12
हे परमप्रभु, मैले तपाईंकहाँ विवाद ल्याउँदा तपाईं धर्मी हुनुहुन्‍छ । मैले गुनासो गर्नुपर्ने कारण निश्‍चय पनि मैले तपाईंलाई बताउनुपर्छः किन दुष्‍टका मार्गहरू सफल हुन्‍छन् ? सबै विश्‍वासहीन मानिसहरू सफल छन् ।2 तपाईंले तिनीहरूलाई रोप्‍नुभयो, र तिनीहरूले जरा हाले । तिनीहरूले निरन्‍तर फल फलाउँछन् । तिनीहरूका मुखमा तपाईं तिनीहरूको नजिक हुनुहुन्‍छ, तर तिनीहरूका हृदयबाट धेरै टाढा हुनुहुन्‍छ ।3 तापनि हे परमप्रभु, तपाईंले मलाई जान्‍नुहुन्‍छ । तपाईंले मलाई देख्‍नुहुन्‍छ, र तपाईंप्रतिको मेरो हृदयलाई जाँच गर्नहुन्‍छ । मारिनलाई लगिने भेडा जस्‍तै तिनीहरूलाई लैजानुहोस्, र मारिने दिनको लागि तिनीहरूलाई अलग गर्नुहोस् ।4 देश कहिलेसम्म सुक्खा भइरहन्‍छ, यसका बासिन्‍दाहरूको दुष्‍टताको कारणले हरेक खेतका बोटबिरुवा ओइलाउँछन् ? पशुहरू र चराहरू लगिएका छन् । वास्तवमा मानिसहरू भन्‍छन्, "हामीमाथि के भएको छ, सो परमेश्‍वरले देख्‍नुहुन्‍न ।"5 परमप्रभुले भन्‍नुभयो, "वास्तवमा, तँ यर्मिया पैदल हिँड्ने सिपाहीहरूसित दगुरेको भए, र तिनीहरूले तँलाई थकाएका भए, तैँले कसरी घोडाहरूको विरुद्धमा प्रतिस्पर्धा गर्न सक्छस् ? तँ सुरक्षित पाखामा खसेको छस् भने, यर्दननेरका झाडीहरूमा तैँले के गर्नेछस् ?6 किनकि तेरै दाजुभाइ र तेरै बुबाको परिवारले तँलाई धोका दिएका अनि खुलेआम कराएर तँलाई इन्कार गरेका छन् । तिनीहरूले तँलाई राम्रा कुराहरू गरे तापनि तिनीहरूमाथि भरोसा नगर् ।7 मैले आफ्नो घरलाई त्‍यागेको छु । मैले मेरो पैतृक-सम्पत्तिलाई इन्कार गरेको छु । मैले मेरी प्रियलाई उसका शत्रुहरूका हातमा सुम्पेको छु ।8 मेरो उत्तराधिकार मेरो निम्ति झाडीमा भएको सिंह जस्‍तै भएको छ । त्‍यो आफ्नै आवाजले त्‍यसले मलाई गर्जन्‍छ, त्‍यसैले म त्‍यसलाई घृणा गर्छु ।9 के मैले मूल्य तिरेको उत्तराधिकार छिरबिरे सिकारी चरा जस्‍तै बनेको छैन, जसका विरुद्धमा अरू सिकारी चराहरू आइलाग्छन् ? जा र सबै जङ्‌गली जनावरहरूलाई जम्मा गर्, र त्‍यसलाई निल्न तिनीहरूलाई लिएर आइज ।10 धेरै गोठालाहरूले मेरो दाखबारीलाई नष्‍ट पारेका छन् । तिनीहरूले मेरो खेतको भागलाई कुल्चेका छन् । मेरो खुशीको भागलाई तिनीहरूले उजाड-स्थान, निर्जन मरुभूमिमा परिणत गरेका छन् ।11 तिनीहरूले त्‍यसलाई उजाड पारेका छन् । म त्‍यसको निम्ति शोक गर्छु । त्‍यो उजाड छ । सारा देश उजाड पारिएको छ, किनकि यसलाई हृदयमा लिने कोही छैन ।12 विनाशकहरू उजाड-स्थानका सबै नाङ्‌गा स्थानहरूको विरुद्धमा आएका छन्, किनकि परमप्रभुको तरवारले तिनीहरूलाई देशको एउटा छेउदेखि अर्को छेउसम्म नाश पार्दै छ । देशमा कुनै पनि जीवित प्राणीको लागि सुरक्षा छैन ।13 तिनीहरूले गहूँ रोपेका छन्, तर काँढा कटनी गरेका छन् । तिनीहरू काम गरेर थकित भएका छन्, तर केही आर्जन गरेका छैनन् । त्‍यसैले परमप्रभुको क्रोधको कारणले तिमीहरूको आर्जनप्रति लज्‍जित होओ ।14 मैले आफ्ना मानिसहरू इस्राएललाई उत्तराधिकारको रूपमा दिएको कुरामा प्रहार गर्ने मेरा सबै दुष्‍ट छिमेकीका विरुद्धमा परमप्रभु यसो भन्‍नुहुन्‍छ, "हेर, तिनीहरूको आफ्नै भूमिबाट जरैदेखि तिनीहरूलाई उखेल्ने लागेको मैले नै हो र यहूदाको घरानालाई म तिनीहरूका बीचबाट माथि तान्‍नेछु ।15 त्‍यसपछि म ती जातिहरूलाई जरैदेखि उखेलेपछि म तिनीहरूलाई दया देखाउनेछु, र तिनीहरूलाई फर्काएर ल्याउनेछु । म हरेक मानिसलाई त्‍यसको आफ्नै उत्तराधिकार र देशमा फर्काएर ल्याउनेछु ।16 तिनीहरूले मेरा मानिसहरूलाई बाल देवताको नाउँमा शपथ खान सिकाएझैँ तिनीहरूले 'जीवित परमप्रभुको नाउँमा' शपथ खान सिकाएर ती जातिहरूले मेरा मानिसहरूका मार्गलाई होशियारीपूर्वक सिके भने, तिनीहरू मेरा मानिसहरूका बीचमा स्थापित हुनेछन् ।17 तर कुनै जातिले सुनेन भने म त्‍यसलाई जरैदेखि उखेल्नेछु । त्‍यो निश्‍चय नै जरैदेखि उखेलिनेछ, र नष्‍ट गरिनेछ, यो परमप्रभुको घोषणा हो ।"