62
किनकि सियोनको खातिर म चूप लाग्‍नेछैन र यरूशलेमको खातिर म मौन रहनेछैन, जबसम्म त्‍यसको धार्मिकता चहकिलो रूपमा बढ्दैन र त्‍यसको उद्धार दन्केको एउटा राँकोझैँ हुँदैन ।2 जातिहरूले तेरो धार्मिकता र राजाहरूले तेरो महिमा देख्‍नेछन् । परमप्रभुले चुन्‍नुहुने नयाँ नाउँले तँलाई बोलाइनेछ ।3 परमप्रभुको हातमा तँ एउटा सुन्‍दरताको मुकुट र आफ्नो परमेश्‍वरको हातमा राजकीय मुकुट हुनेछस् ।4 तेरो बारेमा कदापि "त्‍यागिएकी" भनिनेछैन । न त तेरो देशलाई फेरि कहिलै "उजाड" भनिनेछ । तँलाई साँच्‍चै, "त्‍यससँग म खुसी छु" र तेरो देशलाई "विवाहित" भनिनेछ, किनकि परमप्रभु तँमा खुसी हुनुहुन्‍छ र तेरो देश विवाहित हुनेछ ।5 साँच्‍चै एक जना जवान मानिसले जवान स्‍त्रीलाई विवाह गरेझैँ, तेरा छोराहरूले तँलाई विवाह गर्नेछन् । अनि एक जना दुलहा आफ्नी दुलहीसँग आनन्‍दित भएझैँ तेरा परमेश्‍वर तँसित आनन्‍दित हुनुहुनेछ ।6 ए यरूशलेम, मैले तेरा पर्खालहरूमा रक्षकहरू राखेको छु । तिनीहरू दिनरात चूप बस्दैनन् । तिमीहरू जो परमप्रभुलाई पुकार्छौ, विश्राम नलेओ ।7 उहाँले यरूशलेमलाई पुनःस्थापना गरेर र पृथ्वीमा यसलाई प्रशंसा नबनाएसम्म उहाँलाई विश्राम गर्न नदेओ ।8 परमप्रभुले आफ्नो दाहिने बाहुली र आफ्नो सामर्थ्यद्वारा शपथ खानुभएको छ, "निश्‍चय नै तेरो अन्‍न तेरो शत्रुहरूलाई म फेरि दिनेछैन । विदेशीहरूले तेरो नयाँ दाखमद्य पिउनेछैनन्, जसको निम्ति तैँले काम गरेको छस् ।9 कटनी गर्नेहरूले त्‍यो खानेछन् र परमप्रभुको प्रशंसा गर्नेछन् । अनि दाख टिप्‍नेहरूले मेरो पवित्रस्थानको चोकमा दाखमद्य पिउनेछन् ।10 ढोकाबाट आओ, ढोकाबाट आओ ! मानिसहरूको निम्ति बाटो तयार पार ! यसलाई निर्माण गर, मूल बाटो बनाओ ! ढुङ्‌गाहरू बटुल ! जातिहरूको निम्ति सङ्‌केतको झन्डा उठाओ ।11 हेर, परमप्रभुले पृथ्वीको अन्‍तिम छेउसम्म घोषणा गर्नुहुन्‍छ, "सियोनकी छोरीलाई भनः हेर्, तेरो मुक्तिदाता आउँदै हुनुहुन्‍छ । हेर्, उहाँको इनाम उहाँसँगै छ र उहाँको प्रतिफल उहाँको अगि जाँदैछ ।12 तिनीहरूले तँलाई यसो भन्‍नेछन्, "पवित्र मानिसहरू । परमप्रभुले उद्धार गर्नुभएकाहरू"; अनि तँलाई "खोजिएको", "नत्‍यागिएको सहर" भनिनेछ ।