16
तब परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो,2 "यो ठाउँमा आफ्नो लागि पत्‍नी नले, र आफ्नो लागि छोराछोरी नजन्‍मा ।3 किनकि यस ठाउँमा जन्‍मने छोराहरू र छोरीहरू, तिनीहरूलाई जन्‍माउने आमाहरू र तिनीहरूलाई यस देशमा जन्‍मने पार्ने बाबुलाई परमप्रभु यसो भन्‍नुहुन्‍छ,4 'तिनीहरू रोग लागेर मर्नेछन् । तिनीहरूका निम्ति शोक गरिने वा गाडिनेछैन । तिनीहरू जमिनमा गोबर जस्‍तै हुनेछन् । किनकि तरवार र अनिकालले तिनीहरूको अन्‍त्‍य हुनेछ, र तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका पशुहरूका लागि आहार हुनेछन् ।'5 किनकि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 'शोक भएको घरमा प्रवेश नगर् । तिनीहरूका निम्ति शोक गर्न वा सहानुभूति देखाउन नजा, किनकि यी मानिसहरूबाट मैले आफ्नो शान्‍ति, मेरो अचुक प्रेम र कृपा लिएर गएको छु, यो परमप्रभुको घोषणा हो ।6 यस देशमा साना र ठूला दुवै मर्नेछन् । तिनीहरूलाई गाडिनेछैन, र कसैले पनि तिनीहरूको निम्ति शोक गर्ने वा आफूलाई काट्ने वा आफ्ना कपाल खौरनेछैन ।7 मृत्‍युको कारणले तिनीहरूलाई सान्‍त्वना दिन शोकमा कसैले पनि खानेकुरा नबाँडोस्, र तिनीहरूलाई सान्‍त्वना दिन कसैले पनि त्‍यसका बाबु वा त्‍यसकी आमालाई सान्‍त्वनाको कचौरा नदेओस् ।8 तँ खान र पिउनलाई तिनीहरूसँगै बस्‍न भोजको घरमा जानुहुँदैन ।'9 किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'हेर्, तेरै आँखाको सामु, तेरै समयमा यसै ठाउँमा मैले आनन्‍दको स्‍वर, खुसीको स्‍वर, दुलहीको स्‍वर र दुलहाको स्‍वरको अन्‍त्‍य गर्नै लागेको छु ।'10 तब तैँले यी सबै वचन यी मानिसहरूलाई भन्‍नेछस्, र तिनीहरूले तँलाई भन्‍नेछन्, 'परमप्रभुले किन हाम्रो विरुद्धमा यी सबै ठूला विपत्तिको आदेश दिनुभएको छ ? परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा हामीले गरेका अपराध र पाप के हो ?'11 त्‍यसैले तिनीहरूलाई यसो भन्, 'तिमीहरूका पुर्खाहरूले मलाई त्‍यागे र तिनीहरू अरू देवताहरूको पछि गए र पूजा गरे, र तिनीहरूको सामु निहुरे, यो परमप्रभुको घोषणा हो । तिनीहरूले मलाई त्‍यागे र र मेरो व्यवस्था पालन गरेका छैनन् ।12 तर तिमीहरूका पुर्खाहरूले भन्‍दा तिमीहरूले अझै धेरै दुष्‍ट काम गरेका छौ, किनकि हेर, प्रत्‍येक व्यक्ति आफ्नो दुष्‍ट हृदयको कठोरताद्वारा हिँडेको छ । मेरो कुरा सुन्‍ने कोही छैन ।13 त्‍यसैले यस देशबाट तिमीहरूले नचिनेको, न तिमीहरूले, न त तिमीहरूका पुर्खाहरूले चिनेको देशमा म तिमीहरूलाई फाल्नेछु, र त्‍यहाँ तिमीहरूले दिनरात अरू देवताहरूको पूजा गर्नेछौ, किनकि म तिमीहरूलाई कुनै कृपा गर्नेछैनँ ।'14 त्‍यसकारण, हेर, यो परमप्रभुको घोषणा हो, यस्ता दिन आउँदैछन्, जुन बेला फेरि यसो भनिनेछैन, 'मिश्र देशबाट इस्राएलका मानिसहरूलाई ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।'15 तर यसो भनिनेछ, 'इस्राएलका मानिसहरूलाई उत्तरको देश र उहाँले तिनीहरूलाई तितर-बितर पार्नुभएका देशहरूबाट ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।' किनकि मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु ।16 हेर, म धेरै मछुवाहरूलाई पठाउनेछु, र यसरी तिनीहरूले मानिसहरूलाई पक्रनेछन्, यो परमप्रभुको घोषणा हो । यसपछि म धेरै सिकारीहरूलाई पठाउनेछु, र तिनीहरूले पहाडहरू र पर्वतहरूका बीचमा अनि चट्टानका धाँदोमा तिनीहरूको सिकार गर्नेछन् ।17 किनकि मेरो दृष्‍टि तिनीहरूका सबै मार्गमा परेको छ । ती मेरो सामुबाट लुक्‍न सक्दैनन् । तिनीहरूका अधर्म मेरा आँखाको सामुबाट लुकाउन सकिँदैन ।18 तिनीहरूका अपराध र पापको निम्ति म तिनीहरूलाई दोब्बर दण्ड दिनेछु, किनकि तिनीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरूले मेरो देश अपवित्र पारेका छन्, र मेरो उत्तराधिकारलाई आफ्ना घिनलाग्दा मूर्तिहरूले भरेका छन् ।"19 हे परमप्रभु, तपाईं मेरो किल्ला र मेरो शरणस्थान, सङ्‌कष्‍टको दिनमा मेरो सुरक्षाको स्थान हुनुहुन्‍छ । पृथ्वीका कुनाबाट जातिहरू तपाईंकहाँ आउनेछन् र भन्‍नेछन्, "निश्‍चय नै हाम्रा पुर्खाहरूले छललाई अधिकार गरे । तिनीहरू रित्ता छन् । तिनीहरूमा कुनै लाभ छैन ।20 के मानिसहरूले आफ्नै लागि ईश्‍वरहरू बनाउँछन् र ? तर ती त ईश्‍वरहरू नै होइनन् ।"21 त्‍यसकारण हेर्, यस पटक म तिनीहरूलाई जान्‍न लगाउनेछु । म तिनीहरूलाई मेरो हात र मेरो शक्ति जान्‍न लगाउनेछु, यसरी परमप्रभु नै मेरो नाउँ हो भनेर तिनीहरूले जान्‍नेछन् ।