13
परमप्रभुले मलाई यसो भन्नुभयो, "जा र एउटा सुतीको पटुका किन्, र यसलाई तेरो कम्मरको चारैतिर बाँध, तर त्यसलाई पहिले पानीमा नभिजा ।"2 परमप्रभुले निर्देशन दिनुभएझैँ मैले एउटा पटुका किनेँ र त्यसलाई मेरो कम्मरको चारैतिर बेह्रेँ ।3 तब दोस्रो पटक परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,4 "तैँले किनेको पटुका जुन तेरो कम्मरको चारैतिर बाँधिएको छ, त्यसलाई निकाल्, र उठ र परातमा जा । त्यहाँ चट्टानको धाँदोमा त्यसलाई लुका ।"5 त्यसैले जसरी परमप्रभुले मलाई आज्ञा दिनुभएको थियो त्यसरी नै म गएँ र त्यसलाई परातमा लुकाएँ ।6 धेरै दिनपछि परमप्रभुले मलाई भन्नुभयो, "खडा हो र परातमा फर्केर जा । मैले तँलाई लुकाउन भनेको त्यो पटुका लिएर आइज ।"7 त्यसैले म परातमा फर्केर गएँ, र मैले लुकाएको ठाउँबाट त्यसलाई खनेर झिकेँ, र हेर, त्यो त नष्ट भएको र पूर्ण रूपमा बेकम्मा भएको थियो ।8 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,9 "परमप्रभु यसो भन्नुहुन्छ, 'त्यसरी नै यहूदा र यरूशलेमको ठूलो अहंकारलाई म नाश गर्नेछु ।10 मेरो वचन सुन्न इन्कार गर्ने, आफ्नो हृदयको कठोरतामा हिँड्ने, अरू देवताहरूको पूजा गर्न तिनीहरूका पछि जाने र तिनीहरूको सामु निहुरने यो दुष्ट जाति त्यही पटुका जस्तै हुनेछ, जसको कुनै काम छैन ।11 जसरी एउटा पटुका कसैको कम्मरमा कसिएको हुन्छ, त्यसरी नै मैले इस्राएलका सबै घराना र यहूदाका सबै घरानालाई मेरो जाति हुन, मेरो नाउँ राख्न, मलाई इज्जत, प्रशंसा र आदर गर्न ममा कसिन लगाएको छु, यो परमप्रभुको घोषणा हो । तर तिनीहरूले मेरो कुरा सुन्दैनन् ।'12 त्यसैले तैँले यो वचन तिनीहरूलाई भन्नुपर्छ, 'परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः हरेक मशक दाखमद्यले भरिनेछ ।' तिनीहरूले तँलाई भन्नेछन्, 'हरेक मशक दाखमद्यले भरिनेछ भनेर के हामीलाई थाहा छैन र ?'13 त्यसैले तिनीहरूलाई भन्, 'परमप्रभु यसो भन्नुहुन्छः हेर, यस देशको हरेक बासिन्दा अर्थात् दाऊदको सिंहासनमा बस्ने राजाहरू, पूजाहारीहरू, अगमवक्ताहरू र यरूशलेमका सबै बासिन्दाहरूलाई मैले पियक्कडपनले भर्न लागेको छु ।14 तब प्रत्येक मानिसलाई अर्कोको विरुद्धमा, बुबाहरूलाई छोराछोरीहरूका विरुद्धमा नष्ट पार्न लगाउनेछु, यो परमप्रभुको घोषणा हो, म तिनीहरूलाई दया देखाउने वा टिठ्यानेछैनँ, र तिनीहरूलाई विनाशबाट जोगाउनेछैनँ ।'15 सुन, र ध्यान देओ । अहंकारी नहोओ, किनकि परमप्रभुले बोल्नुभएको थियो ।16 परमप्रभु तिमीहरूका परमेश्वरले अन्धकार ल्याउनुअगि र उहाँले तिमीहरूका खुट्टा अँध्यारोमा पहाडहरूमा ठेस लगाउनु अगि उहाँलाई आदर देओ । किनकि तिमीहरू ज्योतिको खोजी गर्दैछौ, तर उहाँले त्यस ठाउँलाई घोर अन्धकार, बाक्लो बादलमा परिणत गर्नुहुनेछ ।17 त्यसैले तिमीहरूले सुनेनौ भने, तिमीहरूको अहंकारको कारणले म एक्लै रुनेछु । निश्चय नै म रुनेछु, र मेरा आँखाबाट आँसुका धारा बग्नेछन्, किनकि परमप्रभुको बगाल कैदमा लगिएको छ ।18 "राजा र राजमातालाई भन्, 'आ-आफ्नो सिंहासनबाट ओर्लेर तल आओ, किनकि तिमीहरूका गौरवशाली मुकुटहरू तिमीहरूका शिरबाट खसेका छन् ।'19 नेगेवका सहरहरू थुनिनेछन् । तिनलाई खोल्ने कोही हुनेछैन । सारा यहूदा कैदमा लगिनेछन् । पूर्ण रूपमा कैदमा लगिनेछन् ।20 आफ्ना आँखा उठाओ र उत्तरबाट आइरहेकाहरूलाई हेर् । उहाँले तँलाई दिनुभएको बगाल, तेरो लागि साह्रै सुन्दर बगाल कहाँ छ ?21 तैँले तालिम दिएकाहरूलाई नै तेरा खास मित्रहरू हुन परमेश्वरले तँमाथि राख्नुहुँदा तैँले के भन्नेछस् ? के यी एउटी स्त्रीले प्रसववेदनामा पीडा भोगे जस्तै तैँले भोग्ने पीडाको थालनी होइन र ?22 तब तैँले आफ्नो हृदयमा भन्लास्, 'यी कुरा ममाथि किन आइरहेका छन् ?' तेरा अपराधको थुप्रोको कारणले तेरो फरिया उचालिएको छ, र तँलाई कुव्यवहार गरिएको छ ।23 के कूशका मानिसहरूले आफ्नो छालाको रङ्ग बदल्न सक्छन् र, वा चितुवाले आफ्नो छालाको थोप्ला बदल्न सक्छ र ? त्यसो हो भने, दुष्टताको निम्ति बानी परेको तैँले पनि भलाइ गर्न सक्छस् ।24 मरुभूमिको बतासमा उडाइने भुस जस्तै म तिनीहरूलाई तितर-बितर पार्नेछु ।25 मैले तँलाई यही कुरा दिएको छु, तेरो निम्ति मैले आदेश दिएको हिस्सा यही हो, यो परमप्रभुको घोषणा हो, किनकि तैँले मलाई भुलेको छस् र छलमाथि भरोसा गरेको छस् ।26 त्यसैले म आफैले पनि तेरो फरिया उठाउनेछु, र तेरो गुप्ताङ्ग देखिनेछ ।27 मैले तेरो व्यभिचार, हिनहिनाइ, डाँडाहरू र मैदानहरूमा भएको तेरो वेश्यावृत्तिको दुष्टता देखेको छु, र यी घृणित कुराहरू मैले देखेको छु । ए यरूशलेम, तँलाई धिक्कार ! तँलाई फेरि शुद्ध हुन कति समय लाग्नेछ ?"