56
परमप्रभु यसो भन्‍नुहुन्‍छ, "जे ठीक छ सो गर, जे न्‍यायोचित छ सो गर । किनकि मेरो उद्धार नजिकै छ र मेरो धार्मिकता प्रकट हुनै लागेको छ ।2 त्‍यसो गर्ने र त्‍यसलाई दह्रोसित समात्‍ने मानिस धन्‍यको हो । उसले शबाथ-दिनलाई अपवित्र नपारी त्‍यसको पालन गर्छ र कुनै खराबी गर्नबाट आफ्नो हातलाई अलग राख्छ ।3 परमप्रभुको अनुसरण गर्ने कुनै परदेशीले यसो नभनोस्, "निश्‍चय नै परमप्रभुले मलाई आफ्ना मानिसहरूबाट बहिष्‍कार गर्नुहुनेछ ।" नपुङ्सकले यसो भन्‍नुहुँदैन, "हेर, म सुकेको रूख हुँ ।"4 किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ, "मेरा शबाथ-दिन पालन गर्ने र मलाई मन पर्ने कुरा गर्ने र मेरो करार बलियो गरी समात्‍ने नपुङ्सकहरूलाई,5 आफ्नो मन्‍दिरमा र मेरा पर्खालहरूभित्र छोराहरू र छोरीहरू हुने भन्‍दा असल स्‍मारकको रूपमा तिनीहरूलाई म खडा गर्नेछु । तिनीहरूलाई कहिल्यै नकाटिने अनन्‍तको स्मारक म दिनेछु ।6 ती परदेशीहरू पनि जो परमप्रभुमा सहभागी हुन्‍छन् - उहाँको सेवा गर्न र उहाँको आराधना गर्न परमप्रभुको नाउँलाई प्रेम गर्नेहरू, हरेक व्यक्ति जसले शबाथ-दिन पालन गर्छ, र जसले त्‍यसलाई अपवित्र पार्दैन, अनि जसले मेरो करार बलियो गरी समाउँछ -7 म आफ्नो पवित्र पर्वतमा ल्याउनेछु र मेरो प्रार्थनाको घरमा तिनीहरूलाई आनन्‍दित बनाउनेछु । तिनीहरूका होमबलिहरू र बलिदानहरू मेरो वेदीमा स्वीकार गरिनेछन् । किनकि मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर भनिनेछ,8 यो इस्राएलबाट बहिष्कृत भएकाहरूलाई भेला पार्नुहुने परमप्रभु परमेश्‍वरको घोषणा हो - तिनीहरूबाहेक अरूलाई पनि म भेला पार्नेछु ।9 ए मैदानमा भएका सबै जङ्‌गली पशुहरू, वनका सबै जङ्‌गली पशुहरू आओ र खाओ !10 तिनीहरूका सबै रक्षकहरू अन्धा छन्, तिनीहरूले बुझ्दैनन् । तिनीहरू सबै भुक्‍न नसक्‍ने शान्‍त कुकुरहरू हुन् । तिनीहरू सपना देख्छन् र तिनीहरू ढल्केर सुत्‍न मन पराउँछन् ।11 ती कुकुरहरू निकै भोकाएका छन् । तिनीहरू कहिल्यै अघाउँदैनन् । तिनीहरू समझ नभएका गोठालाहरू हुन् । तिनीहरू आ-आफ्नै बाटोमा लागेका छन्, प्रत्‍येक व्यक्तिले अन्‍यायपूर्ण लाभको निम्ति लालच गर्छ ।12 तिनीहरू भन्‍छन्, "आओ, हामी दाखमद्य र कडा मद्य पिऔँ । भोलि पनि आजको जस्‍तै धेरै महान् दिन हुनेछ ।"