17
"यहूदाको पाप हिराको निब भएको फलामको कलमले लेखिएको छ । त्‍यसलाई तिनीहरूका हृदयका पाटी र तिनका वेदीहरूका सीङहरूमा कुँदिएको छ ।2 तिनीहरूका बालबालिकाले तिनीहरूका वेदीहरू र तिनीहरूका अशेराका खम्बाहरूलाई सम्झन्‍छन्, जुन झ्याम्म परेका रुखहरूका छेउमा र अग्ला पहाडहरूमा थिए ।3 आफ्ना सबै इलाकामा तिमीहरूले गरेका पापको कारणले तिमीहरूका अग्ला ठाउँहरूसँगै खुला देशमा भएको मेरो पर्वत र तिमीहरूका धन-सम्पत्ति र तिमीहरूका सबै खजाना म लूटको मालको रूपमा दिनेछु ।4 मैले तिमीहरूलाई दिएको उत्तराधिकार तिमीहरूले गुमाउनेछौ । तिमीहरूले नचिनेको देशमा म तिमीहरूलाई आफ्ना शत्रुहरूको दास तुल्याउनेछु, किनकि तिमीहरूले मेरो क्रोधमा आगो सल्काएका छौ, जुन सदासर्वदा बल्नेछ ।"5 परमप्रभु भन्‍नुहुन्‍छ, "मानव-जातिमा भरोसा गर्ने व्यक्ति श्रापित होस् । त्‍यसले शरीरलाई आफ्नो शक्ति सम्झन्‍छ, तर आफ्नो हृदय परमप्रभुबाट टाढा लैजान्‍छ ।6 त्‍यो अराबाको पोथ्रोझैँ हुनेछ, र त्‍यसले कुनै असल कुरो आइरहेको देख्‍नेछैन । त्‍यो बासिन्‍दा नभएको उजाडस्थान, सुख्खा भूमिका चट्टानहरूमा बस्‍नेछ ।7 तर परमप्रभुमा भरोस गर्ने व्यक्ति धन्‍यको हो, किनकि परमप्रभु नै त्‍यसको दृढताको कारण हुनुहुन्‍छ ।8 त्‍यो पानीको छेउमा रोपिएको बिरुवा जस्‍तै हुनेछ । यसका जरा खोलाको किनारमा फैलिएको हुनेछन् । जब ताप आउँछ तब त्‍यो डराउनेछैन, किनकि यसका पात सधैँ हरिया हुन्‍छन् । खडेरीको वर्षमा यो चिन्‍तित हुँदैन, र यसले फल फलाउन छोड्दैन ।9कुनै पनि कुरा भन्‍दा हृदय बढी छली हुन्‍छ । यो रोगले ग्रस्त छ । यसलाई कसले बुझ्‍न सक्छ र ?10 मनको खोजी गर्ने, हृदयको जाँच गर्ने परमप्रभु म नै हुँ । हरेक व्यक्तिको आफ्नो चालअनुसार, त्‍यसका कामहरूको फलअनुसार म त्‍यसलाई इनाम दिन्‍छु ।11 तित्रोले आफूले नपारेको अण्डा ओथ्रने काम गर्छ । कोही मानिस अन्‍यायपूर्वक धनी बन्‍न सक्छ, तर त्‍यसका आधा उमेर सकिन्‍छन् तब ती धनले त्‍यसलाई छाड्नेछन्, र अन्‍त्‍यमा त्‍यो मूर्ख हुनेछ ।"12 "सुरुदेखि नै उच्‍च पारिएको हाम्रो मन्‍दिरको ठाउँ एउटा महिमित सिंहासन हो ।13 परमप्रभु नै इस्राएलको आशा हुनुहुन्‍छ । तपाईंलाई त्‍याग्‍नेहरू सबै लाजमा पर्नेछन् । देशमा तपाईंबाट तर्केर जानेहरू धूलोमा लेखिनेछन्, किनकि तिनीहरूले परमप्रभु, जिउँदो पानीको मूललाई त्‍यागेका छन् ।14 हे परमप्रभु, मलाई निको पार्नुहोस्, र म निको हुनेछु । मलाई छुटकारा दिनुहोस्, र मैले छुटकारा पाउनेछु । किनकि तपाईं नै मेरो प्रशंसाको गीत हुनुहुन्‍छ ।15 हेर्नुहोस्, तिनीहरू मलाई यसो भन्‍दैछन्, 'परमप्रभुको वचन कहाँ छ ? त्‍यो आओस् !'16 मेरो बारेमा, म तपाईंको अनुसरण गरेर गोठालो हुनदेखि भागेर म गइन । मैले विपत्तिको समयको प्रतीक्षा गरिनँ । मेरो जिब्रोबाट निस्केको घोषणाहरू तपाईं जान्‍नुहुन्‍छ । ती तपाईंकै उपस्थितिमा गरिएका थिए ।17 मेरो लागि त्रास नबन्‍नुहोस् । सङ्‌कष्‍टको दिनमा तपाईं नै मेरो शरणस्थान हुनुहुन्‍छ ।18 मेरो पिछा गर्नेहरू लाजमा परून्, तर मलाई लज्‍जित हुन नदिनुहोस् । तिनीहरू त्रासमा परून्, तर मलाई त्रासमा पर्न नदिनुहोस् । तिनीहरूको विरुद्धमा विपत्तिको दिन पठाउनुहोस्, र तिनीहरूलाई विनाशको दोब्बर भागले टुक्राटुक्रा पार्नुहोस् ।"19 परमप्रभुले मलाई यसो भन्‍नुभयो, "जा र मानिसहरूका मूल ढोकामा खडा हो, जहाँबाट यहूदाका राजाहरू प्रवेश गर्छन् र जहाँबाट तिनीहरू बाहिर निस्कन्‍छन् । त्‍यसपछि यरूशलेमका अन्‍य सबै ढोकामा खडा हो ।20 तिनीहरूलाई भन्, 'यी ढोकाहरूबाट आवातजावत गर्ने हे सबै यहूदाका राजा, यहूदाका सबै मानिस र यरूशलेमका हरेक बासिन्‍दा हो, परमप्रभुको वचन सुन ।21 परमप्रभु यसो भन्‍नुहुन्‍छः आफ्नो जीवनको निम्ति होशियार होओ, र यरूशलेमका ढोकाहरूमा ल्याउन शबाथ-दिनमा भारी नबोक ।22 शबाथ-दिनमा आफ्ना घरबाट भारी बोकेर बाहिर नल्याओ । मैले तिमीहरूका पुर्खाहरूलाई आज्ञा गरेझैँ, शबाथ-दिनमा कुनै काम नगर्नू, तर त्‍यसलाई अलग गर्नू' ।"23 तर तिनीहरूले सुनेनन् वा ध्‍यानै दिएनन् । तिनीहरूले मेरा कुरा सुन्‍न नसकून् न त अनुशासनलाई स्वीकार गरून् भनेर तिनीहरू अटेरी भए ।24 यो परमप्रभुको घोषणा हो, तिमीहरूले साँच्‍चै मेरो कुरा सुन्‍यौ र शबाथ-दिनमा यस सहरका ढोकाहरूसम्म भारी बोकेर ल्याएनौ तर शबाथ-दिनलाई परमप्रभुको निम्ति अलग गर्‍यौ र त्‍यसमा कुनै काम गरेनौ भने,25 राजाहरू, राजकुमारहरू, यहूदाका मानिसहरू, यरूशलेमका बासिन्‍दाहरू, तिनीहरूका अगुवाहरू र दाऊदको सिंहासनमा बस्‍नेहरू रथहरू र घोडाहरूमा चढेर यस सहरका ढोकाहरूमा आउनेछन्, अनि यो सहरमा सदासर्वदा मानिसहरूको बसोबास हुनेछ ।26 तिनीहरू यहूदाका सहरहरूबाट, यरूशलेमका चारैतिरबाट, बेन्‍यामीन इलाका र तराईबाट, पहाडहरूबाट र नेगेवबाट आउनेछन्, र तिनीहरूले होमबलि र बलिदानहरू, अन्‍नबलि र धूप, धन्‍यवादका बलिहरू परमप्रभुको मन्‍दिरमा ल्याउनेछन् ।27 तर तिमीहरूले मेरो कुरा सुनेनौ, शबाथ-दिनलाई अलग गरेनौ र त्‍यस दिन गह्रौँ भारी नबोक भन्‍दा मानेनौ र यरूशलेमका ढोकाहरूभित्र प्रवेश गर्‍यौ भने, तब म यसका ढोकाहरूमा आगो सल्काउनेछु, र त्‍यसले यरूशलेमका किल्लाहरूलाई भस्म पार्नेछ, र त्‍यसलाई निभाउन सकिँदैन ।"