40
रामामा राजाका अङ्‌गरक्षकका कप्तान नबूजरदानले यर्मियालाई मुक्त गरेपछि परमप्रभुबाट यर्मियाकहाँ यो वचन आयो । तिनले यर्मियालाई बेबिलोनमा निर्वासनमा लगिने यरूशलेम र यहूदाका सबै बन्‍दीका बीचमा साङ्लाले बाँधिएको भेट्टाए ।2 अङ्‌गरक्षकका कप्तानले यर्मियालाई लगे र भने, "परमप्रभु तिम्रा परमेश्‍वरले यस ठाउँको लागि यो विपत्तिको आज्ञा दिनुभयो ।3 त्‍यसैले परमप्रभुले नै यो विपत्ति ल्याउनुभयो । उहाँले भन्‍नुभएझैँ उहाँले गर्नुभयो, किनकि तिमीहरूले उहाँको विरुद्धमा पाप गर्‍यौ, र उहाँको कुरा मानेनौ । त्‍यसकारण यो विपत्ति तिमीहरूमाथि आइपरेको हो ।4 तर अब हेर, तिम्रा हातमा भएका साङ्लाबाट मैले तिमीलाई आज मुक्त गरेको छु । तिम्रो दृष्‍टिमा मसितै बेबिलोन आउनु उचित हो भने आऊ, र म तिम्रो हेरचाह गर्नेछु । तर तिम्रो दृष्‍टिमा मसितै बेबिलोन आउनु उचित होइन भने, त्‍यसो नगर । तिम्रो सामु भएको सबै देशलाई हेर । तिम्रो दृष्‍टिमा जहाँ जान ठीक र उचित लाग्छ, त्‍यहीँ जाऊ ।"5 यर्मियाले जवाफ नदिएपछि नबूजरदानले भने, "शापानका नाति, अहीकामका छोरा गदल्याहकहाँ जाऊ, जसलाई बेबिलोनका राजाले यहूदाका सहरहरूको रेखदेख गर्ने जिम्मा दिएका छन् । मानिसहरूका बीचमा तिनीसँगै बस वा तिम्रो दृष्‍टिमा जहाँ जानु उचित लाग्छ, त्‍यहीँ जाऊ ।" राजाको अङ्‌गरक्षकका कप्तानले तिनलाई खाना र उपहार दिए, र त्‍यसपछि तिनलाई पठाए ।6 त्‍यसैले यर्मिया मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ गए । तिनी देशमा छाडिएका मानिसहरूकै बीचमा तिनीसित बसे ।7 बेबिलोनका राजाले अहीकामका छोरा गदल्याहलाई देशको बडाहाकिममा नियुक्त गरेका थिए भनी गाउँबस्तीमा बाँकी रहेका यहूदी सिपाहीहरूका केही अधिकारीहरू र तिनीहरूका मानिसहरूले सुने । बेबिलोनमा निर्वासित नभएका सबै भन्‍दा गरीब पुरुषहरू, स्‍त्रीहरू, बालबालिकाहरूको जिम्मामा तिनलाई नियुक्त गरिएको थियो भनेर पनि तिनीहरूले सुने ।8 त्‍यसैले तिनीहरू मिस्पामा गदल्याहकहाँ गए । यी मानिसहरू यी नै थिएः नतन्‍याहका छोरा इश्माएल, कारेहका दुई छोरा योहानान र जोनाथन, तन्हूमेतका छोरा सरायाह, नतोपाती एफैका छोराहरू, माकातीका छोरा याजन्‍याह र यी सबैका मानिसहरू ।9 शापानका नाति, अहीकामका छोरा गदल्याहले तिनीहरू र तिनीहरूका मानिसहरूलाई शपथ खुवाए र तिनीहरूलाई भने, "कल्दी अधिकारीहरूको सेवा गर्नदेखि नडराओ । यही देशमा बसे र बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुनेछ ।10 हामीकहाँ आउने कल्दीहरूसित भेट गर्न म मिस्पामा बस्दैछु । त्‍यसैले तिमीहरूले दाखमद्य, ग्रीष्म ऋतुका फलहरू र तेलको खेती गर र आफ्ना भाँडाहरूमा जम्मा गर । तिमीहरूले छानेका सहरहरूमा बस ।"11 तब मोआबमा भएका सबै यहूदी, अम्मोनीहरू र एदोमीहरूका बीचमा भएका र हरेक देशमा भएका यहूदीहरूले यो कुरा सुने कि बेबिलोनका राजाले यहूदाका बाँकी रहेकाहरूलाई बस्‍न दिएका छन्, र शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तिनीहरूमाथि अधिकारी नियुक्त गरेका छन् ।12 त्‍यसैले सबै यहूदी आफू छरपष्‍ट भएको हरेक ठाउँबाट फर्के । तिनीहरू यहूदाको देशको मिस्पामा गदल्याहकहाँ फर्केर आए । तिनीहरूले प्रचुर मात्रामा दाखमद्य र ग्रीष्म ऋतुको फल उत्पादन गरे ।13 कारेहका छोरा योहानान र गाउँबस्तीमा भएका सेनाका अधिकृतहरू मिस्पामा गदल्याहकहाँ आए ।14 तिनीहरूले तिनलाई भने, "अम्मोनीहरूका राजा बालीसले नतन्‍याहका छोरा इश्माएललाई तपाईंको हत्‍या गर्न पठाएका छन् भन्‍ने कुरो तपाईंलाई थाहा छ ?" तर अहीकामका छोरा गदल्याहले तिनीहरूको कुरो विश्‍वास गरेनन् ।15 त्‍यसैले मिस्पामा कारेहका छोरा योहानानले गदल्याहलाई गुप्तमा कुरा गरे र भने, "नतन्‍याहको छोरो इश्माएललाई मार्न मलाई अनुमति दिनुहोस् । कसैले मलाई शङ्‌का गर्नेछैन । त्‍यसले तपाईंलाई किन मार्ने ? तपाईंकहाँ जम्मा भएका सबै यहूदीलाई किन तितर-बितर हुन दिने र यहूदाका बाँकी रहेकाहरूलाई किन नष्‍ट हुन दिने ?"16 तर अहीकामका छोरा गदल्याहले कारेहका छोरा योहानानलाई भने, "यो कुरो नगर, किनकि तिमीले इश्माएलको विषयमा मसित झूट बोल्दैछौ ।"