15
तब परमप्रभुले मलाई भन्‍नुभयो, "मोशा र शमूएल मेरो सामु खडा भए तापनि म यी मानिसहरूका पक्षमा खडा हुन्‍नँ । तिनीहरूलाई टाढा जानलाई मेरो सामुबाट तिनीहरूलाई हटाइदे ।2 यस्तो हुनेछ, तिनीहरूले तँलाई यसो भन्‍नेछन्, 'हामी कहाँ जाने ?' तब तैँले तिनीहरूलाई भन्‍नुपर्छ, 'परमप्रभु यसो भन्‍नुहुन्‍छः मृत्‍युको निम्ति साँचिएकाहरू मृत्‍युमा जानुपर्छ । तरवारको निम्ति साँचिएकाहरू तरवारमा जानुपर्छ । अनिकालको निम्ति साँचिएकाहरू अनिकालमा जानुपर्छ, र निर्वासनको निम्ति साँचिएकाहरू निर्वासनमा जानुपर्छ ।'3 म तिनीहरूलाई चार वटा समूहमा विभाजन गर्नेछु, यो परमप्रभुको घोषणा हो - केहीलाई मार्न तरवारलाई, केहीलाई घिसार्न कुकुरहरूलाई, केहीलाई स्वाहा पार्न र नष्‍ट पार्नलाई आकाशका चराहरू र जमिनका पशुहरूलाई ।4 यहूदाका राजा हिजकियाहका छोरा मनश्शेले यरूशलेममा जे गरेका थिए, त्‍यसैको कारणले म तिनीहरूलाई पृथ्वीका सबै राज्‍यका लागि एक डरलाग्दो कुरो तुल्याउनेछु ।5 ए यरूशलेम, तँलाई कसले दया देखाउनेछ ? तेरो निम्ति कसले शोक गर्नेछ ?6 तैँले मलाई त्‍यागेको छस्, यो परमप्रभुको घोषणा हो - तँ मबाट फर्केर गएको छस् । त्‍यसैले म आफ्नो हातले तँलाई प्रहार गर्नेछु र तलाई नाश पार्नेछु । तँलाई दया देखाउँदा-देखाउँदा म थकित भइसकेको छु ।7 त्‍यसैल म तिनीहरूलाई देशका मूल ढोकाहरूमा नाङ्लोले निफन्‍नेछु । म तिनीहरूलाई शोकमा पार्नेछु । मेरा मानिसहरू आफ्ना मार्गबाट नफर्कने भएकाले म तिनीहरूलाई नष्‍ट पार्नेछु ।8 म तिनीहरूका विधवाहरूको सङ्ख्या समुद्रतटको बालुवा भन्‍दा धेरै बनाउनेछु । युवाहरूका आमाहरूको विरुद्धमा म दिउँसै विनाशक पठाउनेछु । शोक र त्रासलाई तिनीहरूमा अकस्मात् आउने म बनाउनेछु ।9 सात जना सन्‍तान जन्‍माउने आमा उजाड हुनेछे । त्‍यसले उफ् उफ् गर्नेछे । दिन छँदै त्‍यसको घाम अस्ताउनेछ । त्‍यो लज्‍जित र अपमानित हुनेछे, किनकि बाँकी रहेकाहरूलाई म तिनीहरूका शत्रुहरूको उपस्थितिमा तरवारलाई दिनेछु, यो परमप्रभुको घोषणा हो ।"10 हे मेरी आमा, मलाई धिक्कार छ ! किनकि तपाईंले मलाई जन्‍म दिनुभयो, म जो देशैभरि तर्क र विवादको मानिस हुँ । मैले ऋण दिएको छैनँ, न कसैले मलाई ऋण दिएको छ, तर तिनीहरू सबैले मलाई श्राप दिन्‍छन् ।11 परमप्रभुले भन्‍नुभयो, "के म भलाइको लागि तँलाई छुटानेछैनँ र ? निश्‍चय नै सङ्‌कष्‍ट र विपत्तिको समयमा म तेरा शत्रुहरूलाई मदतको निम्ति तँसित बिन्‍ती गर्न लगाउनेछु ।12 के कसैले फलामलाई टुक्राटुक्रा पार्न सक्छ ? खास गरी, उत्तरबाट आउने काँसा मिसिएको फलामलाई ?13 म तेरा शत्रुहरूलाई तेरा धन-सम्पत्ति र खजाना सित्तैमा लूटको मालको रूपमा दिनेछु । तेरा सबै सिमानभित्र गरिएका तेरा सबै पापको कारणले म यसो गर्नेछु ।14 त्‍यसपछि तैँले नचिन्‍ने देशमा म तँलाई तेरा शत्रुहरूको सेवा गर्न लगाउनेछु, किनकि तेरो विरुद्धमा मेरो रीसमा आगो दन्कनेछ ।15 हे परमप्रभु, तपाईं जान्‍नुहुन्‍छ । मलाई सम्झनुहोस्, र सहायता गर्नुहोस् । मलाई सतावट गर्नेहरूको विरुद्धमा मेरो पक्षमा बदला लिनुहोस् । तपाईं धैर्यवान् हुनुहुन्‍छ, तर मलाई टाढा लाने अनुमति तिनीहरूलाई नदिनुहोस् । तपाईंको निम्ति मैले निन्‍दा भोग्छु भनी जान्‍नुहोस् ।16 तपाईंका वचनहरू भेट्टाइएका छन्, र मैले ती खाएँ । तपाईंका वचनहरू मेरो लागि रमाहट बने, र मेरो हृदयको आनन्‍द बने, किनकि हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर म तपाईंको नाउँ लिन्‍छु ।17 म उत्सव मनाउने वा रमाहट गर्नेहरूका बीचमा बसिनँ । तपाईंको शक्तिशाली हातको कारणले म एकान्‍तमा बसेँ, किनकि तपाईंले मलाई क्रोधले भर्नुभयो ।18 किन मेरो पीडा निरन्‍तर छ, र मेरो चोट निको हुन नमान्‍ने, निको नहुने भएको छ ? के तपाईं मेरो लागि झुक्किने खोला, सुकेर जाने खोला जस्‍तो बन्‍नुहुने छ र ?19 त्‍यसकारण परमप्रभुले यसो भन्‍नुभयो, "ए यर्मिया, तैँले पश्‍चात्ताप गरिस् भने म तँलाई पुनर्स्थापित गर्नेछु, र तँ मेरो सामु खडा हुनेछस् र मेरो सेवा गर्नेछस् । किनकि तैँले मूर्ख थोकहरूलाई मुल्यवान् थोकहरूबाट अलग गरिस् भने तँ मेरो मुख जस्‍तै हुनेछस् । मानिसहरू तँकहाँ फर्केर आउनेछन्, तर तँ आफै भने तिनीहरूकहाँ जानुहुँदैन ।20 यी मानिसहरूको निम्ति म तँलाई छेड्नै नसकिने काँसाको पर्खाल जस्‍तै बनाउनेछु, र तिनीहरूले तेरो विरुद्धमा युद्ध छेड्नेछन् । तर तिनीहरूले तँलाई पराजित गर्नेछैनन्, किनकि तँलाई बचाउन र छुटकारा दिन म तँसितै हुन्‍छु, यो परमप्रभुको घोषणा हो ।21 किनकि म तँलाई दुष्‍टहरूको हातबाट बचाउनेछु, र निर्दयीको हातबाट छुटकारा दिनेछु ।"