60
उठ्, प्रकाशमान् हो, किनकि तेरो प्रकाश आएको छ र परमप्रभुको महिमा तँमाथि उदाएको छ ।2 पृथ्वीलाई अँध्‍यारोले र जातिहरूलाई बाक्लो अँध्‍यारोले ढाके तापनि, परमप्रभु तँमाथि उदाउनुहुनेछ र उहाँको महिमा तँमा देखिनेछ ।3 जातिहरू तेरो प्रकाशमा आउनेछन् र राजाहरू उदाउँदै गरेको तेरो चहकिलो प्रकाशमा आउनेछन् ।4 वरिपरि चारैतिर हेर् र देख् । तिनीहरू सबै आफै भेला हुन्‍छन् र तँकहाँ आउँछन् । तेरा छोराहरू टाढाबाट आउनेछन् र तिनीहरूका हातले तेरी छोरीहरूलाई बोकेर ल्याउनेछन् ।5 तब तैँले हेर्नेछस्, प्रज्वलित हुनेछस्, तेरो हृदय आनन्‍दित हुनेछ र भरिएर पोखिनेछ, किनभने समुद्रको प्रशस्तता तँलाई खन्‍याइनेछ र जातिहरूका सम्पत्ति तँकहाँ आउनेछन् ।6 ऊँटका बथानहरू, मिद्यान र एपाका सवार गर्ने ऊँटहरूले तँलाई ढाक्‍नेछन् । ती सबै शेबाबाट आउनेछन् । तिनीहरूले सुन र धूप ल्याउनेछन् र परमप्रभुको प्रशंसा गाउनेछन् ।7 केदारका सबै भेडाबाख्रालाई तँकहाँ जम्मा पारिनेछन् । नबायोतका भेडाहरूले तेरो आवश्यकता पूरा गर्नेछन् । तिनीहरू मेरो वेदीमा स्वीकारयोग्य बलिदान हुनेछन् । अनि आफ्नो महिमित भवनलाई म महिमित बनाउनेछु ।8 बादलझैँ र ढुकुरहरू आफ्ना गुँडहरूमा गएझैँ उड्ने यी को हुन् ?9 समुद्र किनारहरूले मेरो खोजी गर्छन् । टाढाबाट परमप्रभु तिमीहरूका परमेश्‍वर र इस्राएलका परमपवित्रको निम्ति तिमीहरूका छोराहरूलाई आफूसँग भएका सुन र चाँदीसँगै ल्याउनलाई तर्शीशका जहाजहरूले नेतृत्व गर्छन्, किनभने उहाँले तँलाई इज्‍जत गर्नुभएको छ ।10 विदेशीहरूका छोराहरूले तेरा पर्खालहरू पुनःनिर्माण गर्नेछन् र तिनीहरूका राजाहरूले तेरो सेवा गर्नेछन् । मेरो क्रोधमा मैले तँलाई दण्ड दिए तापनि मेरो कृपामा म तँलाई दया देखाउनेछु ।11 तेरा ढोकाहरू पनि निरन्‍तर रूपमा खुला रहनेछन् । ती दिन वा रात कहिल्यै बन्‍द गरिनेछैन, ताकि जातिहरूका सम्पत्ति तिनीहरूका राजाहरूलाई अगि राखेर ल्याउन सकियोस् ।12 वास्तवमा, तेरो सेवा नगर्ने जातिहरू र राज्‍यहरू नाश हुनेछन् । ती जातिहरू पूर्ण रूपमा नष्‍ट पारिनेछन् ।13 लेबनानको महिमा तँकहा आउनेछ । सल्लो र धूपीका रूखहरू मेरो पवित्रस्थानलाई सुन्‍दर बनाउन आउनेछन् । अनि म मेरो पाउ राख्‍ने ठाउँलाई महिमित तुल्याउनेछु ।14 तँलाई तुच्‍छ पार्नेहरूका छोराहरू तँलाई दण्डवत् गर्न आउनेछन् । तिनीहरूले तेरा पाउ ढोग्‍नेछन् । तिनीहरूले तँलाई परमप्रभुको सहर अर्थात् इस्राएलको परमपवित्रको सियोन भन्‍नेछन् ।15 तँबाट भएर कोही नहिँड्ने गरी त्‍यागिएको र घृणा गरिएको अवस्थामा रहनुको साटोमा, म तँलाई सदाको निम्ति गौरवको वस्तु, पुस्तादेखि पुस्तासम्मको निम्ति आनन्‍द बनाउनेछु ।16 तैँले जातिहरूको दूध पनि पिउनेछस् र राजहरूका दूध खानेछस् । म, परमप्रभु नै तेरो उद्धारक र मुक्तिदाता, याकूबको शक्तिशाली हुँ भन्‍ने तैँले जान्‍नेछस् ।17 काँसाको सट्टामा म सुन ल्याउनेछु, फलामको सट्टामा म चाँदी ल्याउनेछु । काठको साटो काँसा र ढङ्‌गाको साटो फलाम ल्याउनेछु । शान्‍तिलाई म तेरो बडाहाकिम र न्‍यायलाई तेरो शासक नियुक्त गर्नेछु ।18 तेरो देशमा हिंसा कदापि सुनिनेछैन, न त तेरो सिमानाभित्र विध्वंश वा तोडफोड सुनिनेछ, तर तैँले तेरा पर्खालहरूलाई मुक्ति र तेरा ढोकाहरूलाई प्रशंसा भन्‍नेछस् ।19 दिनमा सूर्य तेरो प्रकाश हुनेछैन, न त चन्‍द्रमाको उज्‍यालो तँमाथि चम्किनेछ । तर परमप्रभु नै तेरो अनन्‍तको प्रकाश र तेरो परमेश्‍वर नै तेरो महिमा हुनुहुनेछ ।20 तेरो सूर्य कहिल्यै अस्ताउनेछैन, न त तेरो चन्‍द्रमा पछि हट्ने र लोप हुनेछ । किनकि परमप्रभु नै तेरो अनन्‍तको प्रकाश हुनुहुनेछ र तेरा शोकका दिनहरू समाप्‍त हुनेछन् ।21 तेरा सबै मानिसहरू धर्मी हुनेछन् । तिनीहरूले सदाको निम्ति देश अधिकार गर्नेछन् । म महिमित हुन सकूँ भनेर ती मैले रोपेका बिरुवाका हाँगा र मेरा हातका काम हुन् ।22 थोरैचाहिँ एक हजार हुनेछ, सानो एउटा पनि बलियो जाति हुनेछ । जब समय आउँछ, तब म, परमप्रभुले यी कुराहरू चाँडै नै पूरा गर्नेछु ।