो विपत्ति आएको हो, जस्तो आजको दिनसम्म छ ।"24 तब यर्मियाले सबै मानिसहरू र सबै स्त्रीहरूलाई भने, "हे मिश्र देशमा भएका यहूदाका सबै मानिसहरू हो, परमप्रभुको वचन सुन ।25 सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः 'स्वर्गकी रानीलाई पूजा गर्न र त्यसलाई अर्घबलिहरू चढाउन हामीले खाएका भाकलहरूलाई हामी निश्चय नै पूरा गर्नेछौंँ' भनी तिमीहरू र तिमीहरूका पत्नीहरू दुवैले तिमीहरूका मुखले भनेका थियौ र तिमीहरूले आफ्ना हातले पूरा गरेका छौ । अब तिमीहरूका भाकलहरू पूरा गर । तिनलाई निरन्तर गर ।26 त्यसैले मिश्र देशमा बस्ने सारा यहूदा हो, परमप्रभुको यो वचन सुन, 'हेर, मेरो महान् नाउँद्वारा मैले शपथ खाएको छु, परमप्रभु भन्नुहुन्छ । सारा मिश्र देशमा भएका यहूदाका मानिसहरूको मुखले अहिले, "जीवित परमप्रभुको नाउँमा" भनेझैँ फेरि मेरो नाउँ कहिलै पनि पुकार्नेछैनन् ।27 हेर, मैले तिनीहरूलाई भलाइको निम्ति होइन, विपत्तिको निम्ति हेर्दैछु । मिश्र देशमा भएको यहूदाको हरेक व्यक्ति सखाप नभएसम्म तिनीहरू तरवार र अनिकालले नष्ट हुनेछन् ।28 तब तरवारबाट बाँचेकाहरूमध्येका थोरै सङ्ख्या मात्र मिश्र देशबाट यहूदाको देशमा फर्कनेछन् । तब तिनीहरूको कि मेरो, कसको वचन सत्य ठहर्दोरहेछ भनी मिश्र देशमा बस्न गएका यहूदाका बाँकी भएकाहरूले जान्नेछन् ।29 यो परमप्रभुको घोषणा हो, तिमीहरूका विरुद्धमा मैले तिमीहरूलाई यो ठाउँमा दिने चिन्हचाहिँ यो हुनेछ, यसैले कि मेरो वचनले निश्चय पनि तिमीहरूलाई विपत्तिले आक्रमण गर्नेछ भनी तिमीहरूलाई थाहा होस् ।'30 परमप्रभु यसो भन्नुहुन्छ, 'हेर, मिश्रको राजा फारो होप्रालाई त्यसका शत्रुहरू र त्यसको ज्यान लिन खोज्नेहरूको हातमा मैले सुम्पिदिनै लागेको छु । यहूदाका राजा सिदकियालाई मैले त्यसको ज्यान लिन खोज्ने शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पेको जस्तै त्यो हुनेछ' ।"