59
हेर, परमप्रभुको हात यति छोटो छैन कि त्‍यसले बचाउन सक्दैन । न त उहाँको कान यति मन्‍द नै छ कि त्‍यसले सुन्‍न सक्दैन ।2 तापनि तिमीहरूका पापपूर्ण कामहरूले तिमीहरूलाई परमेश्‍वरबाट अलग गरेको छ, र तिमीहरूका पापहरूले तिमीहरूबाट र तिमीहरूका कुरा सुन्‍नबाट उहाँलाई आफ्नो मुख लुकाउने बनाएको छ ।3 किनकि तिमीहरूका हातहरूमा रगतका र तिमीहरूको औँलाहरूमा पापका दाग छन् । तिमीहरूका ओठहरूले झूट बोल्छन् र तिमीहरूका जिब्राले छलपूर्वक बोल्छन् ।4 कसैले पनि धार्मिकतामा पुकारा गर्दैन र कसैले पनि आफ्नो मुद्दाको निम्ति सत्‍यतामा बिन्‍ती गर्दैन । तिनीहरू रित्ता शब्दहरूमा भर पर्छन् र झूट बोल्छन् । तिनीहरूले कष्‍ट गर्भधारण गर्छन् र पाप जन्‍माउँछन् ।5 तिनीहरूले विषालु सर्पको अण्डा ओथर्छन् र माकुराको जालो बुन्‍छन् । तिनीहरूका अण्डा जसले खान्‍छ त्‍यो मर्छ र एउटा अण्डा फुटाइयो भने, त्‍यसबाट विषालु सर्प निस्कन्‍छ ।6 तिनीहरूका जालोहरू लुगाको निम्ति प्रयोग गर्न सकिँदैन, न त तिनीहरूले आफ्ना कामहरूले आफूलाई ढाक्‍न सक्छन् । तिनीहरूका कामहरू पापका कामहरू हुन् र तिनीहरूका हातहरूमा हिंसाका कामहरू छन् ।7 तिनीहरूका पाउहरू दुष्‍टतातिर हतारिन्‍छ र तिनीहरू निर्दोष रगत बगाउन दौडिन्‍छन् । तिनीहरूका विचारहरू पापका विचारहरू हुन् । हिंसा र विनाश तिनीहरूका बाटोहरू हुन् ।8 शान्‍तिको बाटो तिनीहरूले जान्‍दैनन् र तिनीहरूका बाटोहरूमा न्‍याय हुँदैन । तिनीहरूले बाङ्‌गा बाटोहरू बनाएका छन् । यी बाटोहरूमा यात्रा गर्नेहरूले शान्‍ति जान्‍दैनन् ।9 यसकारण न्‍याय हामीबाट टाढा छ, न त धार्मिकता हामीकहाँ आइपुग्छ । हामी ज्‍योतिको आशा गर्छौं, तर अन्धकार देख्छौँ । हामी उज्‍यालोको प्रतीक्षा गर्छौं, तर हामी अन्धकारमा हिँड्छौँ ।10 अन्धाले झैँ र देख्‍न नसक्‍नेहरूले झैँ हामी भित्ता छाम्छौँ । हामी मध्‍यदिनमा नै साँझमा झैँ ठेस खान्‍छौँ । बलियोहरूका माझमा हामी मरेका मानिसहरूझैँ छौँ ।11 हामी भालुझैँ कराउँछौँ र ढुकुरझैँ विलाप गर्छौं । हामी न्‍यायको आशा गर्छौं, तर त्‍यहाँ छैन । छुटकाराको खोज्छौँ, तर त्‍यो हामीबाट टाढा छ ।12 किनकि हाम्रा धेरै अपराधहरू तपाईंका सामु छन् र हाम्रा पापहरूले हाम्रा विरुद्धमा गवाही दिन्‍छन् । किनकि हाम्रा अपराधहरू हामीसँग छन् र हामी आफ्ना पापहरू जान्‍दछौँ ।13 परमप्रभुलाई इन्कार गरेर र हाम्रा परमेश्‍वरको अनुसरण गर्न छाडेर हामीले विद्रोह गरेका छौँ । हामीले झूट बोलेका छौँ, अनि तर्किएर हृदय र झूटका शब्दहरूबाट गनगन गरेका छौँ ।14 न्‍याय हटाइएको छ र धार्मिकता टाढै खडा हुन्‍छ । किनकि सत्‍यता खुल्ला ठाउँमा ठेस खान्‍छ र ठीक कुरा आउन सक्दैन ।15 भरोसा हराएको छ, र जो दुष्‍टताबाट फर्किन्‍छ उसले आफूलाई शिकार बनाउँछ । परमप्रभुले यो देख्‍नुभयो र त्‍यहाँ न्‍याय नदेखेर अप्रशन्‍न हुनुभयो ।16 त्‍यहाँ उहाँले कुनै मानिसलाई देख्‍नुभएन र मध्‍यस्थ गर्ने कोही नभएकोमा उहाँ छक्क पर्नुभयो । यसकारण उहाँको आफ्नै बाहुलीले उसको उद्धार गर्‍यो र उहाँको धार्मिकताले उसलाई सम्‍हाल्यो ।17 उहाँले धार्मिकतालाई छातीपाताको रूपमा र आफ्नो शिरमा मुक्तिको टोप लगाउनुभयो । उहाँले आफूलाई बदलाको पोशाल पहिराउनुभयो र जोशलाई आवरणको रूपमा लगाउनुभयो ।18 आफ्ना विरोधीहरूलाई क्रोधको इन्साफले, आफ्ना शत्रुहरूलाई बदलाले, टापूहरूलाई तिनीहरूका इनामको रूपमा दण्डले, तिनीहरूले जे गरेका थिए, त्‍यसको प्रतिफल उहाँले तिनीहरूलाई दिनुभयो ।19 त्‍यसैले तिनीहरूले पश्‍चिमदेखि परमप्रभुको नाउँको भय मान्‍नेछन् र सूर्योदयदेखि उहाँको महिमा देख्‍नेछन् । किनकि परमप्रभुको सासले डोर्‍याएर उहाँ उर्लंदो नदीझैँ आउनुहुनेछ ।20 "सियोनमा र याकूबका विद्रोही कामहरूबाट फर्कनेहरूकहाँ - एक जना उद्धारक आउनुहुनेछ - यो परमप्रभुको घोषणा हो ।21 परमप्रभु भन्‍नुहुन्‍छ - मेरो निम्ति, तिनीहरूसँग यो मेरो करार हो । मेरो आत्मा तँमाथि छ, र मेरो वचन मैले तेरो मुखमा राखेको छु, त्‍यो तेरो मुखबाट जानेछैन वा तेरा छोराछोरीहरूका मुखबाट जानेछैन, अहिलेदेखि सदासर्वदासम्मै - परमप्रभु भन्‍नुहुन्‍छ ।