29
निर्वासितहरूका बीचमा बाँकी रहेका धर्म-गुरुहरू, पूजाहारीहरू, अगमवक्ताहरू र सबै मानिसहरू जसलाई नबूकदनेसरले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेर लगेका थिए, तिनीहरूलाई यर्मिया अगमवक्ताले पठाएको मुट्ठोमा लिखित वचनहरू यी नै हुन् ।2 राजा यहोयाकीन, राजमाता, उच्च अधिकारीहरू, यहूदाका र यरूशलेमका अगुवाहरू र कारीगरहरू यरूशलेमबाट निर्वासनमा लगिएपछि यो वचन लेखियो ।3 तिनले यो मुट्ठो शापानका छोरा एलासा र हिल्कियाहका छोरा गमर्याहको हातबाट पठाएका थिए, जसलाई यहूदाका राजा सिदकियाहले बेबिलोनका राजा नबूकदनेसरकहाँ पठाएका थिए ।4 मुट्ठामा यस्तो लेखियो, "मैले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेका सबै कैदीहरूलाई, म, सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्छु,5 'घरहरू बनाओ र तिनमा बस । बारीहरूमा बीउ रोप र तिनको फल खाओ ।6 विवाहबारी गर र छोराहरू र छोरीहरू जन्माओ । त्यसपछि आफ्ना छोराहरूका लागि पत्नीहरू ल्याओ, र आफ्ना छोरीहरू तिनीहरूका पतिहरूलाई देओ । तिनीहरूले छोराहरू र छोरीहरू जन्माऊन्, र त्यहाँ आफ्नो सङ्ख्या बढाओ, घटाउने होइन ।7 मैले तिमीहरूलाई जहाँ निर्वासित गरेको छु, त्यस सहरको शान्ति खोज, र त्यसको पक्षमा मलाई अन्तरबिन्ती चढाओ, किनकि त्यो शान्तिमा रह्यो बने तिमीहरूलाई शान्ति हुनेछ ।'8 किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'तिमीहरूका बीचमा भएका अगमवक्ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई धोका नदेऊन्, र तिमीहरू आफैले देखेका सपनाका कुराहरू नमान ।9 किनकि तिनीहरूले मेरो नाउँमा तिमीहरूलाई छलको अगमवाणी बोल्दैछन् । मैले तिनीहरूलाई पठाइनँ, यो परमप्रभुको घोषणा हो ।'10 किनकि परमप्रभु यसो भन्नुहुन्छ, 'बेबिलोनले तिमीहरूमाथि सत्तरी वर्षसम्म शासन गरिसकेपछि म तिमीहरूलाई मदत गर्नेछु, र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्याउछु भन्ने मेरो असल वचन पूरा गर्नेछु ।11 किनकि तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु, यो परमप्रभुको घोषणा हो, तिमीहरूलाई एउटा भविष्य र आशा दिनलाई ती शान्तिका योजनाहरू हुन्, विपत्तिका होइनन् ।12 तब तिमीहरूले मलाई पुकार्नेछौ, र जानेछौ र मलाई प्रार्थना चढाउनेछौ, र म तिमीहरूको प्रार्थना सुन्नेछु ।13 किनकि तिमीहरूले मलाई खोज्नेछौ र भेट्टाउनेछौ, किनभने तिमीहरूले मलाई आफ्ना सारा हृदयले खोज्नेछौ ।14 तब तिमीहरूले मलाई भेट्टाइनेछौ, यो परमप्रभुको घोषणा हो, र म तिमीहरूका सुदिन फर्काउनेछु । मैले तिमीहरूलाई छरपष्ट पारेका सबै जाति र ठाउँहरूबाट म तिमीहरूलाई जम्मा गर्नेछु, यो परमप्रभुको घोषणा हो, मैले तिमीहरूलाई जुन ठाउँबाट निर्वासित गरेँ, त्यहाँबाट म तिमीहरूलाई फर्काएर ल्याउनेछु ।'15 परमेश्वरले हाम्रो निम्ति बेबिलोनमा नै अगमवक्ताहरू खडा गर्नुभएको छ भनी तिमीहरूले भनेको हुनाले,16 दाऊदको सिंहासनमा बस्ने राजा र त्यस सहरमा बसोबास गरेका सबै मानिसहरूलाई परमप्रभु यसो भन्नुहुन्छ, तिमीहरूका दाजुभाइ जो तिमीहरूसँग निर्वासनमा गएका छैनन् -17 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, 'हेर, तिनीहरूकहाँ मैले तरवार, अनिकाल र विपत्ति ल्याउनै लागेको छु, । किनकि म तिनीहरूलाई कुहेका अञ्जीरहरू जस्तै तुल्याउनेछु जुन खानलाई असाध्यै खराब हुन्छन् ।18 त्यसपछि म तिनीहरूलाई तरवार, अनिकाल र विपत्तिले खेद्नेछु, अनि म तिनीहरूलाई पृथ्वीका सबै राज्यमा घृणाको दृश्य, मैले तिनीहरूलाई छरपष्ट पारेका सबै जातिहरूका बीचमा तिनीहरूलाई त्रास, सराप र गिल्लाको पात्र र लाजका कुरा बनाउनेछु ।19 तिनीहरूकहाँ मेरा दासहरू र अगमवक्ताहरूमार्फत मैले पठाएको मेरो वचन तिनीहरूले नसुनेको कारणले यसो हुनेछ, यो परमप्रभुको घोषणा हो । मैले तिनीहरूलाई पटक-पटक पठाएँ, तर तिमीहरूले सुनेनौ, यो परमप्रभुको घोषणा हो ।'20 त्यसैले हे सबै निर्वासितहरू हो, जसलाई उहाँले यरूशलेमबाट बेबिलोनमा पठाउनुभएको छ, तिमीहरू आफूले भने परमप्रभुको वचन सुन ।21 'कोलायाहका छोरा आहाब र मासेयाहका छोरा सिदकियाह, जसले मेरो नाउँमा तिमीहरूलाई झूटा अगमवाणी बोल्छन्, हेर, तिनीहरूको विषयमा सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः मैले तिनीहरूलाई बेबिलोनका राजा नबूकदनेसरको हातमा दिनै लागेको छु । उसले तिनीहरूलाई तिमीहरूकै आँखाको सामु मार्नेछ ।22 त्यसपछि बेबिलोनमा भएका यहूदाका सबै निर्वासितद्वारा यी व्यक्तिहरूको बारेमा सरापको वचन बोलिनेछ । सराप यस्तो हुनेछ, "परमप्रभुले तिमीहरूलाई सिदकियाह र आहाब जस्तै बनाऊन्, जसलाई बेबिलोनका राजाले आगोमा पोलेका थिए ।"23 तिनीहरूले आफ्ना छिमेकीहरूका पत्नीहरूसित व्यभिचार गरेर अनि मैले तिनीहरूलाई भन्नलाई कहिल्यै आज्ञा नगरेका झूटा कुराहरू मेरो नाउँमा घोषणा गरेर, तिनीहरूले इस्राएलमा गरेका लज्जित कुराहरूका कारणले यस्तो हुनेछ । किनकि मलाई यो कुरा थाहा छ, र म साक्षी हुँ, यो परमप्रभुको घोषणा हो' ।"24 नेहेलामवासी शमायाह बारेमा यसो भन्,25 "सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, यरूशलेमका सबै मानिसहरू, पूजाहारी मासेयाहका छोरा सपन्याह र सबै पूजाहारीहरूलाई तेरो आफ्नै नाउँमा चिट्ठीहरू लेखेर यसो भनिस्,26 'पूजाहारी यहोयादाको सट्टामा परमप्रभुले तिमीलाई परमप्रभुको मन्दिरको जिम्मा लिन पूजाहारी बनाउनुभएको छ । तिमी बरबराएर आफैलाई अगमवक्ताहरू बनाउने सबै मानिसहरूमाथि नियन्त्रण गर्छौ । तिमीहरूले तिनीहरूलाई साङ्लाले बाँधेर ठिँगुरोमा हाल्नू ।27 त्यसैले अब, तिम्रो विरुद्धमा आफैलाई अगमवक्ता बनाउने अनातोतको यर्मियालाई किन हप्काएनौ ?28 किनकि बेबिलोनमा उसले हामीलाई यस्तो चिट्ठी पठाएको छ र भनेको छ, "निर्वासन लामो समयसम्म हुनेछ । घरहरू बनाओ र तिनमा बस, र खेतबारीमा बीउ रोप र तिनको फल खाओ" ।' "29 यर्मिया अगमवक्ताले सुन्ने गरी पूजाहारी सपन्याहले यो पत्र पढे ।30 तब परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,31 "सबै निर्वासितकहाँ यो खबर पठा र यसो भन्, 'नेहेलामवासी शमायाहको विषयमा परमप्रभु यसो भन्नुहुन्छः म आफैले शमायाहलाई नपठाउँदा पनि उसले तिमीहरूलाई अगमवाणी बोलेको र उसले तिमीहरूलाई झूटा कुराहरूमा विश्वास गर्न डोर्याएको छ,32 त्यसकारण परमप्रभु यसो भन्नुहुन्छः नेहेलामवासी शमायाह र त्यसका सन्तानहरूलाई मैले दण्ड दिनै लागेको छु । यस जातिको बीचमा बस्न त्यसको लागि कुनै मानिस हुनेछैन । मैले आफ्ना मानिसहरूलाई गर्ने भलाइ त्यसले देख्नेछैन, यो परमप्रभुको घोषणा हो, किनकि उसले परमप्रभुको विरुद्धमा विद्रोहको घोषणा गरेको छ' ।"