18
परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,2 "उठ् र कुमालेको घरमा जा, किनकि त्‍यहाँ म तँलाई मेरो वचन सुनाउनेछु ।"3 त्‍यसैले म कुमालेको घरमा गएँ र हेरेँ । कुमाले आफ्नो चक्कामा काम गरिरहेको थियो ।4 तर त्‍यसले बनाइरहेको माटोको भाँडो त्‍यसको आफ्नै हातमा बिग्रियो । त्‍यसैले उसले आफ्नो मन बदल्‍यो र आफ्नो दृष्‍टिमा असल लागेअनुसार अर्को भाँडो बनायो ।5 तब परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो,6 "ए इस्राएलका घराना हो, के म तिमीहरूलाई यही कुमालेले जस्‍तै गर्न सक्दिनँ र ? यो परमप्रभुको घोषणा हो । हेर, ए इस्राएलका घराना हो, कुमालेको हातमा माटो भएझैँ तिमीहरू मेरो हातमा त्‍यस्तै छौ ।7 एक समय एक जाति वा राज्‍यलाई म धपाउनेछु, त्‍यसलाई तोड्नेछु वा नष्‍ट गर्नेछु भनी म घोषणा गर्न सक्छु ।8 तर मैले त्‍यस्तो घोषणा गरेको त्‍यो जाति दुष्‍ट्‌याइँबाट फर्कन्‍छ भने मैले त्‍यसमाथि ल्याउने योजना गरेको विपत्ति म ल्याउनेछैनँ ।9 अर्को समयमा मैले कुनै जाति वा राज्‍यलाई बनाउने वा रोप्‍नेछु भनी म घोषणा गर्न सक्छु ।10 तर मेरो कुरा नसुनेर त्‍यसले मेरो दृष्‍टिमा खराबी गर्छ भने, मैले त्‍यसलाई गर्नेछु भनेको घोषणाको भलाइ गर्न म रोक्‍नेछु ।11 त्‍यसैले अब, यहूदाका मानिसहरू र यरूशलेमका बासिन्‍दाहरूसित बोल् र भन्, 'परमप्रभु यसो भन्‍नुहुन्‍छः हेर, मैले तिमीहरूको विरुद्धमा विपत्तिको रचना गर्नै लागेको छु । मैले तिमीहरूको विरुद्धमा योजना बनाउन लागेको छु । तिमीहरूका चाल र तिमीहरूका अभ्यासहरूले तिमीहरूलाई भलो ल्याउने गरी हरेक व्यक्तिले आफ्नो दुष्‍ट चालबाट पश्‍चात्ताप गरोस् ।'12 तर तिनीहरू भन्‍छन्, 'यो व्यर्थ छ । हामी आफ्नै योजनाअनुसार काम गर्नेछौँ । हामी हरेकले आफ्नै दुष्‍ट, हठी हृदयले इच्‍छा गरेअनुसार गर्नेछौँ ।'13 त्‍यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ, 'जातिहरूलाई सोध्, यो जस्‍तो कुरो कसैले कहिल्‍यै सुनेको छ ? इस्राएली कन्‍याले अति घृणित काम गरेकी छे ।14 के लेबनानको हिउँले कहिल्यै यसका चट्टानका पहाडहरूलाई छोड्छ र ? के टाढाबाट आउने पहाडका नदीहरू, ती चिसा नदीहरू कहिल्यै सुक्छन् र ?15 तापनि मेरा मानिसहरूले मलाई भुलेका छन् । तिनीहरूले बेकम्मा मूर्तिहरूलाई भेटी चढाएका छन्, र आफ्ना मार्गहरूमा ठक्कर खाएका छन् । कच्‍ची बाटोमा हिँड्न भनेर तिनीहरूले प्राचीन बाटोलाई छाडेका छन् ।16 तिनीहरूको देश त्रास बन्‍नेछ । सदासर्वदा गिल्लाको वस्तु बन्‍नेछ । त्‍यसबाट भएर जाने हरेक डराउनेछ, र टाउको हल्लाउनेछ ।17 तिनीहरूका शत्रुहरूकै सामु म तिनीहरूलाई पुर्वीय बतासझैँ तितर-बितर पार्नेछु । तिनीहरूको विपत्तिको दिनमा म तिनीहरूलाई मेरो पिठिउँ फर्काउनेछु, मेरो मुहार होइन' ।"18 त्‍यसैले मानिसहरूले भने, "आओ, हामी यर्मियाको विरुद्धमा षड्‌यन्‍त्रहरू रचौँ, किनकि पूजाहारीहरूबाट व्यवस्था वा बुद्धिमान् मानिसहरूबाट सरसल्लाह वा अगमवक्ताहरूबाट वचन कहिल्यै नष्‍ट हुनेछैनन् । आओ, हाम्रा वचनहरूले त्‍यसलाई आक्रमण गरौँ, अनि अब फेरि त्‍यसले घोषणा गरेका कुराहरूमा हामी ध्‍यान नदिऔँ ।"19 हे परमप्रभु, मेरो कुरा ध्‍यानसित सुन्‍नुहोस्, र मेरा शत्रुहरूका आवाज सुन्‍नुहोस् ।20 म तिनीहरूका लागि असल भएको हुनाले के साँच्‍चै तिनीहरूबाट आउने विपत्ति मेरो इनाम हुनेछ ? किनकि तिनीहरूले मेरो लागि एउटा खाडल खनेका छन् । तिनीहरूबाट तपाईंको क्रोध हटाउन तिनीहरूको कल्याणको पक्षमा म कसरी तपाईंको सामु खडा भएको थिएँ भनी सम्झनुहोस् ।21 त्‍यसकारण तिनीहरूका सन्‍तानलाई अनिकालमा पर्न दिनुहोस्, र तिनीहरूलाई तरवार खेलाउनेहरूका हातमा सुम्पिनुहोस् । यसरी तिनीहरूका स्‍त्रीहरू शोकमा परून् र विधवा होऊन्, अनि तिनीहरूका पुरुषहरू मारिऊन्, र तिनीहरूका युवाहरू युद्धमा तरवारले मारिऊन् ।22 तपाईंले तिनीहरूको विरुद्धमा एक्कासि आक्रमणकारीहरू ल्याउनुहुँदा तिनीहरूका घरहरूबाट रुवाबासीको स्‍वर सुनियोस् । किनकि तिनीहरूले मलाई पक्रन एउटा खाडल खनेका छन्, र मेरो खुट्टाका लागि लुकाएर पासो थापेका छन् ।23 तर हे परमप्रभु, मलाई मार्न तिनीहरूले मेरो विरुद्धमा बनाएका तिनीहरूका सबै योजना तपाईंलाई थाहा छ । तिनीहरूका अधर्म र पाप क्षमा नगर्नुहोस् । तिनीहरूका पाप तपाईंबाट नहटाउनुहोस् । बरु, तिनीहरू तपाईंकै सामु पराजित होऊन् । तपाईंको क्रोधको समयमा तिनीहरूको विरुद्धमा उत्रनुहोस् ।