32
यहूदाका राजा सिदकियाहको दशौँ वर्ष, नबूकदनेसरको अठारौँ वर्षमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो ।2 त्‍यस बेला बेबिलोनका राजाको सेनाले यरूशलेमलाई घेराबन्‍दी गर्दै थियो, र यर्मिया अगमवक्ता यहूदाका राजमहलको गारदको चोकमा थुनामा राखिएका थिए ।3 यहूदाका राजा सिदकियाहले तिनलाई थुनामा राखे र भने, "तिमी किन यसो भन्‍दै अगमवाणी बोल्छौ, 'परमप्रभु यसो भन्‍नुहुन्‍छः मैले यस सहरलाई बेबिलोनका राजाको हातमा दिनै लागेको छु, र उसले यसलाई कब्जा गर्नेछ ।4 यहूदाका राजा सिदकियाह कल्दीहरूको हातबाट उम्कनेछैन, किनकि निश्‍चय नै ऊ बेबिलोनका राजाको हातमा दिइनेछ । उसले राजासित आमनेसामने कुरा गर्नेछ, र उसका आँखाले राजाका आँखालाई हेर्नेछन् ।5 त्‍यसले सिदकियाहलाई बेबिलोनमा लानेछ, र मैले त्‍यससित व्यवहार नगरेसम्म ऊ त्‍यहीँ रहनेछ, यो परमप्रभुको घोषणा हो । तैँले कल्दीहरूको विरुद्धमा लडाइँ गरे तापनि तँ सफल हुनेछैनस्' ।6 यर्मियाले भने, "परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,7 तेरो काका शल्लूमको छोरो हनमेल तँकहाँ आउँदैछ, र उसले यसो भन्‍नेछ, ‘अनातोतमा भएको मेरो खेत किन्‍नुहोस्, किनकि त्‍यो किन्‍ने हक तपाईंकै हो ।'8 परमप्रभुले घोषणा गर्नुभएझैँ मेरो काकाको छोरा हनमेल गारदको चोकमा मकहाँ आयो, र उसले मलाई भन्‍यो, 'बेन्‍यामीनको इलाकामा पर्ने अनातोतमा भएको मेरो खेत किन्‍नुहोस्, किनकि यसको उत्तराधिकारको तपाईं नै हो, र त्‍यो किन्‍ने हक पनि तपाईंकै हो । आफ्नो लागि त्‍यो किन्‍नुहोस् ।' तब यो परमप्रभुकै वचन रहेछ भनी मैले थाहा पाएँ ।9 त्‍यसैले मेरो काकाको छोरो हनमेलबाट अनातोतमा भएको खेत मैले किनेँ, र त्‍यसलाई चाँदीको सत्र शेकेलको दाम जोखेर दिएँ ।10 तब मैले तमसुकमा सही गरी छाप लगाएँ, र मैले यसको लागि साक्षीहरू राखेँ । मैले तराजुमा चाँदी जोखेर दिएँ ।11 आज्ञा र विधानहरूको अनुसरण गरेर मैले छाप लगाइएको र नलगाइएको तमसुक लिएँ ।12 मेरो काकाको छोरो हनमेल, तमसुकका साक्षीहरू र गारदको चोकमा बसेका सबै यहूदीका सामुन्‍ने छाप लगाइएको तमसुक मैले नेरियाहका छोरा, मसेयाहका नाति बारूकलाई दिएँ ।13 तिनीहरूकै सामु मैले बारूकलाई आज्ञा दिएँ । मैले यसो भनेँ,14 "सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छः छाप लगाइएको र नलगाइएको तमसुकका यी दुवै प्रतिका यी कागजपत्र समात् र यिनलाई एउटा माटोको भाँडोमा हाल्, यसरी लामो समयसम्म ती रहनेछन् ।15 किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छः यस देशमा घरहरू, जमिनहरू र दाखबारीहरू फेरि किनिनेछन् ।16 नेरियाहका छोरा बारूकलाई खेत किनेको तमसुक दिएपछि मैले परमप्रभुलाई प्रार्थना चढाएँ र यसो भनेँ,17 "हे परमप्रभु परमेश्‍वर ! हेर्नुहोस्, आफ्नो महाशक्ति र पसारिएको पाखुराद्वारा तपाईंले नै स्वर्ग र पृथ्वी सृजनुभयो । तपाईंले भन्‍नुहुने कुनै पनि कुरो गर्न तपाईंलाई कत्ति पनि कठिन हुँदैन ।18 हजारौँलाई तपाईंले करारको विश्‍वस्तता देखाउनुहुन्‍छ, र मानिसहरूका दोष तिनीहरूपछि तिनीहरूका छोराछोरीहरूमाथि खन्‍याउनुहुन्‍छ । तपाईं महान् र शक्तिशाली परमेश्‍वर हुनुहुन्‍छ । सर्वशक्तिमान् परमप्रभु तपाईंको नाउँ हो ।19 तपाईं बुद्धिमा महान् र काममा शक्तिशाली हुनुहुन्‍छ, किनकि हरेक मानिसलाई त्‍यसका चाल र कामहरूको आधारमा उसलाई इनाम दिन, मानिसहरूका सबै चाल हेर्न तपाईंको दृष्‍टि खुला हुन्‍छन् ।20 मिश्र देशमा तपाईंले चिन्ह र आश्‍चर्यहरू गर्नुभयो । आजको दिनसम्म यहाँ इस्राएलमा र सबै मानव-जातिका बीचमा तपाईंले आफ्नो नाउँ प्रसिद्ध तुल्याउनुभएको छ ।21 किनकि तपाईंले चिन्ह, आश्‍चर्य, शक्तिशाली हात, पसारिएको पाखुरा र भीषण त्रासले आफ्ना मानिस इस्राएललाई मिश्र देशबाट निकालेर ल्याउनुभयो ।22 त्‍यसपछि तपाईंले तिनीहरूलाई दूध र मह बग्‍ने देश दिनुभयो, जुन दिनलाई तपाईंलै तिनीहरूका पुर्खाहरूसित शपथ खानुभएको थियो ।23 त्‍यसैले तिनीहरू यसभित्र पसे र यसको अधिकार गरे । तर तिनीहरूको तपाईंको कुरा मानेनन् वा तपाईंको व्यवस्थाअनुसार जिएनन् । तपाईंले तिनीहरूलाई आज्ञा गर्नुभएका कुनै पनि कुरा तिनीहरूले मानेनन्, त्‍यसैले तपाईंले तिनीहरूमाथि यी सबै विपत्ति ल्याउनुभयो ।24 हेर्नुहोस्, यो सहर कब्जा गर्नलाई घेर-मचान सहरसम्मै आइपुगेको छ । तरवार, अनिकाल, विपत्तिको कारणले यो सहरको विरुद्धमा लडाइँ गर्ने कल्दीहरूको हातमा यसलाई दिइएको छ । किनकि जे हुनेछ भनी तपाईंले भन्‍नुभयो, त्‍यो हुँदैछ, र तपाईंले त्‍यो हेर्दै हुनुहुन्‍छ ।25 तब तपाईं आफैले मलाई भन्‍नुभयो, “यो सहर कल्दीहरूको हातमा दिँदै गरेको भए तापनि चाँदीको दाम तिरेर तेरो निम्ति एउटा खेत किन र त्‍यसको निति साक्षीहरू राख ।"26 त्‍यसपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,27 "हेर्, म परमप्रभु सबै मानव-जातिका परमेश्‍वर हुँ । के कुनै कुरा मैले गर्नै नसक्‍ने कठिन छ र ?"28 त्‍यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘हेर्, यो सहरलाई कल्दीहरू र बेबिलोनका राजा नबूकदनेसरको हातमा मैले दिनै लागेको छु । उसले यो कब्जा गर्नेछ ।29 यस सहरको विरुद्धमा लडाइँ गरिरहेका कल्दीहरू आउनेछन्, र यस सहरलाई र मलाई रीस उठाउनलाई मानिसहरूले छानाहरूमा बाल देवताको पूजा गरेका र अरू देवताहरूलाई अर्घबलिहरू चढाएका घरहरूलाई समेत आगो लगाउनेछन् ।30 किनकि इस्राएल र यहूदाका मानिसहरूले आफ्ना युवावस्थादेखि नै मेरा आँखाकै सामु निश्‍चय नै दुष्‍ट काम गर्दै आएका मानिसहरू भएका छन् । इस्राएलका मानिसहरूले निश्‍चय नै आफ्ना हातका अभ्यासहरूले मलाई चोट पुर्‍याएका छन्, यो परमप्रभुको घोषणा हो ।31 परमप्रभु घोषणा गर्नुहुन्‍छ, ‘तिनीहरूले यस सहरलाई बनाएको दिनदेखि यसले मेरो रीस र क्रोधको पाएको छ । आजको दिनसम्म पनि यस्तै भएको छ । त्‍यसैले म यसलाई मेरो मुहारबाट हटाउनेछु ।32 इस्राएल र यहूदाका मानिसहरूका, तिनीहरू, तिनीहरूका राजाहरू, राजकुमारहरू, पूजाहारीहरू, अगमवक्ताहरू अनि यहूदाको हरेक मानिस र यरूशलेमको हरेक बासिन्‍दाले मलाई रीस उठाउनलाई गरेका सारा दुष्‍ट कुराहरूको कारणले म त्‍यो गर्नेछु ।33 मैले तिनीहरूलाई उत्सुकतापूर्वक सिकाए तापनि तिनीहरूले आफ्ना मुहार मतिर फर्काउनुको साटो पिठिउँ फर्काएका छन् । मैले तिनीहरूलाई सिकाउने कोसिस गरेँ, तर सुधारलाई स्वीकार गर्न तीमध्‍ये एक जनाले पनि ध्‍यान दिएन ।34 मेरो नाउँद्वारा कहलाइने मन्‍दिरलाई दूषित पार्न तिनीहरूले त्‍यसमा आफ्ना घिनलाग्दा मूर्तिहरू खडा गरे ।35 मोलोखको लागि आगोमा आफ्ना छोराछोरीहरूलाई बलि गर्न तिनीहरूले बेन-हिन्‍नोमको बेँसीमा बाल देवताको लागि अग्ला वेदीहरू बनाए । त्‍यसो गर्न मैले तिनीहरूलाई कदापि आज्ञा दिइनँ । तिनीहरूले यस्ता घिनलाग्दो कुरा गर्नुपर्छ र यहूदालाई पाप गर्न लगाउनुपर्छ भनेर मेरो मनमा कदापि आएन ।’36 त्‍यसकारण अब, 'तरवार, अनिकाल, र विपत्तिद्वारा यो बेबिलोनका राजाको हातमा दिइएको छ', भनेर तिमीहरूले भन्‍दै गरेको यस सहरको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ ।37 हेर्, मेरो रीस, क्रोध, गर्जन र ठूलो रीसले मैले तिनीहरूलाई धपाएको हरेक देशबाट मैले तिनीहरूलाई जम्मा गर्नै लागेको छु । तिनीहरूलाई यस ठाउँमा फर्काएर ल्याउन र तिनीहरूलाई सुरक्षितसाथ बस्‍नलाई मैले तिनीहरूलाई सक्षम पार्नै लागेको छु ।38 त्‍यसपछि तिनीहरू मेरा मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु ।39 म तिनीहरूलाई हरेक दिन मेरो आदर गर्न एकै किसिमको हृदय र एउटा मात्र मार्ग दिनेछु, यसरी तिनीहरू र तिनीहरूपछि आउने तिनीहरूका सन्‍तानहरूका लागि भलो होस् ।40 तब म तिनीहरूसित एउटा अनन्‍त रहने करार बाँध्‍नेछु, जसअनुसार तिनीहरूको भलो गर्नदेखि म तर्कनेछैनँ । तिनीहरू कहिल्यै मबाट तर्केर नजाऊन् भनेर म तिनीहरूका हृदयमा मेरो निम्ति आदर हाल्नेछु ।41 तब तिनीहरूको भलो गर्नमा म आनन्‍दित हुनेछु । मेरा सारा हृदय र मेरा सारा जीवनले म विश्‍वासका साथ तिनीहरूलाई यस देशमा स्थापित गर्नेछु ।42 किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ, 'जसरी मैले यी मानिसहरूमाथि यी सबै डरलाग्दा विपत्ति ल्याएको छु, त्‍यसरी नै मैले तिनीहरूका निम्ति गर्छु भनेका सबै असल कुराहरू म तिनीहरूका निम्ति गर्नेछु ।43 तब यस देशमा जमिनहरू किनिनेछन्, जसको विषयमा तिमीहरू भन्‍दैछौ, 'यो उजाड पारिएको देश हो, जसमा न त मानिस छ, न पशु छ । यसलाई कल्दीहरूको हातमा दिइएको छ ।'44 तिनीहरूले चाँदीले जमिन किन्‍नेछन्, र मुट्ठो लेखेर छाप लगाउनेछन् । तिनीहरूले बेन्‍यामीनको इलाकामा, सारा यरूशलेमको चारैतिर, र यहूदाका सहरहरू, पहाडी देशहरूका सहरहरू र तराई र नेगेवका सहरहरूमा साक्षीहरू भेला गर्नेछन् । किनकि म तिनीहरूको सुदिन फर्काउनेछु, यो परमप्रभुको घोषणा हो ।"