30
परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,2 "परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'मैले तँलाई भनेका सबै वचन एउटा मुट्ठामा लेख् ।3 किनकि यस्ता दिनहरू आउँदैछन्, जति बेला म आफ्ना जाति, इस्राएल र यहूदाको सुदिन पुनर्स्थापित गराउनेछु, यो परमप्रभुको घोषणा हो । म परमप्रभुले नै यो भनेको हुँ । किनकि मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु, र तिनीहरूले त्यसमा अधिकार गर्नेछन्' ।"4 इस्राएल र यहूदाको विषयमा परमप्रभुले घोषणा गर्नुभएका वचनहरू यी नै हुन्,5 "किनकि परमप्रभु यसो भन्नुहुन्छ, 'हामीले त्रासको डरलाग्दो आवाज सुनेका छौँ र शान्तिको होइन ।6 पुरुषले बच्चा जन्माउन सक्छ कि सक्दैन भनी सोध र हेर । किन हरेक जवान मानिस प्रसववेदनामा परेकी स्त्रीझैँ आफ्नो हातले पेट समातेको म देख्छु त ? किन तिनीहरू सबैका अनुहार पहेँला भएका छन् त ?7 हाय ! त्यो दिन कस्तो डरलाग्दो दिन हुनेछ । त्यस्तो अरू कुनै दिन हुनेछैन । यो याकूबको निम्ति दुःखकष्टको समय हुनेछ, तर त्यसबाट ऊ बचाइनेछ ।8 यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, कि त्यस दिन म तिमीहरूका काँधको जुवा भाँच्नेछु, र म तिमीहरूका साङ्लाहरू छिनाउनेछु, यसैले विदेशीहरूले तिमीहरूलाई फेरि कहिल्यै दास बनाउनेछैनन् ।9 तर तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरको आराधना गर्नेछन्, र तिनीहरूका राजा दाऊदको सेवा गर्नेछन् जसलाई म तिनीहरूमाथि राजा बनाउनेछु ।10 यो परमप्रभुको घोषणा हो, त्यसैले तँ, मेरो दास याकूब, नडरा, अनि इस्राएल, हताश नहो । किनकि हेर्, मैले तँलाई टाढा देशबाट र तेरा सन्तानलाई निर्वासनको देशबाट ल्याउनै लागेको छु । याकूब फर्कनेछ, र शान्तिमा रहनेछ । ऊ सुरक्षित हुनेछ, र त्यहाँ फेरि त्रास हुनेछैन ।11 किनकि तँलाई बचाउन म तँसितै छु, यो परमप्रभुको घोषणा हो । तब मैले तँलाई तितर-बितर पारेको सबै जातिहरूलाई म बिल्कुलै खतम पार्नेछु । तर म निश्चय नै तँलाई खतम पार्नेछैनँ, यद्यपि म तँलाई न्यायपूर्वक अनुशासन गर्छु, र तँलाई दण्ड नदिई छोड्नेछैनँ ।'12 किनकि परमप्रभु यसो भन्नुहुन्छ, 'तेरो घाउलाई निको पार्न सकिँदैन । तेरो चोट सङ्क्रमित भएको छ ।13 तेरो विषयको निम्ति बिन्ती गरिदिने कोही छैन । तेरो चोटलाई निको पार्नलाई तेरो निम्ति कुनै उपचार छैन ।14 तेरा सबै प्रेमीले तँलाई भुलेका छन् । तिनीहरूले तेरो खोजी गर्नेछैनन्, किनकि तेरा धेरै अधर्म र तेरा अनगिन्ती पापको कारणले, मैले तँलाई शत्रुको चोट र क्रूर मालिकको अनुशासनले चोट लगाएको छु ।15 तेरो घाउको लागि किन मदत माग्दैछस् ? तेरो पीडालाई निको पार्न सकिँदैन । तेरा धेरै अधर्म र तेरा अनगिन्ती पापको कारणले मैले तँमाथि यी कुरा ल्याएको हुँ ।16 त्यसैले तँलाई निल्नेहरू सबै निलिनेछन्, र तेरा सबै वैरीहरू निर्वासनमा लगिनेछन् । किनकि जसले तँलाई लुटेका छन्, तिनीहरू लुटिनेछन्, र तँलाई लुट्नेहरू सबैको म बिगार गर्नेछु ।17 किनकि म तँलाई स्वस्थ बनाउनेछु । म तेरा चोटहरू निको पार्नेछु, यो परमप्रभुको घोषणा हो, तिनीहरूले तँलाई बहिष्कृत भनेको हुनाले म यसो गर्नेछु । यस सियोनको लागि कसैले वास्ता गर्दैन' ।"18 परमप्रभु यसो भन्नुहुन्छ, "हेर, मैले याकूबका पालहरूको सुदिन फर्काउन लागेको छु र उसका घरहरूमा दया देखाउनै लागेको छु । त्यसपछि भग्नावशेषको थुप्रोमाथि सहर निर्माण हुनेछ, र पहिलेकै ठाउँमा किल्ला निर्माण हुनेछ ।19 तब तिनीहरूले प्रशंसाको गीत गाउनेछन्, र आनन्दको स्वर निकाल्नेछन्, किनकि म तिनीहरूलाई बढाउनेछु, र घटाउने होइन । तिनीहरू अपमानित नहोऊन् भनेर म तिनीहरूको आदर गर्नेछु ।20 त्यति बेला तिनीहरूका मानिसहरू पहिले जस्तै हुनेछन्, र तिनीहरूको सभा मेरो सामु स्थापित हुनेछ, जति बेला तिनीहरूलाई अहिले यातना दिने सबैलाई म दण्ड दिन्छु ।21 तिनीहरूका बीचबाटै तिनीहरूका अगुवा आउनेछ । मैले उसलाई नजिक ल्याउँदा र त्यो मतिर आउँदा त्यो तिनीहरूकै बीचबाट आउनेछ । मैले यसो गरिनँ भने, मेरो नजिक आउने साहस कसले गर्ला र ? यो परमप्रभुको घोषणा हो ।22 तब तिमीहरू मेरा मानिसहरू हुनेछौ, र म तिमीहरूका परमेश्वर हुनेछु ।23 हेर, परमप्रभुको आँधी, उहाँको क्रोध बाहिर निस्केको छ । यो आइरहने आँधी हो । यसले दुष्ट मानिसहरूका शिरमा चक्कर लगाउनेछ ।24 आफ्नो मनका उद्धेश्यहरू पूरा नहोउञ्जेल परमप्रभुको क्रोध शान्त हुनेछैन । आखिरी दिनमा तिमीहरूले यो कुरा बुझ्नेछौ ।"