10
हे इस्राएलका घराना हो, परमप्रभुले तिमीहरूलाई घोषणा गरिरहनुभएको वचन सुन ।2 परमप्रभु यसो भन्‍नुहुन्‍छ, "जाति-जातिहरूका चाल नसिक, र आकाशका चिन्हहरूदेखि भयभीत नहोओ किनकि जातिहरू यसबाट भयभीत हुन्‍छन् ।3 किनकि यी मानिसहरूका धार्मिक प्रचलनहरू बेकम्मा छन् । तिनीहरू जङ्‌गलमा भएको एउटा रूख काट्छन्, र कारीगरले काठको मूर्ति बनाउँछ ।4 त्‍यसपछि तिनीहरूले सुन र चाँदीले त्‍यसलाई सजाउँछन् । त्‍यो नढलोस् भनेर तिनीहरूले त्‍यसलाई घन र किल्लाले ठोक्दछन् ।5 तिनीहरूले हातले बनाएको कुरो काँक्रोको बारीमा राखिने पुतला जस्‍तो हो, किनकि तिनीहरूले पनि केही भन्‍न सक्दैनन्, र तिनीहरू हिँड्न नसक्‍ने भएका हुनाले तिनलाई बोक्‍नुपर्छ । तिनीहरूदेखि नडराओ, किनकि तिनीहरूले खराबी ल्याउन सक्दैनन्, न त तिनीहरूले कुनै भलाइ नै गर्न सक्छन् ।6 हे परमप्रभु, तपाईं जस्‍तो कोही पनि छैन । तपाईं महान् हुनुहुन्‍छ, र तपाईंको नाउँ शक्तिमा महान् छ ।7 हे जातिहरूका महाराजा, तपाईंदेखि को डराउँदैन र ? तपाईं यसैको लागि योग्य हुनुहुन्‍छ, किनकि जातिहरूका सबै बुद्धिमान् मानिसहरू र तिनीहरूका सबै राज्‍यहरूका बीचमा तपाईं जस्‍तो कोही पनि छैन ।8 तिनीहरू सबै उस्तै छन् । तिनीहरू बुद्धिहीन र मूर्ख छन् । तिनीहरू मूर्तिका चेलाहरू हुन् जुन काठबाहेक केही पनि होइन ।9 तर्शीशबाट पिटिएका चाँदी अनि उपज देशबाट सुनारहरू, शुद्ध पार्नेका हातद्वारा बनाइएका सुन तिनीहरूले ल्याउँछन्, तिनीहरूका वस्‍त्रहरू नीलो र बैजनी कपडा हुन् । तिनीहरूका सिपालु मानिसहरूले यी सबै कुरा बनाए ।10 तर परमप्रभु नै साँचो परमेश्‍वर हुनुहुन्‍छ । उहाँ नै जीवित परमेश्‍वर र अनन्‍तका राजा हुनुहुन्‍छ । उहाँको रीसमा पृथ्वी हल्लिन्‍छ, र जातिहरूले उहाँको रीस सहन सक्दैनन् ।11 तपाईं तिनीहरूसित यसरी बोल्नुहुन्‍छ, "स्वर्ग र पृथ्वी नबनाउने देवताहरू पृथ्वीबाट र यी स्‍वर्गहरूमुनिबाट नष्‍ट हुनेछन् ।"12 तर उहाँले पृथ्वीलाई आफ्नो शक्तिले बनाउनुभयो, र उहाँले आफ्नो बुद्धिले संसार स्थापित गर्नुभयो, र आफ्नो समझशक्तिले आकाशलाई फैलाउनुभयो ।13 उहाँको आवाजले आकाशमा पानीको गर्जन ल्याउँछ, र उहाँले पृथ्वीको कुनाबाट तुसारो ल्याउनुहुन्‍छ । उहाँले वर्षाको लागि चट्‌याङ पार्नुहुन्‍छ, र आफ्नो भण्डारबाट बतास पठाउनुहुन्‍छ ।14 हरेक मानिस ज्ञानबिना अज्ञानी भएको छ । धातुको काम गर्ने हरेक आफ्ना मूर्तिहरूबाट नै लाजमा परेको छ । किनकि त्‍यसले बनाएका मूर्तिहरू झूटा हुन् । तिनमा जीवन छैन ।15 ती बेकम्मा छन्, गिल्ला गर्नेहरूको काम हुन् । तिनीहरूको दण्डको समयमा तिनीहरू नष्‍ट हुनेछन् ।16 तर परमेश्‍वर जो याकूबको हिस्सा हुनुहुन्‍छ, उहाँ ती जस्ता हुनुहुन्‍न, किनकि उहाँ त सबै कुराका निर्माणकर्ता हुनुहुन्‍छ । इस्राएल उहाँको उत्तराधिकारको कुल हो । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।17 ए घेराबन्‍दीमा बाँचेका मानिसहरू हो, आ-आफ्नो पोकोपन्‍तरो जम्मा गर र देश छोड ।18 किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ, "हेर्, यस बेला यो देशका बासिन्‍दाहरूलाई मैले बाहिर फाल्न लागेको छु । म तिनीहरूमाथि सङ्‌कष्‍ट ल्याउनेछु, र तिनीहरूले यस्तै भएको भेट्टाउनेछन् ।19 मलाई धिक्कार छ ! मेरा हड्‌डी भाँचिएका हुनाले मेरो चोट सङ्‌क्रमित भएको छ । त्‍यसैले मैले भनेँ, "निश्‍चय नै यो वेदना हो, तर मैले त्‍यो सहनैपर्छ ।20 मेरो पाल तहस-नहस पारिएको छ, र मेरा पालका सबै डोरी दुई टुक्रा पारेर काटिएका छन् । तिनीहरूले मेरा छोराछोरीहरूलाई मबाट टाढा लगेका छन्, त्‍यसैले तिनीहरू अब छैनन् । मेरो पाल टाँग्‍न वा मेरा पर्दाहरू उठाउन त्‍यहाँ अब फेरि कोही छैन ।21 किनकि गोठालाहरू मूर्ख छन्, र तिनीहरूले परमप्रभुको खोजी गर्दैनन् । त्‍यसैले तिनीहरूको उन्‍नति भएको छैन, र तिनीहरूका सबै बगाल तितर-बितर भएका छन् ।22 समाचारको खबर आएको छ, "हेर, यहूदाका सहरहरूलाई उजाड पारेर स्यालहरूका लुक्‍ने ठाउँ बनाउनलाई उत्तरको देशबाट एउटा ठूलो भूकम्प आउँदै छ ।23 हे परमप्रभु, म जान्‍दछु, मानिसको चाल ऊ आफैबाट आउँदैन । हिँडिरहेको कुनै पनि व्यक्तिले आफ्ना कदमहरूलाई निर्देशन दिँदैन ।24 हे परमप्रभु, मलाई न्‍यायले अनुशासित गर्नुहोस्, तपाईंको रीसमा होइन, नत्रता तपाईंले मलाई नष्‍ट गर्नुहुनेछ ।25 तपाईंले नचिन्‍ने जातिहरू र तपाईंको नाउँ नपुकार्ने परिवारहरूमाथि तपाईंको क्रोध खन्‍याउनुहोस् । किनकि तिनीहरूले याकूबलाई निलेका छन् र भस्‍म पारेका छन् यसरी उसलाई पूर्ण रूपमा नास पारेका र उसको वासस्थानलाई उजाड पारेका छन् ।