63
उहाँ को हुनुहुन्‍छ जो एदोमबाट, बोज्राबाट रातो पहिरनमा आउनुहुन्‍छ ? जो आफ्नो महान् सामर्थ्यको कारणले राजकीय पोशाकमा रवाफका साथ आउँदै हुनुहुन्‍छ ? धार्मिकतामा बोल्ने र बचाउनलाई शक्तिशाली रूपमा सक्षम म नै हुँ ।2 तपाईंका पोशाकहरू किन राता छन् र तपाईंले दाखको कोलमा दाख पेल्नुभएको जस्‍तो ती किन देखिन्‍छन् ?3 मैले दाखको कोलमा एक्लै दाख पेलेको छु, र जातिहरूबाट कोही पनि मसँग सहभागी भएनन् । मैले आफ्नो क्रोधमा तिनीहरूलाई पेलेँ र आफ्नो रीसमा तिनीहरूलाई कुल्चेँ । तिनीहरूका रगत मेरो लुगाहरूमा छ्यापिएका छन् र मेरा सबै लुगाहरूमा दाख लागेको छ ।4 किनकि मैले बदला लिने दिनको आशा गरेँ र मेरो उद्धारको वर्ष आइपुगेको थियो ।5 मैले हेरेँ र सहायता गर्ने कोही एक जना पनि थिएन । सहायता गर्नलाई त्‍यहाँ कोही एक जना पनि नभएको देखेर म छक्क परेँ, तर मेरो आफ्नै हातले मेरो निम्ति विजय ल्यायो र मेरो कडा रीसले मलाई डोर्‍यायो ।6 आफ्नो क्रोधमा मैले मानिसहरूलाई कुल्चेँ र तिनीहरूलाई मेरो क्रोधमा पिउन लगाएँ । अनि तिनीहरूका रगतलाई मैले पृथ्वीमा खन्‍याएँ ।7 परमप्रभुको करारको विश्‍वस्तताका कामहरू र परमप्रभुको प्रशंसायोग्य कामहरू म भन्‍नेछु । परमप्रभुले हाम्रा निम्ति गर्नुभएको सबै काम र इस्राएलको घरानाप्रति उहाँका महान् भलाइको बारेमा म भन्‍नेछु । उहाँको दया र करारको विश्‍वस्तताका धेरै वटा कामहरूका कारणले उहाँले यो दया हामीलाई देखाउनुभएको छ ।8 किनकि उहाँले भन्‍नुभयो, "निश्‍चय नै तिनीहरू मेरा मानिसहरू हुन्, छोराछोरीहरू जो बेइमान छैनन् ।" उहाँ तिनीहरूका मुक्तिदाता हुनुभयो ।9 तिनीहरूका सबै कष्‍टहरूद्वारा उहाँले पनि कष्‍ट भोग्‍नुभयो, र उहाँको उपस्थितिको स्वर्गदूतले तिनीहरूलाई बचायो । आफ्नो प्रेम र दयामा उहाँले तिनीहरूलाई बचाउनुभयो र उहाँले तिनिहरूलाई माथि उठाउनुभयो र सारा प्राचीन समयभरि तिनीहरूलाई बोक्‍नुभयो ।10 तर तिनीहरूले विद्रोह गरे र पवित्र आत्मालाई दुःखी तुल्याए । यसरी उहाँ तिनीहरूका शत्रु हुनुभयो र तिनीहरूका विरुद्धमा युद्ध गर्नुभयो ।11 उहाँका मानिसहरूले मोशाको प्राचीन समयको बारेमा विचार गरे । तिनीहरूले भने, "परमेश्‍वर कहाँ हुनुहुन्‍छ जसले आफ्ना बथानका गोठालाहरूसँगै तिनीहरूलाई समुद्रबाट ल्याउनुभयो ? परमेश्‍वर कहाँ हुनुहुन्‍छ जसले आफ्नो पवित्र आत्मा तिनीहरूका बीचमा राख्‍नुभयो ?12 परमेश्‍वर कहाँ हुनुहुन्‍छ जसले मोशाको दाहिने हातसँगै आफ्नो महिमित शक्ति जान दिनुभयो र आफ्नो निम्ति अनन्‍तको नाउँ बनाउन तिनीहरूका सामु भएको पानीलाई विभाजन गर्नुभयो ?13 परमेश्‍वर कहाँ हुनुहुन्‍छ जसले तिनीहरूलाई गहिरो पानीबाट डोर्‍याउनुभयो ? मैदानमा घोडा दौडेझैँ, तिनीहरूले ठेस खाएनन् ।14 गाइवस्तु बेँसीमा झरेझैँ, परमप्रभुको आत्माले तिनीहरूलाई विश्राम दिनुभयो । यसरी आफ्नो निम्ति प्रशंसाको नाउँ बनाउनलाई तपाईंले आफ्ना मानिसहरूलाई डोर्‍याउनुभयो ?15 स्वर्गबाट तल हेर्नुहोस् र आफ्नो पवित्र र महिमित वासस्थानबाट दृष्‍टि लगाउनुहोस् । तपाईंको जोश र तपाईंको शक्तिशाली कामहरू कहाँ छन् ? तपाईंको दया र तपाईंको कृपापूर्ण कामहरू हामीबाट अलग राखिएका छन् ।16 किनकि तपाईं हाम्रा पिता हुनुहुन्‍छ । अब्राहामले हामीलाई नचिने र इस्राएलले हामीलाई नचिने तापनि, तपाईं परमप्रभु हाम्रो पिता हुनुहुन्‍छ । प्राचीन समयदेखि तपाईंको नाउँ 'हाम्रा उद्धारक' हो ।17 हे परमप्रभु, हामीलाई किन तपाईंको मार्गहरूबाट तर्कने र हाम्रा हृदयहरूलाई कठोर पार्ने बनाउनुहुन्‍छ, ताकि हामी तपाईंका आज्ञापालन नगरौँ ? तपाईंको सेवक, तपाईंको उत्तराधिकारका कुलहरूका निम्ति फर्कनुहोस् ।18 तपाईंका मानिसहरूले तपाईंको पवित्र ठाउँलाई छोटो समय अधिकार गरे, तर हाम्रा शत्रुहरूले त्‍यसलाई कुल्चे ।19 हामी त तपाईंले हामीमाथि कहिल्यै शासन नगर्नुभए जस्‍तो र तपाईंको नाउँद्वारा कहिल्यै नबोलाइए जस्‍तै भएका छौँ ।"