33
तब यर्मिया गारदको चोकमा थुनिएकै अवस्थामा परमप्रभुको वचन दोस्रो पटक तिनीकहाँ यसो भनेर आयो,2 "बनाउनुहुने परमप्रभु यसो भन्‍नुहुन्‍छ - सुदृढ गर्नका लागि परमप्रभुले रचना गर्नुहुन्‍छ, परमप्रभु उहाँको नाउँ हो ।3 'मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु । म तँलाई महान् कुराहरू, तैँले नबुझ्‍ने रहस्यहरू देखाउनेछु ।'4 किनकि घेरा-मचान र तरवारको कारणले भत्काइएका यस सहरमा भएका घरहरू र यहूदाका राजाहरूका महलहरूको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ,5 'मेरो क्रोध र मेरो रीसमा लडाइँ गर्न र मैले मार्ने मानिसहरूका लाशहरूले ती घरहरू भरिदिन कल्दीहरू आउँदैछन्, जति बेला तिनीहरूका सबै दुष्‍टताको कारणले म यस सहरबाट आफ्नो अनुहार लुकाउनेछु ।6 तर हेर्, मैले निको पार्न र हेरविचार गर्नै लागेको छु, किनकि म तिनीहरूलाई निको पार्नेछु, र तिनीहरूकहाँ प्रचुरता, शान्‍ति र विश्‍वासयोग्यता ल्याउनेछु ।7 यहूदा र इस्राएलको सुदिन म फर्काउनेछु । सुरुमा जस्‍तै म तिनीहरूलाई निर्माण गर्नेछु ।8 तब तिनीहरूले मेरो विरुद्धमा गरेका सबै अधर्मबाट म तिनीहरूलाई शुद्ध पार्नेछु । तिनीहरूले मेरो विरुद्धमा गरेका सबै अधर्म र तिनीहरूले मेरो विरुद्धमा चालेका सबै विद्रोहलाई म क्षमा दिनेछु ।9 किनकि यो सहर मेरो लागि आनन्‍दको वस्तु अनि पृथ्वीका सबै जातिका लागि प्रशंसाको गीत र सम्मान हुनेछ । मैले यसको लागि गर्ने सबै असल कुराहरू तिनीहरूले सुन्‍नेछन् । त्‍यसपछि मैले यस सहरलाई दिने सबै असल कुरा र शान्‍तिको कारणले तिनीहरू डराउनेछन्, र थरथर काम्‍नेछन् ।'10 परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘तिमीहरूले यसो भनिरहेको यस ठाउँको विषयमा, “मानिस वा पशु नभएको यो उजाड-स्थान हो”, यहूदाका सहरहरू र न त मानिस नत पशु भएर उजाड भएका यरूशलेमका सडकहरूमा, त्‍यहाँ फेरि पनि आवाज सुनिनेछ,11 आनन्‍द र हर्षको स्‍वर, दुलहा र दुलहीको स्‍वर अनि परमप्रभुको मन्‍दिरमा यसो भन्‍दै धन्‍यवादको बलि ल्याउनेहरूको स्‍वर सुनिनेछ, 'सर्वशक्तिमान् परमप्रभुलाई धन्‍यवाद चढाओ, किनकि परमप्रभु असल हुनुहुन्‍छ, र उहाँको अचुक प्रेम सदासर्वदै रहिरहन्‍छ ।' किनकि यस देशको सुदिन पहिलेको जस्‍तै बनाएर पुनर्स्थापित गर्नेछु’, परमप्रभु भन्‍नुहुन्‍छ ।12 सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छ, 'अहिले न त मानिस न त पशु भएको यस उजाड-स्थानमा - यसका सबै सहरमा फेरि खर्कहरू हुनेछन्, जहाँ गोठालाहरूले आफ्ना बगालहरू चराउनेछन् ।13 पहाडी देशका सहरहरू, तराई र नेगेव, बेन्‍यामीनको इलाका र सारा यरूशलेमको चारैतिर, र यहूदाका सहरहरूमा बगालहरू तिनीहरूको गोठाला गर्नेहरूका हातले गनी-गनीकन चराउनेछन्’, परमप्रभु भन्‍नुहुन्‍छ ।14 ‘हेर्, यो परमप्रभुको घोषणा हो, यस्ता दिनहरू आउँदैछन्, जति बेला मैले इस्राएलको घराना र यहूदाको घरानालाई प्रतिज्ञा गरेको कुरा पूरा गर्नेछु ।15 ती दिनमा र त्‍यस बेला म दाऊदको निम्ति एउटा धार्मिक हाँगा निकाल्नेछु, र तिनले देशमा न्‍याय र धार्मिकता कायम गर्नेछन् ।16 ती दिनमा यहूदा बचाइनेछ, र यरूशलेम सुरक्षामा जिउनेछ, किनकि त्‍यसको नाउँ यो हुनेछ, 'परमप्रभु हाम्रा धार्मिकता हुनुहुन्‍छ ।'17 किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ, 'इस्राएलको घरानाको सिंहासनमाथि बस्‍न दाऊदको वंशबाट कुनै मानिसको अभाव कदापि हुनेछैन,18 न त मेरो सामु हर समय होमबलि, अर्घबलि र अन्‍नबलिहरू चढाउन लेवी कुलका पूजाहारीहरूमा कुनै मानिसको कमी हुनेछ ।'19 परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,20 "परमप्रभु यसो भन्‍नुहुन्‍छ, 'तिमीहरूले दिन र रातसित बाँधिएको मेरो करारलाई भङ्‌ग गर्न सक्यौ, र तोकिएको समयमा फेरि दिन र रात भएनन् भने,21 तब तिमीहरूले मेरा दास दाऊदसित बाँधिएको मेरो करारलाई भङ्‌ग गर्न सक्‍नेछौ, जसको कारणले उसको सिंहासनमा बस्‍न उसको कुनै छोरो हुनेछैन, र लेवी कुलका पूजाहारीहरू अर्थात् मेरा दासहरूसित बाँधिएको मेरो करार पनि भङ्‌ग हुनेछ ।22 जसरी आकाशका ताराहरू गन्‍न सकिँदैन, र समुद्र किनारमा बालुवा जोखिन सकिँदैन, त्‍यसरी नै मेरा दास दाऊद र मेरो सामु सेवा गर्ने लेवीहरूका सन्‍तानहरूको सङ्ख्या म बढाउनेछु' ।23 परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,24 "के यी मानिसले भनेका कुरामा तैँले ध्‍यान दिएको छैनस् ? तिनीहरूले भनेका छन्, 'परमप्रभुले चुन्‍नुभएका दुई वटा परिवारलाई उहाँले अहिले त्‍याग्‍नुभएको छ ।' यसरी तिनीहरूले मेरो मानिसहरूलाई तिरस्कार गर्छन् । तिनीहरूका दृष्‍टिमा उनीहरू अब फेरि कुनै एउटा जातिको रूपमा रहेनन् भन्‍दैछन् ।25 म, परमप्रभु यसो भन्‍छु, 'मैले दिन र रातको करार स्थापित नगरेको भए, र मैले स्वर्ग र पृथ्वीका नियमहरू निधो नगरेको भए,26 मैले याकूब र मेरा दास दाऊदका सन्‍तानलाई इन्कार गर्नेथिएँ, र तिनीहरूबाट अब्राहाम, इसहाक र याकूबका सन्‍तानमाथि राज्‍य गर्न एक जना व्यक्तिलाई ल्याउने थिइनँ । किनकि म तिनीहरूको सुदिन पुनर्स्थापित गर्नेछु, र तिनीहरूमाथि कृपा देखाउनेछु' ।"