57
धर्मी नष्‍ट हुन्‍छ तर यो कुरा कसैले विचार गर्दैन, र करारको विश्‍वस्तताका मानिसहरूलाई टाढा भेला पारिन्‍छ, दुष्‍टबाट धर्मीलाई टाढा लगिन्‍छ, तर कसैले बुझ्दैन ।2 ऊ शान्‍तिमा प्रवेश गर्छ । जो आफ्नो सोझोपनमा हिँड्छन् तिनीहरू आफ्ना ओछ्यानहरूमा आराम गर्छन् ।3 तर तिमीहरू झँक्रेनीका छोराहरू, व्यभिचारी र आफूलाई वेश्या बनाउने स्‍त्रीका सन्‍तानहरू, यहाँ आओ ।4 तिमीहरू खुसी हुँदै कसलाई गिल्ला गर्दैछौ ? कसको विरुद्धमा तिमीहरूले मुख खोल्दैछौ र जिब्रो निकाल्दैछौ ? के तिमीहरू विद्रोह र छलका छोराछोरीहरू होइनौ र ?5 तिमीहरूले फलाँटका रूखहरूमुनि र हरेक हरियो रूखमुनि सँगै सुतेर आफैलाई यौनको उत्तेजनामा पार्छौ, तिमीहरू जसले आफ्ना छोराछोरीहरूलाई सुक्‍खा नदीहरूमा, चट्टानका धाँदामुनि बलि गर्छौ ।6 नदीको बेँसीका चिल्ला थोकहरूमा तिमीहरूलाई दिइएका थोकहरू पनि पर्छन् । ती तिमीहरूले पूजा गर्ने वस्तुहरू हुन् । तिमीहरूले आफ्ना अर्घबलिहरू तिनीहरूमाथि खन्‍याउँछौ र अन्‍नबलिहरू चढाउँछौ । के यी कुराहरूमा म खुसी हुनु ?7 तिमीहरूले आफ्ना ओछ्यान उच्‍च पहाडमाथि बनाउँछौ । तिमीहरू बलिदानहरू चढाउन पनि त्‍यसमाथि गयौ ।8 ढोका र चौकोसहरूका पछाडि तिमीहरूले चिन्हहरू खडा गर्‍यौ । तिमीहरूले मलाई त्‍याग्यौ, र आफैलाई नाङ्‌गो बनायौ र माथि गयौ । तिमीहरूले आफ्ना ओछ्यान फराकिलो बनायौ । तिमीहरूले तिनीहरूसित करार बाँध्‍यौ । तिमीहरूले तिनीहरूका ओछ्यानहरूलाई प्रेम गर्‍यौ । तिमीहरूले तिनीहरूका गुप्‍ताङ्‌गहरू देख्यौ ।9 तिमीहरू मोलोखकहाँ तेल लिएर गयौ । तिमीहरूले सुगन्धित तेल बढायौ । तिमीहरूले आफ्ना राजदूतहरूलाई टाढा पठायौ । तिमीहरू तल चिहान गयौ ।10 तिमीहरू आफ्नो लामो यात्राबाट थकित भयौ, तर तिमीहरूले कहिल्यै भनेनौ, "यो आशाहीन छ ।" तिमीहरूले आफ्नो हातमा नै जीवन पायौ । यसकारण तिमीहरू कमजोर भएनौ ।11 "तिमीहरू कसको विषयमा चिन्‍तित हुन्‍छौ ? तिमीहरूले कसको भय यति धेरै मान्‍छौ, जसले तिमीहरूलाई यति धेरै धोकापूर्ण रूपमा काम गर्ने बनाएको छ, यति धेरै कि तिमीहरूले मेरो याद गर्दैनौ न त मेरो बारेमा विचार नै गर्छौ ? म यति लामो समयसम्म मौन भएको हुनाले, मसँग तिमीहरू फेरि डराउँदैनौ ।12 तिमीहरूका सबै धार्मिक कामहरू घोषणा म गर्नेछु र तिमीहरूले गरेका सबै कुरा भन्‍नेछु, तर तिनीहरूले तिमीहरूलाई सहायता गर्नेछैनन् ।13 तिमीहरूले पुकारा गर्दा तिमीहरूले जम्मा गरेका मूर्तिहरूले नै तिमीहरूलाई बचाऊन् । बरु, हावाले तिनीहरू सबैलाई उडाएर लानेछ, सासले नै तिनीहरू सबैलाई उडाएर लानेछ । तापनि ममा शरण लिनेले देश अधिकार गर्नेछ र मेरो पवित्र पर्वतको अधिकारी हुनेछ ।14 उहाँले भन्‍नुहुनेछ, 'बनाओ, बनाओ ! बाटो सफा बनाओ ! मेरा मानिसहरूका बाटोबाट ठेस लाग्‍ने कुराहरू हटाओ !'15 उच्‍च र माथि उचालिनेले यसो भन्‍नुहुन्‍छ, जो अनन्‍तसम्म जिउनुहुन्‍छ, जसको नाउँ पवित्र हो, "म उचालिएको र पवित्र स्थानमा बस्छु, साथै जसको तोडिएको र नम्र आत्मा हुन्‍छ, नम्रहरूका आत्मा जगाउन र पश्‍चात्तापीहरूका हृदयलाई जगाउन, तिनीहरूमा म पनि बस्छु ।16 किनकि म सधैँ दोष लगाउँदिनँ, न त म सधैं रिसाउँछु, किनकि त्‍यसो गरेँ भने, मानिसको आत्मा मेरो सामु मूर्च्‍छित हुन्‍छ, जुन जीवनहरू मैले नै बनाएको हो ।17 हिंसाले लिएको फाइदाको कारणले, म रिसाएँ, र मैले त्‍यसलाई दण्ड दिएँ । मैले आफ्नो मुख लुकाएँ र रिसाएँ, तर ऊ आफ्नो हृदयको मार्गमा पछाडितिर गयो ।18 मैले उसका बाटोहरू देखेको छु, तर म उसलाई निको पार्नेछु । म उसलाई डोर्‍याउनेछु, र उसको निम्ति शोक गर्नेहरूलाई सान्‍त्वना र सहानुभूति दिनेछु,19 र म ओठको फल सृजना गर्छु । परमप्रभु भन्‍नुहुन्‍छ, शान्‍ति, शान्‍ति, जो टाढा छन् र जो नजिक छन् - म तिनीहरूलाई निको पार्नेछु ।20 तर दुष्‍टहरू उर्लिएको समुद्र जस्‍तै हुन् जसले विश्राम गर्न सक्दैन र यसको पानीले हिलो र दलदल घोलिदिन्‍छ ।21 दुष्‍टहरूको निम्ति कुनै शान्‍ति छैन - परमेश्‍वर भन्‍नुहुन्‍छ ।"