42
तब सेनाका सबै कप्तान र कारेहका छोरा योहानान, होशयाहका छोरा येजन्याह अनि सानादेखि ठूलासम्म सबै मानिसहरू यर्मिया अगमवक्ताकहाँ आए ।2 तिनीहरूले तिनलाई भने, "हाम्रो बिन्ती सुन्नुहोस् । परमप्रभु तपाईंका परमेश्वरलाई यी बाँकी रहेका मानिसहरूको पक्षमा बिन्ती चढाउनुहोस्, किनकि तपाईं देख्नुहुन्छ, हामी सङ्ख्यामा एकदम थोरै छौँ ।3 हामीले जानुपर्ने बाटो हामीलाई देखाउन र हामीले के गर्नुपर्छ भनेर परमप्रभु तपाईंका परमेश्वरलाई सोध्नुहोस् ।"4 त्यसैले यर्मिया अगमवक्ताले तिनीहरूलाई भने, "मैले तिमीहरूको कुरा सुनेको छु । हेर, तिमीहरूले अनुरोध गरेझैँ म परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रार्थना चढाउनेछु । परमप्रभुले जे जवाफ दिनुहुन्छ, म तिमीहरूलाई बताउनेछु । म तिमीहरूबाट कुनै कुरो लुकाउनेछैनँ ।"5 तिनीहरूले यर्मियालाई भने, "परमप्रभु तपाईंका परमेश्वरले हामीलाई भन्नुभएअनुसार हामीले गरेनौँ भने, परमप्रभु नै हाम्रा विरुद्धमा साँचो र विश्वासयोग्य साक्षी होऊन् ।6 असल होस् या खराब होस्, हामी परमप्रभु हाम्रा परमेश्वरको कुरा मान्नेछौँ, जसकहाँ हामी तपाईंलाई पठाउँदैछौँ, जसको कारण हामीले परमप्रभु हाम्रा परमेश्वरको कुरा मान्दा हाम्रो भलो होस् ।"7 दश दिनको अन्त्यमा परमप्रभुको वचन यर्मियाकहाँ आयो ।8 त्यसैले यर्मियाले कारेहका छोरा योहानान र तिनीसित भएका सेनाका सबै कप्तान र सानादेखि ठूलासम्म सबै मानिसहरूलाई बोलाए ।9 तब तिनले उनीहरूलाई भने, "परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, जसकहाँ तिमीहरूले मलाई तिमीहरूका बिन्ती राख्न पठायौ,10 'तिमीहरू फर्केर जान्छौ र यस देशमा बस्छौ भने, म तिमीहरूलाई निर्माण गर्नेछु, भत्काउनेछैनँ । म तिमीहरूलाई रोप्नेछु, उखेल्नेछैनँ, किनकि मैले तिमीहरूमाथि ल्याएको विपत्ति म हटाउनेछु ।11 बेबिलोनका राजा जसदेखि तिमीहरू डराउँदैछौ, अब त्यसदेखि नडराओ । उसदेखि नडराओ, यो परमप्रभुको घोषणा हो, किनकि उसको हातबाट तिमीहरूको उद्धार गर्न र तिमीहरूलाई छुटकारा दिन म तिमीहरूसँगै छु ।12 किनकि म तिमीहरूलाई कृपा देखाउनेछु । म तिमीहरूमाथि दया देखाउनेछु, र म तिमीहरूलाई फर्काएर तिमीहरूकै देशमा ल्याउनेछु ।13 तर मानौँ तिमीहरूले यसो भन्छौ, "हामी यस देशमा बस्नेछैनौँ", अनि तिमीहरूले मेरो आवाज, परमप्रभु तिमीहरूका परमेश्वरको आवाज सुन्दैनौ ।14 मानौँ मीहरूले यसो भन्छौ, "हामी मिश्र देशमा जानेछौँ, जहाँ हामीले फेरि युद्ध देख्नेछैनौँ, जहाँ हामीले तुरहीको आवाज सुन्नेछैनौँ, र हामी खानाको लागि भोकाउनेछैनौँ । हामी त्यहाँ बस्नेछौँ ।"15 ए यहूदामा बाँकी रहेका मानिसहरू हो, परमप्रभुको यो वचन सुन । सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'तिमीहरूले मिश्र देशमा नै जाने, त्यहाँ जाने र बस्ने पक्का गरिसकेका छौ भने,16 तब जुन तरवारदेखि तिमीहरू डराउँछौ, त्यसले खेदेर तिमीहरूलाई मिश्र देशमा भेट्टाउनेछ । तिमीहरू जुन अनिकालको विषयमा चिन्तित छौ, त्यसले नै तिमीहरूलाई मिश्र सम्म खेद्नेछ, र तिमीहरू त्यहीँ मर्नेछौ ।17 त्यसैले मिश्रमा गएर त्यहीँ बस्ने निधो गरेका सबै पुरुष तरवार, अनिकाल र विपत्तिले मर्नेछन् । तिनीहरूका बीचमा कोही पनि बाँच्नेछैन, मैले तिनीहरूमाथि ल्याउने विपत्तिबाट कोही पनि उम्कनेछैन ।18 किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः जसरी मेरो रीस र क्रोध यरूशलेमका बासिन्दाहरूमाथि खन्याइएको थियो, तिमीहरू मिश्रमा गयौ भने त्यसरी नै मेरो क्रोध खन्याइनेछ । तिमीहरू सराप र त्रासको पात्र, सराप खाने पात्र र अपमानको कुरा बन्नेछौ, र फेरि तिमीहरूले यो देश देख्नेछैनौ' ।"19 तब यर्मियाले भने, "ए यहूदाका बाँकी रहेका मानिसहरू हो, तिमीहरूको विषयमा परमप्रभुले बोल्नुभएको छ । तिमीहरू मिश्रमा नजाओ । आज मैले तिमीहरूको विरुद्धमा गवाही दिएको छु भनी तिमीहरूलाई पक्का थाहा छ ।20 तिमीहरूले मलाई परमप्रभु आफ्ना परमेश्वरकहाँ यसो भनेर पठाउँदा तिमीहरूले आफैलाई घातक रूपमा धोका दियौ, 'हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्वरमा प्रार्थना गर्नुहोस् । परमप्रभु हाम्रा परमेश्वरले बताउनुहुने हरेक कुरा हामीलाई बताउनुहोस्, र हामी त्यो पूरा गर्नेछौँ ।'21 किनकि मैले आज तिमीहरूलाई त्यो बताएको छु, तर तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको कुरा सुनेका छैनौ वा जे कुरा भन्नू भनी उहाँले मलाई तिमीहरूकहाँ पठाउनुभयो, त्यो तिमीहरूले मानेका छैनौ ।22 त्यसैले अब तिमीहरूले जुन ठाउँमा गएर बस्ने इच्छा गरेका छौ, त्यहाँ तिमीहरू तरवार, अनिकाल र विपत्तिले मर्नेछौ भन्ने कुरा तिमीहरूले पक्का रूपले जानिराख ।"