11
परमप्रभुबाट यर्मियाकहाँ यसो भनेर वचन आयो,2 "यस करारका वचनहरूलाई सुन्, अनि यहूदाका हरेक मानिस र यरूशलेमका बासिन्‍दाहरूलाई ती घोषणा गर् ।3 तिनीहरूलाई भन्, 'परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छः यस करारका वचनहरू नसुन्‍ने जोसुकै श्रापित होस् ।4 मैले तिमीहरूका पुर्खाहरूलाई मिश्र देश अर्थात् फलाम पगाल्ने भट्टीबाट ल्याएको दिनमा यो करारको पालन गर्न आज्ञा दिएको थिएँ । मैले भनेँ, "मेरो आवाजलाई सुन र मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै कुरा पालन गर, किनकि तिमीहरू मेरो जाति हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु ।"5 मेरो आज्ञापालन गर ताकि दूध र मह बग्‍ने देश दिनेछु भनी मैले तिमीहरूका पुर्खाहरूसित खाएको शपथ म पूरा गरूँ' ।" तब म यर्मियाले जवाफ दिएँ र भनेँ, "हे, परमप्रभु हवस् ।"6 परमप्रभुले मलाई भन्‍नुभयो, "यहूदाका सहरहरू र यरूशलेमका सडकहरूका यी सबै कुराको घोषणा गर् । यसो भन्, 'यस करारका वचनहरूलाई सुन र तिनलाई कार्यावन्‍यन गर ।7 किनकि मैले तिमीहरूका पुर्खाहरूलाई मिश्र देशबाट ल्याएको दिनदेखि वर्तमान समयसम्म निरन्‍तर रूपमा तिनीहरूलाई चेताउनी दिँदै र "मेरो आवाज सुन" भन्‍दै गम्भीर आज्ञाहरू दिँदै आएको छु ।8 तर तिनीहरूले सुनेनन्, वा ध्‍यानै दिएनन् । हरेक व्यक्ति आफ्नै दुष्‍ट हृदयको कठोरतामा हिँडिरहेको छ । त्‍यसैले यस करारमा मैले तिनीहरूलाई आज्ञा गरेका सबै श्राप मैले तिनीहरूका विरुद्धमा ल्याएँ । तर मानिसहरूले अझै पनि आज्ञा मानेनन्' ।"9 त्‍यसपछि परमप्रभुले मलाई भन्‍नुभयो, "यहूदाका मानिसहरू र यरूशलेमका बासिन्‍दाहरूका बीचमा भएको एउटा षड्‌यन्‍त्र पत्ता लागेको छ ।10 तिनीहरू आफ्ना पहिलेका पुर्खाहरूका अधर्मतर्फ लागेका छन्, जसले मेरो वचन सुन्‍न इन्कार गरी अरू देवताहरूको पूजा गर्न तिनीहरूको पछि लागे । इस्राएलको घराना र यहूदाको घरानाले मैले तिनीहरूका पुर्खाहरूसित स्थापित गरेको मेरो करार तोडे ।"11 त्‍यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ, "हेर, मैले तिनीहरूमाथि यस्तो विपत्ति ल्याउनै लागेको छु, जुन विपत्तिबाट तिनीहरू भाग्‍न सक्‍ने छैनन् । तब तिनीहरूले मेरो पुकारा गर्नेछन्, तर म तिनीहरूको कुरा सुन्‍नेछैनँ ।12 यहूदाका सहरहरू र यरूशलेमका बासिन्‍दाहरू जानेछन्, र तिनीहरूले भेटी चढाएका देवताहरूलाई पुकार्नेछन्, तर तिनीहरूको विपत्तिको समयमा निश्‍चय पनि तिनीहरू ती देवताहरूद्वारा बचाइनेछैनन् ।13 किनकि तँ यहूदाले तेरा देवताहरूको सङ्ख्या वृद्धि गरेर तेरा सहरहरूको सङ्ख्या बराबर तुल्याएको छस् । तैँले यरूशलेममा त्‍यसका सडकहरूको सङ्ख्या जत्तिकै धेरै लज्‍जास्पद वेदीहरू, बाल देवताको निम्ति धूप बाल्ने वेदीहरू बनाएको छस् ।14 त्‍यसैले ए यर्मिया, तँ आफूले यी मानिसहरूको निम्ति प्रार्थना नचढा । तिनीहरूको पक्षमा तैँले विलाप वा बिन्‍ती गर्नु हुँदैन । किनकि तिनीहरूले आफ्नो विपत्तिमा मलाई पुकारा गर्दा म तिनीहरूको पुकारा सुन्‍नेछैन ।15 मेरी प्रिय जससित धेरै दुष्‍ट मनसाय थिए, त्‍यो किन मेरो मन्‍दिरमा छे ? तेरा बलिदानहरूको मासुले तँलाई मदत गर्न सक्दैन । तेरा दुष्‍ट कामहरूको कारणले तँ आनन्‍द मनाउँछस् ।16 विगतमा परमप्रभुले तँलाई झ्याम्म परेको जैतूनको रूख, रहरलाग्दो फल भएको सुन्‍दर रूख भन्‍नुभयो । तर उहाँले यसमा आगो सल्काउनुहुनेछ, जुन आँधीबेहरीको गर्जन जस्‍तो सुनिनेछ । यसका हाँगाहरू भाँचिनेछन् ।17 इस्राएलको घराना र यहूदाको घरानाले गरेका दुष्‍ट कामहरूको कारणले तिमीहरूलाई रोप्‍नुहुने सर्वशक्तिमान् परमप्रभुले तिमीहरूको विरुद्धमा विपत्तिको आदेश दिनुभएको छ - तिनीहरूले बाल देवतालाई भेटीहरू चढाएर मलाई रीस उठाएका छन् ।"18 परमप्रभुले मलाई यी कुराहरू अवगत गराउनुभयो, त्‍यसैले म यी जान्‍दछु । हे परमप्रभु, तपाईंले नै मलाई तिनीहरूका कामहरू देखाउनुभयो ।19 म त कसाइकहाँ लगिँदै गरेको अबोध थुमा जस्‍तै थिएँ । तिनीहरूले मेरो विरुद्धमा यस्तो योजना रचेका थिए भनी मलाई थाहा थिएन, "रूखलाई त्‍यसको फलसमेत नष्‍ट पारौँ । फेरि त्‍यसको नाउँ नै नसम्झने गरी त्‍यसलाई जीवितहरूको देशबाट निष्काशित गरौँ ।"20 तापनि सर्वशक्तिमान् परमप्रभु धार्मिक न्‍यायाधीश हुनुहुन्‍छ जसले हृदय र मनको जाँच गर्नहुन्‍छ । तिनीहरूको विरुद्धमा तपाईंको बदलाको म साक्षी बन्‍नेछु किनकि मैले मेरो विषय तपाईंको सामु पेश गरेको छु ।21 त्‍यसकारण परमप्रभु तेरो प्राण लिन खोज्‍ने अनातोतका मानिसहरूको सम्बन्धमा यसो भन्‍नुहुन्‍छ, "तिनीहरू भन्‍छन्, 'तैँले परमप्रभुको नाउँमा अगमवाणी बोल्नु हुँदैन, नत्रता तँ हाम्रा हातबाट मर्नेछस् ।'22 त्‍यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छ, 'हेर, मैले तिनीहरूलाई दण्ड दिनै लागेको छु । तिनीहरूका हट्टाकट्टा युवाहरू तरवारले मारिनेछन् । तिनीहरूका छोराहरू र छोरीहरू अनिकालद्वारा मर्नेछन् ।23 तिनीहरूमध्‍ये कोही पनि छाडिनेछैन, किनकि म अनातोतका मानिसहरूको विरुद्धमा विपत्ति ल्याउँदैछु, जुन तिनीहरूको दण्डको वर्ष हुनेछ' ।"