31
यो परमप्रभुको घोषणा हो, "त्‍यस बेला म इस्राएलका सबै वंशको परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।2 परमप्रभु यसो भन्‍नुहुन्‍छ, "तरवारबाट बाँचेका मानिसहरूले उजाड-स्थानमा निगाह प्राप्त गरेका छन् । इस्राएललाई विश्राम दिनलाई म बाहिर निस्कनेछु ।"3 विगतमा परमप्रभु मकहाँ देखा पर्नुभयो र भन्‍नुभयो, "ए इस्राएल, मैले तँलाई अनन्‍त प्रेमले प्रेम गरेको छु । त्‍यसैले मैले तँलाई करारको विश्‍वसनीयताले मतिर खिँचेको छु ।4 ए कन्‍या इस्राएल, म तँलाई फेरि निर्माण गर्नेछु, यसरी तँ निर्माण हुनेछस् । तैँले फेरि आफ्ना खैँजडीहरू लिनेछस् र खुसीको नाचसहित बाहर निस्कनेछस् ।5 सामरियाका पहाडहरूमा तैँले फेरि दाखबारीहरू लगाउनेछस् । किसानहरूले रोप्‍नेछन्, र फललाई असलको उद्देश्यको लागि प्रयोग गर्नेछन् ।6 किनकि एक दिन आउनेछ, जुन बेला एफ्राइमका पहाडहरूका पहरेदारहरूले घोषणा गर्नेछन्, 'उठ, हामी परमप्रभु हाम्रा परमेश्‍वरकहाँ सियोनमा जाऔँ ।'7 किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ, "याकूबको निम्ति आनन्‍दले कराओ । जातिहरूका मानिसहरूका प्रमुखको लागि खुसीले चिच्‍च्‍याओ । प्रशंसा सुनियोस् । यसो भन, 'परमप्रभुले आफ्ना जाति, इस्राएलका बाँकी रहेकाहरूलाई उद्धार गर्नुभएको छ ।'8 हेर, मैले तिनीहरूलाई उत्तरी देशहरूबाट फर्काएर ल्याउनै लागेको छु । म तिनीहरूलाई पृथ्वीका पल्ला छेउहरूबाट जम्मा गर्नेछु । तिनीहरूका बीचमा दृष्‍टिविहीन र लङ्‌गडाहरू हुनेछन् । गर्भवती स्‍त्रीहरू र बच्‍चा जन्‍माउनै लागेकाहरू तिनीहरूसितै हुनेछन् । एउटा ठूलो समुदाय यहाँ फर्कनेछ ।9 तिनीहरू रुँदै आउनेछन् । तिनीहरूले आ-आफ्ना बिन्‍ती बिसाउँदा म तिनीहरूलाई अगुवाइ गर्नेछु । म तिनीहरूलाई सीधा मार्गमा पानीका खोलाहरूबाट यात्रा गराउनेछु । तिनीहरू यसमा ठोकिनेछैनन्, किनकि म इस्राएलको पिता हुनेछु, र एफ्राइम मेरो जेठो छोरा हुनेछ ।10 "हे जातिहरू हो, परमप्रभुको वचन सुन । टाढाका समुद्रतटका देशहरूलाई घोषणा गर, जातिहरूले यसो भन्‍नुपर्छ, 'इस्राएललाई तितर-बितर पार्नुहुनेले तिनीहरूलाई जम्मा गर्दै हुनुहुन्‍छ र गोठालोलो आफ्ना भेडाहरूलाई रक्षा गरेझैँ रक्षा गर्दै हुनुहुन्‍छ ।'11 किनकि परमप्रभुले याकूबलाई मोल तिरेर छुटाउनुभएको छ, र उसको भन्‍दा धेरै शक्तिशाली हातबाट उसलाई छुटकारा दिनुभएको छ ।12 तब तिनीहरू आउनेछन् र सियोनका पर्वतहरूमा रमाउनेछन् । मकै र नयाँ दाखमद्य, तेल र गाईवस्तुका बाछाहरू भेडा-बाख्राका पाठाहरूमाथि परमप्रभुको भलाइको कारणले, तिनीहरूका मुहार चम्कनेछन् । किनकि तिनीहरूको जीवन पानीले भिजेको बगैँचा जस्‍तै हुनेछ, र तिनीहरूले फेरि कहिल्यै दुःखको महसुस गर्नेछैनन् ।13 तब कन्‍याहरू नाच्दै रमाउनेछन्, र युवा अनि पाकाहरू एकै ठाउँमा आउनेछन् । किनकि तिनीहरूको शोकलाई म उत्सवमा परिणत गर्नेछु । म तिनीहरूमाथि दया देखाउनेछु, र शोक गर्नुको साटो आनन्‍द मनाउन लगाउनेछु ।14 तब पूजाहारीहरूका जीवनलाई म प्रशस्त मात्रामा परिपूर्ण पार्नेछु । मेरा मानिसहरू मेरो भलाइले भरिनेछन्, यो परमप्रभुको घोषणा हो ।"15 परमप्रभु यसो भन्‍नुहुन्‍छ, "रामामा विलाप गरेको र धुरुधुरु रोएको एउटा स्‍वर सुनिएको छ । राहेल आफ्ना सन्‍तानका लागि रुँदैछे । त्‍यसले सान्‍त्वना पाउनलाई इन्कार गरेकी छे, किनकि तिनीहरू अब फेरि जीवित छैनन् ।"16 परमप्रभु यसो भन्‍नुहुन्‍छ, "रुनदेखि आफ्नो स्‍वर रोक, र आँखाबाट आँसु नखसाल । तिमीहरूको कामको लागि एउटा इनाम छ, यो परमप्रभुको हो, तिमीहरूका छोराछोरीहरू शत्रुको देशबाट फर्कनेछन् ।17 तिमीहरूको भविष्यको लागि आशा छ, यो परमप्रभुको घोषणा हो, तिमीहरूका सन्‍तानहरू तिमीहरूका सिमानाहरूभित्र फर्कनेछन् ।"18 "निश्‍चय नै मैले एफ्राइमले शोक गरेको सुनेको छु, 'तपाईंले मलाई दण्ड दिनुभयो, र एउटा नसुधारिएको बाछालाई झैँ मलाई दण्ड दिइएको छ । मलाई फर्काएर ल्याउनुहोस्, र म फर्काइनेछु, किनकि तपाईं परमप्रभु मेरा परमेश्‍वर हुनुहुन्‍छ ।19 किनकि म तपाईंकहाँ फर्केपछि म दुःखित भएँ । मलाई तालिम दिइएपछि मैले आफ्नो तिघ्रामा हिर्काएँ । म लज्‍जित र अपमानित भएँ, किनकि मैले आफ्नो युवावस्थाको दोष बोकेको छु ।'20 के एफ्राइम मेरो बहुमूल्य बालक होइन र ? के त्‍यो मेरो प्रिय, आनन्‍दित छोरो होइन र ? किनकि मैले जहिलेसुकै त्‍यसको विरुद्धमा बोल्दा, म निश्‍चय नै त्‍यसलाई मेरो प्रेमिलो हृदयमा सम्झन्‍छु । यसरी मेरो हृदय त्‍यसको लागि लालायित हुन्‍छ । म निश्‍चय नै त्‍यसमाथि दया देखाउनेछु, यो परमप्रभुको घोषणा हो ।"21 आफ्ना लागि बाटो देखाउने सङ्‌केतहरू राख् । आफ्ना लागि खम्बाहरू खडा गर् । तेरो मन तँ हिँड्नुपर्ने ठीक मार्गमा लगा । ए कन्‍या इस्राएल, फर्केर आइज । तेरा यी सहरहरूमा फर्केर आइज ।22 ए विश्‍वासघाती छोरी, तँ कहिलेसम्म यताउता गरिबस्छेस् ? किनकि परमप्रभुले पृथ्वीमा केही नयाँ कुरो सृजनुभएको छ अर्थात् एक जना स्‍त्रीले एक जना बलियो पुरुषलाई घेर्छे ।23 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, "मैले यस जातिलाई तिनीहरूको देशमा फर्काएर ल्याउँदा तिनीहरूले यहूदा र यसका सहरहरूमा यसो भन्‍नेछन्, 'उहाँ बस्‍नुहुने ए धर्मी वासस्थान्, ए पवित्र पर्वत, परमप्रभुले तँलाई आशिष् देऊन् ।'24 किनकि किसानहरू र आफ्ना बगालहरूसित घुम्‍ने गोठालाहरूझैँ यहूदा र यसका सहरहरू सँगसँगै त्‍यहाँ बस्‍नेछन् ।25 किनकि थाकेकाहरूलाई म पिउन ल्‍याउनेछु, र मूर्च्‍छा खाएकाहरूलाई म सन्‍तुष्‍ट पार्नेछु ।"26 यसपछि म बिउँझेँ, र मेरा भेडाहरू ताजा हुँदै गरेको मैले थाहा पाएँ ।27 "यो परमप्रभुको घोषणा हो, "हेर्, यस्ता दिनहरू आउँदैछन्, जुन बेला इस्राएल र यहूदाका घरानाहरूलाई मान्‍छे र पशुका सन्‍तानहरूले म रोप्‍नेछु ।28 विगतमा मैले तिनीहरूलाई जरैदेखि उखेल्न, लछार्न, नष्‍ट पार्न र हानि गर्न तिनीहरूलाई मेरो निगरानीमा राखेँ । तर आउने दिनहरूमा, तिनीहरूलाई निर्माण गर्न र तिनीहरूलाई रोप्‍न, म तिनीहरूको रेखदेख गर्नेछु, यो परमप्रभुको घोषणा हो ।29 ती दिनमा कसैले पनि यसो भन्‍नेछैन, 'अमिलो अङ्‌गुर खानेचाहिँ बुबा, तर दाँत कुँडिनेचाहिँ छोराछोरीको ।'30 किनकि हरेक मानिस आफ्नै अधर्ममा मर्नेछ । जसले अमिलो अङ्‌गुर खान्‍छ, त्‍यसकै दाँत कुँडिनेछ ।31 यो परमप्रभुको घोषणा हो, हेर्, यस्ता दिनहरू आउँदैछन्, जुना बेला म इस्राएल र यहूदाका घरानासित एउटा नयाँ करार स्थापित गर्नेछु ।32 मैले तिनीहरूका पुर्खाहरूसित बाँधेको करार जस्‍तो यो हुनेछैन, जब मैले तिनीहरूलाई तिनीहरूका हात समातेर मिश्र देशबाट बाहिर ल्याएँ, किनकि तिनीहरूले मेरो करार भङ्‌ग गरे तापनि म तिनीहरूका पति भएँ, यो परमप्रभुको घोषणा हो ।33 इस्राएलको घरानासित मैले बाँध्‍ने करार यही हो, यो परमप्रभुको घोषणा हो । यी दिनपछि म आफ्नो व्यवस्था तिनीहरूभित्र हाल्नेछु, र तिनीहरूका हृदयमा यो लेख्‍नेछु, किनकि म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।34 तब हरेक मानिसले फेरि आफ्नो छिमेकी वा हरेक मानिसले आफ्नो भाइलाई यसो भनेर सिकाउनेछैन, 'परमप्रभुलाई चिन ।' किनकि सानादेखि ठूलासम्म तिनीहरू सबैले मलाई चिन्‍नेछन्, यो परमप्रभुको घोषणा हो । किनकि म तिनीहरूको अधर्म क्षमा दिनेछु, र फेरि तिनीहरूका पाप सम्झनेछैनँ ।"35 परमप्रभु यसो भन्‍नुहुन्‍छ, "दिनमा प्रकाश दिन सूर्य र रातमा प्रकाश दिन चन्‍द्रमा र ताराहरूलाई उहाँले नै निधो गर्नुहुन्‍छ । समुद्रका छाल गर्जिऊन् भनेर उहाँले नै त्‍यसलाई गतिवान् बनाउनुहुन्‍छ । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।36 "यो परमप्रभुको घोषणा हो, यी स्थायी थोकहरू मेरो दृष्‍टिबाट गायब भए भने मात्रै, इस्राएलका सन्‍तानहरू मेरो सामु सदा एउटा जाति हुनबाट खतम हुनेछ ।"37 परमप्रभु यसो भन्‍नुहुन्‍छ, "उच्‍चतम आकाशलाई नाप्‍न सकियो भने, अनि मुनि पृथ्वीको जगलाई पत्ता लगाउन सकियो भने मात्र, इस्राएलका सबै सन्‍तानहरूले गरेका कुराको कारणले, म तिनीहरूलाई इन्कार गर्नेछु, यो परमप्रभुको घोषणा हो ।"38 "यो परमप्रभुको घोषणा हो, हेर्, यस्ता दिनहरू आउँदैछन्, जुन बेला यो सहर हननेलको धरहरादेखि कुने-ढोकासम्मै पुनर्निर्माण गरिनेछ ।39 तब नाप्‍ने डोरी फेरि अझै टाढा गारेब डाँडासम्म अनि घुमेर गोआसम्म जानेछ ।40 लाशहरू र खरानीको सारा उपत्‍यका अनि पूर्वतिर किद्रोन खोल्सासम्मका सबै खेत अश्‍व ढोकाको कुनासम्मको भाग परमप्रभुको निम्ति अलग गरिनेछ । त्‍यो सहर सदाको निम्ति फेरि कहिल्यै उखेलिने, वा भत्काइनेछैन ।"