41
सातौँ महिनामा एलीशामाको नाति, नतन्‍याहको छोरो इश्माएल, जो राजकीय घरानाका थिए, तिनी राजाका दश जना अधिकारीसँगै मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ आए । मिस्पामा तिनीहरूले सँगसँगै खानपान गरे ।2 तर नतन्‍याहको छोरो इश्माएल र तिनीसित भएका दश जना मानिसहरू उठे, र शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तरवारले आक्रमण गरे । इश्माएलले गदल्याहलाई मारे, जसलाई बेबिलोनका राजाले देशको बडाहािम नियुक्त गरेका थिए ।3 त्‍यसपछि इश्माएलले मिस्पामा गदल्याहसित भएका सबै यहूदीहरू र त्‍यहाँ भेट्टाइएका कल्दी योद्धाहरूलाई मारे ।4 तब गदल्याह मारिएको दोस्रो दिन भएको थियो तर पनि कसैलाई थाहा थिएन ।5 शकेम, शीलो र सामरियाबाट आ-आफ्ना दारी खौरेका, लुगा च्‍यातेका र शरीर चिरै-चिरा पारेका असी जना मानिसहरू आ-आफ्ना हातमा खानाका भेटीहरू र धूप लिएर परमप्रभुको मन्‍दिरमा जानलाई आए ।6 तिनीहरू रुँदै जाँदै गर्दा नतन्‍याहको छोरो इश्माएल मिस्पाबाट तिनीहरूलाई भेट्न निस्के । तिनीहरूसित तिनको भेट हुँदा तिनले तिनीहरूलाई भने, "अहीकामका छोरा गदल्याहकहाँ आओ !"7 जब तिनीहरू सहरभित्र प्रवेश गरे, तब नतन्‍याहको छोरो इश्माएलले तिनीहरूको हत्‍या गरे, तिनी र तिनका मानिसहरूका लाशलाई एउटा खाडलमा फाले ।8 तर तिनीहरूका बीचमा भएका दश जना यस्ता मानिस थिए जसले इश्माएललाई भने, "हामीलाई नमार्नुहोस्, किनकि हामीसित खेतमा लुकाइएका हाम्रा खाद्यपदार्थहरू अर्थात् गहूँ, जौ, तेल र मह छन् ।" त्‍यसैले तिनले तिनीहरू र तिनका साथीहरूलाई मारेनन् ।9 इश्माएलले हत्‍या गरी जुन इनारमा ती लाशहरू फालेका थिए, त्‍यो एउटा ठूलो इनार थियो जसलाई आसा राजाले इस्राएलका राजा बाशाको विरुद्धमा सुरक्षाको निम्ति खनेका थिए । नतन्‍याहको छोरो इश्माएलले यसलाई लाशहरूले भरे ।10 त्‍यसपछि इश्माएलले मिस्पामा भएका अरू सबै मानिसहरू, राजाका छोरीहरू र अहीकामका छोरा गदल्याहको जिम्मामा अङ्‌गरक्षकका कप्तान नबूजरदानले मिस्पामा छाडेका सबै मानिसहरूलाई समाते । यसरी नतन्‍याहको छोरो इश्माएलले तिनीहरूलाई कैद गरे र सिमाना पार गरेर अम्मोनका मानिसहरूकहाँ गए ।11 तर कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनाका कप्तानले नतन्‍याहको छोरो इश्माएलले ल्याएका सबै हानिको विषयमा सुने ।12 त्‍यसैले तिनीहरूले आफ्ना सबै मानिसहरूलाई लिए र नतन्‍याहको छोरो इश्माएलको विरुद्धमा युद्ध गर्न गए । तिनीहरूले तिनलाई गिबोनको ठूलो तलाउमा फेला पारे ।13 जब इश्माएलसित भएका सबै मानिसहरूले कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनाका कप्तानलाई देखे, तब तिनीहरू साह्रै खुसी भए ।14 इश्माएलले मिस्पामा समातेका सबै मानिसहरू फर्के र कारेहका छोरा योहानानकहाँ गए ।15 तर नतन्‍याहको छोरो इश्माएल आठ जना मानिसहरूसँगै योहानानबाट भागे । तिनी अम्मेनका मानिसहरूकहाँ गए ।16 कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनाका कप्तानले नतन्‍याहको छोरो इश्माएलबाट उद्धार गरिएका सबै मानिसहरूलाई मिस्पाबाट लगे । यो इश्माएलले अहीकामका छोरा गदल्याहलाई मारेपछिको कुरो थियो । योहानान र तिनका साथीहरूले गिबोनमा उद्धार गरिएका बलिया पुरुषहरू, योद्धाहरू, स्‍त्रीहरू र बालबालिकाहरू, र नपुंसकहरूलाई लगे ।17 त्‍यसपछि तिनीहरू गए, र केही समय बेथलेहेम नजिकै गेरूथ-किम्हाममा बसे ।18 कल्दीहरूको कारणले तिनीहरू मिश्र देश जाँदै थिए । तिनीहरू उनीहरूदेखि डराएका थिए, किनकि नतन्‍याहको छोरो इश्माएलले अहीकामका छोरा गदल्याहलाई मारेका थिए, जसलाई बेबिलोनका राजाले देशको बडाहाकिम बनाएका थिए ।