28
त्यही वर्ष अर्थात् यहूदाका राजा सिदकियाहले राज्य गरेको चौथो वर्षको पाँचौँ महिनामा अज्जूरका छोरा, गिबोनमा बस्ने अगमवक्ता हनन्याहले परमप्रभुको मन्दिरमा पूजाहारीहरू र सबै मानिसहरूको सामु मसित बोले । तिनले भने,2 "सर्वशक्तिमान्, परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः बेबिलोनका राजाद्वारा लादिएको जुवा मैले भाँचेको छु ।3 बेबिलोनका राजा नबूकदनेसरले यस ठाउँबाट लगेको र बेबिलोनमा ओसारेको परमप्रभुको मन्दिरका सबै सामान म दुई वर्षभित्रमा यही ठाउँमा फर्काएर ल्याउनेछु ।4 त्यसपछि बेबिलोनमा पठाइएका यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाका सबै बन्दीलाई म फर्काएर ल्याउनेछु, यो परमप्रभुको घोषणा हो, किनकि बेबिलोनका राजाको जुवालाई म भाँच्नेछु ।"5 त्यसैले परमप्रभुको मन्दिरमा खडा भएका पूजाहारीहरू र सबै मानिसहरूको सामु यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तासित बोले ।6 यर्मिया अगमवक्ताले भने, "परमप्रभुले यसै गरून् ! तिमीले अगमवाणी बोलेका वचनहरू परमप्रभुले पूरा गरून्, अनि परमप्रभुको मन्दिरका सबै सामान र सबै बन्दीलाई बेबिलोनबाट यस ठाउँमा फर्काएर ल्याऊन् ।7 तापनि तिमीले सुन्ने गरी अनि सबै मानिसहरूले सुन्ने गरी मैले घोषणा गरेको वचनलाई सुन ।8 तिमी र म भन्दा धेरै पहिलेका अगमवक्ताहरूले पनि धेरै जातिहरू, महान् राज्यहरू, युद्ध, अनिकाल र विपत्तिको विषयमा अगमवाणी बोले ।9 त्यसैले शान्ति हुनेछ भनी अगमवाणी बोल्ने अगमवक्ताले भनेको वचन पूरा भयो भने, त्यो वास्तवमै परमप्रभुद्वारा पठाइएको अगमवक्ता रहेछ भनी थाहा हुनेछ ।"10 तर हनन्याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट जुवा निकाले र त्यसलाई भाँचिदिए ।11 तब हनन्याहले सबै मानिसहरूका सामु बोले र यसो भने, "परमप्रभु यसो भन्नुहुन्छ, बेबिलोनका राजा नबूकदनेसरद्वारा लादिएको जुवा म हरेक जातिको काँधबाट दुई वर्षभित्रमा यसै गरी भाँचिदिनेछु ।" तब यर्मिया अगमवक्ता आफ्नो बाटो लागे ।12 हनन्याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट जुवा निकालेर भाँचेपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,13 "जा र हनन्याहसित बोल् र यसो भन्, 'परमप्रभु यसो भन्नुहुन्छः तैँले त काठको जुवा भाँचिस्, तर यसको साटो म फलामको जुवा बनाउनेछु ।'14 किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः बेबिलोनका राजा नबूकदनेसरको सेवा गर्नलाई मैले यी सबै जातिको काँधमा फलामको जुवा राखेको छु, र तिनीहरूले उसको सेवा गर्नेछन् । शासन गर्नलाई मैले उसलाई जङ्गलका वन्यजन्तुहरू पनि दिएको छु ।"15 अनि यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तालाई भने, "हे हनन्याह, सुन, परमप्रभुले तिमीलाई पठाउनुभएको होइन, तर तिमी आफैले यी मानिसहरूलाई झूटो कुरामा विश्वास गर्न लगाएका छौ ।16 त्यसैले परमप्रभु यसो भन्नुहुन्छः हेर्, तँलाई मैले पृथ्वीबाट हटाउनै लागेको छु । तैँले परमप्रभुको विरुद्धमा विद्रोही कुराको घोषणा गरेको हुनाले तँ यही वर्ष मर्नेछस् ।"17 त्यही वर्षको सातौँ महिनामा हनन्याह अगमवक्ता मरे ।