14
खडेरीको सम्बन्धमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो,2 "यहूदाले शोक गरोस् । त्‍यसका मूला ढोकाहरू भाँचिऊन् । तिनीहरू देशको लागि विलाप गर्दैछन् । यरूशलेमको निम्ति तिनीहरूको क्रन्‍दन माथि जाँदैछ ।3 तिनीहरूका शक्तिशाली मानिसहरूले आफ्ना नोकरहरूलाई पानीको लागि बाहिर पठाउँछन् । जब तिनीहरू कुवामा जान्‍छन् तब तिनीहरूले पानी पाउन सक्दैनन् । तिनीहरू असफल भएर फर्कन्‍छन् । तिनीहरू लज्‍जित र अपमानित भएर आफ्ना शिर ढाक्छन् ।4 देशमा पानी नपरेको हुनाले, जमिन चिराचिरा परेको छ । हलो जोत्‍नेहरू लज्‍जित भएका छन् र आफ्ना शिर ढाक्छन् ।5 घाँस नभएकोले मुडुली मृगले पनि आफ्ना बच्‍चाहरूलाई मैदानमा छोड्छ र तिनलाई त्‍यागिदिन्‍छ ।6 जङ्‌गली गधाहरू नाङ्‌गा मैदानहरूमा खडा हुन्‍छन्, र तिनीहरू स्यालझैँ हाँफ्‍छन् । हरियो खर्क नभएको कारणले तिनीहरूका आँखा तिरमिराउँछन् ।7 हे परमप्रभु, हाम्रा अधर्मले हाम्रो विरुद्धमा गवाही दिए तापनि तपाईंकै नाउँको नाम्ति काम गर्नुहोस् । किनकि हाम्रा विश्‍वासहीन कामहरू वृद्धि हुन्‍छन् । हामीले तपाईंको विरुद्धमा पाप गरेका छौँ ।8 तपाईं नै इस्राएलको आशा हुनुहुन्‍छ, जसले सङ्‌कष्‍टको समयमा त्‍यसलाई बचाउनुहुन्‍छ । पाल टाँग्‍ने र एक रातको निम्ति मात्र बस्‍ने अपरिचित परदेशी जस्‍तै तपाईं यस देशमा किन बन्‍नुहुन्‍छ ?9 तपाईं किन आश्‍चर्यमा परेको मानिसझैँ व छुटकाराको निम्ति शक्ति नभएको योद्धा जस्‍तै हुनुहुन्‍छ ? हे परमप्रभु, तपाईं हाम्रा बीचमा हुनुहुन्‍छ, र हाम्रा बीचमा तपाईंकै नाउँ पुकारिन्‍छ । हामीलाई नत्‍याग्‍नुहोस् ।10 परमप्रभु आफ्ना मानिसहरूलाई यसो भन्‍नुहुन्‍छ, "तिनीहरू बरालिन मन पराउने भएको हुनाले त्‍यसो गर्नदेखि तिनीहरूले आफ्ना खुट्टालाई रोकेका छैनन् ।" परमप्रभु तिनीहरूसित खुसी हुनुहुन्‍न । अब उहाँले तिनीहरूका अधर्म सम्झनुभएको छ, र तिनीहरूका पापलाई दण्ड दिनुभएको छ ।11 परमप्रभुले मलाई यसो भन्‍नुभयो, "यी मानिसहरूको पक्षमा भलाइको निम्ति प्रार्थना नगर् ।12 किनकि तिनीहरूले उपवास बसे भने म तिनीहरूका विलाप सुन्‍नेछैनँ, अनि तिनीहरूले होमबलि र अन्‍नबलि चढाए भने म तिनमा खुशी हुनेछैन । किनकि तरवार, अनिकाल र विपत्तिले म तिनीहरूको अन्‍त्‍य ल्याउनेछु ।"13 तब मैले भनेँ, "हे परमप्रभु परमेश्‍वर, हेर्नुहोस्, अगमवक्ताहरूले मानिसहरूलाई भन्‍दैछन्, 'तिमीहरूले तरवार देख्‍नेछैनौ । तिमीहरूका निम्ति अनिकाल पर्नेछैन, किनकि म यस ठाउँमा तिमीहरूलाई साँचो सुरक्षा दिनेछु ।'14 परमप्रभुले मलाई भन्‍नुभयो, "अगमवक्ताहरूले मेरो नाउँमा छलको अगमवाणी बोल्छन् । मैले तिनीहरूलाई पठाइनँ, न मैले तिनीहरूलाई कुनै आज्ञा दिएँ वा तिनीहरूसित बोलेँ । तर छली दर्शन र बेकम्मा, छली मन्‍त्रतन्‍त्र तिनीहरूका आफ्नै समझबाट आएका हुन्, जुन तिनीहरूले तिमीहरूलाई अगमवाणी बोल्दैछन् ।"15 त्‍यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ, "मैले नपठाएका अगमवक्ताहरू जसले मेरो नाउँमा अगमवाणी बोल्छन्, जसले यस देशमा कुनै तरवार वा अनिकाल पर्नेछैन भन्‍छन्, यी अगमवक्ताहरू तरवार र अनिकालले नष्‍ट पारिनेछन् ।16 त्‍यसपछि ती मानिसहरू जसलाई तिनीहरूले अगमवाणी बोले, तिनीहरू अनिकाल र तरवारको कारणले यरूशलेमका सडकहरूमा फ्याँकिनेछन्, किनकि त्‍यहाँ तिनीहरू, तिनीहरूका पत्‍नीहरू, छोराछोरीहरूलाई गाड्ने कोही हुनेछैनन्, किनकि म तिनीहरूका दुष्‍टता तिनीहरूमाथि नै खन्‍याउनेछु ।17 तिनीहरूलाई यो वचन भन्, ‘मेरा आँखाबाट दिनरात आँसु बगिरहोस् । त्‍यसलाई नरोक्, किनकि मेरो जातिकी कन्‍याको ठूलो विनाश हुनेछ । त्‍यसले ठूलो र निको नहुने चोट पाउनेछ ।18 म मैदानमा गएँ भने, त्‍यहाँ तरवारले मारिएकाहरू हुन्‍छन् । म सहरमा आएँ भने, त्‍यहाँ अनिकालले ल्याएका रोगहरू हुन्‍छन् । अगमवक्ता र पूजाहारी दुवै देशको यताउता बरालिन्‍छन्, र तिनीहरूलाई थाहै छैन' ।"19 के तपाईंले यहूदालाई बिलकुलै इन्कार गर्नुभएको हो ? के तपाईं सियोनलाई घृणा गर्नुहुन्‍छ ? जब हामी निको हुनुछैन भने किन तपाईं हामीलाई कष्‍ट दिनुहुन्‍छ ? हामीले शान्‍तिको आशा गर्‍यौँ, तर त्‍यहाँ कुनै असल कुरा थिएन र निको हुने समय थिएन, तर हेर्नुहोस् त्‍यहाँ त्रास मात्र छ ।20 हे परमप्रभु, हामी हाम्रा दोष, हाम्रा पुर्खाहरूका अपराध स्वीकार गर्छौं, किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौँ ।21 हामीलाई नत्‍याग्‍नुहोस् । तपाईंको नाउँको निम्ति तपाईंको महिमित सिंहासनलाई अपमानित नगर्नुहोस् । हामीसित बाँध्‍नुभएको आफ्नो करार सम्झनुहोस्, र त्‍यसलाई नतोड्नुहोस् ।22 के जातिहरूका कुनै बेकम्मा मूर्तिले वर्षा ल्याउँछ सक्छ र ? वा के आकाश आफैले झरी पठाउँछ ? हे परमप्रभु तपाईं नै हाम्रा परमेश्‍वर हुनुहुन्‍न र ? हामीले तपाईंमा प्रतीक्षा गर्छौं, किनकि यी सबै कुरा गर्नुहुने तपाईं नै हुनुहुन्‍छ ।