58
उच्च स्वरमा करा, चुप नलाग् । तुरहीले झैँ आफ्नो स्वर उचाल् । मेरा मानिसहरूसँग तिनीहरूको विद्रोह र याकूबको घरानासँग तिनीहरूको पापहरूका कारण सामना गर् ।2 तापनि तिनीहरूले दैनिक रूपमा मलाई खोज्छन् र मेरा उपायहरूका ज्ञानमा खुसी हुन्छन्, जसरी एउटा जातिले धार्मिकताको अभ्यास गरे र आफ्ना परमेश्वरको व्यवस्था त्यागेनन् । तिनीहरूले मसँग धार्मिक न्यायको निम्ति बिन्ती गर्छन् । परमेश्वर नजिक आउनुहुने विचार गरेर तिनीहरू खुसी हुन्छन् ।3 तिनीहरू भन्छन्, 'हामी उपवास बसेका छौँ तर तपाईंले यसलाई किन देख्नुहुन्न ? हामीले आफैलाई नम्र तुल्याएका छौँ, तर तपाईंले किन हेर्नुहुन्न ?' हेर, तिमीहरूले आफ्नो उपवासको दिनमा आफ्नै खुसी खोज्छौ र आफ्ना कामदारहरूलाई अत्याचार गर्छौ ।4 हेर, तिमीहरू झगडा गर्न र लडाइँ गर्न र आफ्नो दुष्टताको मुक्काले हान्न उपवास बस्छौ । तिमीहरूले आफ्नो स्वर माथि सुनाउनलाई उपवास बस्दैनौ ।5 के मैले चाहेको उपवास यस्तै किसिमको हो र ? एक दिन मात्र कसैले आफैलाई नम्र तुल्याउने, आफ्नो शिर निगालो झैँ झुकाउने, र भाङ्ग्रा लगाउने र खरानीमा बस्ने हो र ? के तिमीहरूले परमप्रभुलाई खुसी पार्ने उपवास यसैलाई भन्छौ ?6 के मैले चुनेको उपवास यो होइनः दुष्टताको बन्धनबाट मुक्त गर्नु, जुवाका डोरीहरू फुकाउनु, चूर्ण भएकाहरूलाई स्वतन्त्र पार्नु र जुवालाई भाँच्नु ?7 आफ्नो भोजन भोकाएकाहरूलाई दिनु र गरीब र घरविहीनलाई तिमीहरूका घरमा ल्याउनु होइन र ? तिमीहरूले कसैलाई नाङ्गो देख्दा तिमीहरूले त्यसलाई लुगा लगाइदिनुपर्छ । अनि तिमीहरूले आफूलाई आफ्ना नातेदारदेखि लुकाउनुहुँदैन ।8 तब तिमीहरूको ज्योति सूर्योदय हुँदाझैँ खुल्नेछ र तिमीहरूको चङ्गाइ झट्टै आउनेछ । तिमीहरूको धार्मिकता तिमीहरूको अगि जानेछ र परमप्रभुको महिमा तिमीहरूको पछाडिको रक्षक हुनेछ ।9 तब तिमीहरूले पुकार्नेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ । तिमीहरूले सहायताको निम्ति पुकारा गर्नेछौ र उहाँले भन्नुहुनेछ, "म यहाँ छु ।" तिमीहरूले आफ्ना माझबाट जुवा, दोष लगाउने औँला र दुष्ट बोली हटायौ भने,10 तिमीहरू आफैले भोकालाई दिन्छौ र विपदग्रस्तको खाँचो पूरा गर्छौ भने, तिमीहरूको ज्योति अन्धकारमा चम्किनेछ र तिमीहरूको अन्धकारचाहिँ मध्ये दिन जस्तो हुनेछ ।11 तब परमप्रभुले तिमीहरूलाई निरन्तर रूपले डोर्याउनुहुनेछ र पानी नभएको क्षेत्रहरूमा तृप्त पार्नुहुनेछ र उहाँले तिमीहरूको हड्डीलाई बलियो पार्नुहुनेछ । तिमीहरू पानी हालिएको बगैँचाझैँ र पानी कहिल्यै नसुक्ने पानीको मुल जस्तै हुनेछौ ।12 तिमीहरूमध्ये केहीले प्राचीन भग्नावशेषको पुनःनिर्माण गर्नेछौ । धेरै पुस्ताको भग्नावशेषलाई खडा गर्नेछौ । तिमीहरूलाई यसो भनिनेछ, "पर्खाल मर्मत गर्नेहरू", "बस्नलाई गल्लीहरू पुनःर्स्थापना गर्नेहरू" ।13 मानौँ अब तिमीहरूले शबाथ-दिनमा यात्रा गर्नबाट आफ्नो पाउहरू फर्काउँछौ र मेरो पवित्र दिनमा तिमीहरूको आफ्नो खुसी गर्नबाट फर्कन्छौ । मानौँ तिमीहरूले शबाथ-दिनलाई आनन्द भन्छौ र परमप्रभुको कुराहरूलाई पवित्र र आदरणीय भन्छौ । मानौँ तिमीहरूका आफ्ना काम छोडेर, र तिमीहरूका आफ्नै खुसी गर्न छोडेर र तिमीहरूका आफ्नै शब्दहरू नबोलेर तिमीहरूले शबाथ-दिनलाई आदर गर्छौ ।14 तब तिमीहरूले परमप्रभुमा आनन्द पाउनेछौ । अनि म तिमीहरूलाई पृथ्वीको उच्च स्थानहरूमा सवार गर्न लगाउनेछु । तिमीहरूका पुर्खा याकूबको उत्तराधिकारबाट म तिमीहरूलाई खान दिनेछु - किनकि परमप्रभुको मुखले बोलेको छ ।"