34
बेबिलोनका राजा नबूकदनेसर र तिनका सबै सेना, तिनको अधीनमा पृथ्वीमा भएका सबै राज्‍य र तिनमा भएका सबै मानिसहरूले यरूशलेम र यसका सबै सहरहरूको विरुद्धमा युद्ध सुरु गर्दा यर्मियाकहाँ परमप्रभुको वचन यसो भनेर आयोः2 "परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छः जा र यहूदाका राजा सिदकियाहसँग बोल् र यसो भन्, 'परमप्रभु यसो भन्‍नुहुन्‍छः हेर्, मैले यो सहरलाई बेबिलोनका राजाको हातमा दिनै लागेको छु । उसले यसलाई जलाउनेछ ।3 तँ उसको हातबाट उम्कनेछैनस्, किनकि तँ निश्‍चय नै समातिनेछस् र उसको हातमा दिइनेछ । तेरा आँखाले बेबिलोनका राजाको आँखालाई हेर्नेछन् । तँ बेबिलोनमा जाँदा उसले तँसित सीधै कुरा गर्नेछ ।'4 ए यहूदाका राजा सिदकियाह, परमप्रभुको यो वचन सुन् । तेरो विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ, 'तँ तरवारले मारिनेछैनस् ।5 तँ शान्‍तिमा मर्नेछस् । तेरा पुर्खाहरू अर्थात् तँ भन्‍दा अघिका राजाहरूको मृत्‍यु संस्कारमा भए जस्‍तै तिनीहरूले तेरो लाश जलाउनेछन् । तिनीहरूले भन्‍नेछन्, 'हाय मालिक !' तिनीहरूले तेरो निम्ति विलाप गर्नेछन् । मैल यो कुरा भनेको छु, यो परमप्रभुको घोषणा हो ।6 तब यर्मिया अगमवक्ताले यरूशलेममा यी सबै वचन यहूदाका राजा सिदकियाहलाई घोषणा गरे ।7 बेबिलोनका राजाका सेनाले यरूशलेम र यहूदाका बाँकी रहेका सबै सहरः लाकीश र आजेकाको विरुद्धमा युद्ध गरे । यहूदाका यी सहर किल्लाबन्‍दी गरिएका सहरको रूपमा बाँकी रहेका थिए ।8 राजा सिदकियाहले यरूशलेमका सबै मानिसहरूसित तिनीहरूको छुटकाराको घोषणा गर्ने करार बाँधेपछि यर्मियाकहाँ परमप्रभुको यो वचन आयो,9 हरेक मानिसले आ-आफ्ना हिब्रू कमारा-कमारीलाई फुक्का गर्नुपर्छ । कसैले पनि आफ्नो यहूदी दाजुभाइलाई कमारा राख्‍नु हुँदैनथ्यो ।10 त्‍यसैले सबै अगुवा र मानिसहरू यस करारमा संलग्‍न भए, जसमा तिनीहरू हरेकले आ-आफ्ना कमारा-कमारी फुक्का गर्नु पर्थ्यो ताकि तिनीहरू फेरि कमारा नहोऊन् । तिनीहरूले पालन गरे र तिनीहरूलाई फुक्का गरे ।11 तर यसपछि तिनीहरूले आफ्नो मन बदले । तिनीहरूले फुक्का गरिदिएका कमारा-कमारीहरूलाई फर्काएर ल्याए, र तिनीहरूलाई फेरि कमारा-कमारी हुन जबरजस्ती गरे ।12 त्‍यसैले परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,13 "परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'मैले तिमीहरूका पुर्खाहरूलाई मिश्र देश अर्थात् दासत्वको देशबाट निकालेर ल्याएको दिनमा म आफैले तिनीहरूसित एउटा करार बाँधेँ । त्‍यति बेला मैले भनेको थिएँ,14 "प्रत्‍येक सात वर्षको अन्‍त्‍यमा हरेक मानिसले आफ्नो हिब्रू दाजुभाइलाई मुक्त गरिदिनू, जसले आफैलाई तँकहाँ बेचेको छ र छ वर्षसम्म तेरो सेवा गरेको छ । त्‍यसलाई स्वतन्‍त्र गराएर पठाउनू ।" तर तिमीहरूका पुर्खाहरूले मेरो कुरा सुनेनन् वा मेरा कुरा सुन्‍नमा आफ्ना ध्‍यान लगानन् ।15 तर तिमीहरू आफैले चाहिँ पश्‍चात्ताप गरेका र मेरो दृष्‍टिमा जे ठीक छ, सो गर्न थालेका छौ । तिमीहरू हरेकले आफ्नो छिमेकीलाई स्वतन्‍त्रताको घोषणा गर्‍यौ, र मेरो नाउँद्वारा कहलाइने मन्‍दिरमा तिमीहरूले मेरो सामु करार बाँध्‍यौ ।16 तर तिमीहरू तर्केर गयौ र मेरो नाउँलाई दूषित पार्‍यौ । तिमीहरूले हरेक मानिसलाई आ-आफ्ना कमारा-कमारी तिनीहरूका आफ्ना इच्‍छाले जहाँ गएका थिए त्‍यहाँबाट तिनीहरूलाई तिमीहरूले फिर्ता ल्याउन लगायौ । तिमीहरूले फेरि तिनीहरूलाई जबरजस्ती आफ्ना कमारा तुल्यायौ ।'17 त्‍यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ, 'तिमीहरू आफूले पनि मेरो कुरा सुनेका छैनौ । तिमीहरू हरेकले आफ्ना दाजुभाइ र इस्राएली बन्धुलाई स्वतन्‍त्रताको घोषणा गर्नु पर्थ्यो । त्‍यसैले हेर, अब मैले तिमीहरूका निम्ति स्वतन्‍त्रताको घोषणा गर्नै लागेको छु, यो परमप्रभुको घोषणा हो । तिमीहरूलाई तरवार, विपत्ति र अनिकालबाट मर्ने स्वतन्‍त्रताको घोषणा गर्दैछु, किनकि म तिमीहरूलाई पृथ्वीका हरेक राज्‍यको दृष्‍टिमा घिनलाग्दो पात्र बनाउनेछु ।18 त्‍यसपछि मेरो करार भङ्‌ग गरेका मानिसहरू, मेरो सामु गरेका करारका वचन पूरा नगर्ने ती मानिसहरूसँग म त्‍यही साँढेसित गरे जस्‍तै व्यवहार गर्नेछु, जसलाई तिनीहरूले दुई फ्याक पारे र त्‍यसको बीचबाट हिँडे,19 र यहूदा र यरूशलेमका अगुवाहरू, नपुंसकहरू र पूजाहारीहरू अनि देशका सबै मानिसहरू त्‍यही दुई फ्याक गरिएको साँढेको बीचबाट हिँडे ।20 म तिनीहरूलाई तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्‍यान लिन खोज्‍नेहरूका हातमा दिनेछु । तिनीहरूका लाश आकाशका चराहरू र जमिनका पशुहरूका लागि आहारा हुनेछन् ।21 म यहूदाका राजा सिदकियाह र त्‍यसका अगुवाहरूलाई तिनीहरूका शत्रुहरूका हातमा, र तिनीहरूको ज्‍यान लिन खोज्‍नेहरूका हातमा र तिमीहरूका विरुद्धमा खडा भएका बेबिलोनका राजाका सेनाको हातमा दिनेछु ।22 यो परमप्रभुको घोषणा हो, हेर मैले एउटा आज्ञा दिनै लागेको छु, र यस सहरको विरुद्धमा युद्ध गर्न र यसलाई कब्जा गर्न र यसलाई जलाउनलाई म तिनीहरूलाई यहाँ फर्काएर ल्याउन लागेको छु । किनकि म यहूदाका सहरहरूलाई भग्‍नावशेषको ठाउँ बनाउनेछु, जसमा बासिन्‍दाहरू हुनेछैनन् ।"