53
हामीबाट तिनीहरूले सुनेका कुरा कसले विश्वास गरेको छ, र कसलाई परमप्रभुको बाहुली प्रकट गरिएको छ ?2 किनकि कलिलो बिरूवा जस्तै र सुक्खा जमिनबाट उम्रेको टुसा जस्तै ऊ परमप्रभुको सामु बढ्यो । उसमा हेर्न लायक आकर्षण वा ऐश्वर्य थिएन । हामीले उसलाई हेर्दा, हामीलाई आकर्षण गर्ने कुनै सुन्दरता थिएन ।3 मानिसहरूद्वारा उसलाई घृणा र तिरस्कार गरियो । दुःखको मानिस र कष्टसँग परिचित । त्यो जस्तो जसबाट मानिसहरूले आफ्ना अनुहार लुकाउँछन्, उसलाई घृणा गरियो । अनि हामीले उसलाई तुच्छ ठान्यौँ ।4 तर निश्चय नै उसले हाम्रा रोगहरू बोकेको र हाम्रा कष्टहरू उठाएको छ । तापनि हामीले उसलाई परमेश्वरद्वारा दण्ड दिइएको, परमेश्वरद्वारा हिर्काइएको र कष्टमा परेको ठान्यौँ ।5 तर हाम्रा विद्रोहपूर्ण कामहरूका कारणले उसलाई घोचिएको थियो । हाम्रा पापहरूका कारणले उसलाई पेलिएको थियो । हाम्रो शान्तिको निम्ति उसमाथि दण्ड पर्यो र उसका घाउहरूले हामी निको भएका छौँ ।6 हामी सबै बरारालिएका भेडाहरू जस्ता छौँ । हामी प्रत्येक आ-आफ्नै मार्गतिर लागेका छौँ र परमप्रभुले हामी सबैको अधर्म उसमाथि राख्नुभएको छ ।7 उसलाई अत्याचार गरियो । तापनि उसले आफूलाई होच्याउँदा, उसले आफ्नो मुख खोलेन । जसरी मार्नलाई लगिएको थुमा र ऊन कत्रनेहरूका सामु भेडा चुपचाप बस्छ, त्यसरी उसले आफ्नो मुख खोलेन ।8 जबर्जस्ती र इन्साफद्वारा उसलाई दोषी ठहर गरियो । त्यस पुस्ताबाट कसले उसको बारेमा विचार गर्यो र ? तर उसलाई जीविहरूको देशबाट अलग गरियो । मेरा मानिसहरूले अपराधहरू गरेका कारणले उसलाई दण्ड दिइयो ।9 उसले कुनै हिंसा गरेको थिएन, न त उसको मुखमा कुनै छल नै थियो, तापनि अपराधीहरूसँगै तिनीहरूले उसको चिहान बनाए । उसको मृत्युमा एक जना धनी मानिस थियो ।10 तापनि उसलाई धूलो पार्ने र उसलाई बिरामी पार्ने परमप्रभुकै इच्छा थियो । जब उसले आफ्नो जीवनलाई पापको निम्ति बलिदान बनाउँछन्, उसले आफ्ना सन्तानहरू देख्नेछ, उसले आफ्नो समय बढाउनेछ र उसैद्वारा परमप्रभुको उद्देश्य पूरा हुनेछ ।11 उसको जीवनको कष्टपछि उसले ज्योति देख्नेछ र आफ्नो ज्ञानद्वारा सन्तुष्ट हुनेछ । मेरो धार्मिक सेवकले धेरै जनालाई निर्दोष ठहराउनेछ । उसले तिनीहरूको अधर्म बोक्नेछ ।12 यसकारण म भीडहरूका माझमा उसको भाग उसैलाई दिनेछु, उसले धेरै जनासित लूटको माल बाँड्नेछ, किनभने उसले आफूलाई मृत्युमा हाल्यो र अपराधीहरूसँगै गनियो । उसले धेरै जनाको पाप बोक्यो र अपराधीहरूका निम्ति मध्यस्थ-बिन्ती गर्यो ।