52
ए सियोन, जाग्, जाग्, आफ्नो शक्ति धारण गर् । ए यरूशलेम, पवित्र सहर, आफ्नो सुन्दर पोशाक लगा । किनकि खतना नगरिएका वा अशुद्धचाहिँ फेरि कहिल्यै तँभित्र पस्नेछैन ।2 आफैबाट धूलो टकटक्या । ए यरूशलेम उठ् र बस् । ए सियोनकी कैदी छोरी, आफ्नो घाँटीबाट साङ्ला निकाल् ।3 किनकि परमप्रभु यसो भन्नुहुन्छ, "तिमीहरू सित्तैमा बेचिएका थियौ, अनि पैसाबिना नै तिमीहरूको छुटकारा हुनेछ ।4 किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, "सुरुमा मेरा मानिसहरू अस्थायी रूपमा बसोबास गर्न मिश्र देशमा गए । अनि अश्शूरले तिनीहरूलाई कुनै ठीक कारणबिना नै अत्याचार गर्यो ।5 यो परमप्रभुको घोषणा हो, मेरा मानिसहरू सित्तैमा लगिएको देख्दा, अब मसँग यहाँ के छ र ? यो परमप्रभुको घोषणा हो, तिनीहरूमाथि शासन गर्नेहरूले तिनीहरूलाई खिसी गर्छन् र दिनभरि मेरो नाउँको निरन्तर निन्दा हुन्छ ।6 यसकारण मेरा मानिसहरूले मेरो नाउँ जान्नेछन् । "हो, त्यो म नै हुँ” भन्ने म नै हुँ भनी तिनीहरूले त्यस दिन जान्नेछन् ।7 असल समाचार ल्याउने दूतहरूका गोडाहरू पहाडहरूमाथि कति सुन्दर, जसले शान्तिको घोषणा गर्छन्, जसले असल समाचार ल्याउँछन्, जसले उद्धारको घोषणा गर्छन्, जसले सियोनलाई भन्छन्, "तेरो परमेश्वरले राज्य गर्नुहुन्छ !"8 सुन्, तिमीहरूका रक्षकहरूले आफ्ना स्वर उच्च पार्छन्, तिनीहरू आनन्दले कराउँछन्, किनकि आफ्ना हरेक आँखाले तिनीहरूले परमप्रभु सियोनमा फर्कनुभएको देख्नेछन् ।9 ए यरूशलेमको भग्नावशेषहरू, आनन्दको गीत सँगसँगै गाओ । किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ । उहाँले यरूशलेमको उद्धार गर्नुभएको छ ।10 परमप्रभुले आफ्नो पवित्र बाहुली सबै जातिहरूको दृष्टिमा प्रकट गर्नुभएको छ । सारा पृथ्वीले हाम्रा परमेश्वरको उद्धार देख्नेछ ।11 छोड, छोड, त्यहाँबाट बाहिर जाओ । अशुद्ध कुनै कुरा नछोओ । त्यसको माझबाट जाओ । आफैलाई शुद्ध बनाओ, तिमीहरू जसले परमप्रभुको पात्रलाई बोक्छौ ।12 किनकि तिमीहरू हतारमा बाहिर जानेछैनौ, न तिमीहरूले त्रासमा छोड्नेछौ । किनकि परमप्रभु तिमीहरूको अगि-अगि जानुहुनेछ । अनि इस्राएलको परमेश्वर नै तिमीहरू पछाडिको रक्षक हुनुहुनेछ ।13 हेर, मेरो सेवकले बुद्धिमान् भएर काम गर्नेछ । ऊ उच्च हुनेछ र माथि उचालिनेछ र उसलाई धेरै उच्चमा राखिनेछ ।14 जसरी तँसँग धेरै जना त्रसित भएका थिए - उसको अनुहार कुनै मानिसको भन्दा धेरै कुरूप बनाइएको थियो, र उसको स्वरूप कुनै मानिसको जस्तो देखिएन ।15 तापनि मेरो सेवकले धेरै जातिहरूलाई छर्कनेछ र उसको कारणले राजाहरूले आफ्ना मुख बन्द गर्नेछन् । किनकि तिनीहरूलाई नभनिएको कुरा तिनीहरूले देख्नेछन् र तिनीहरूले नसुनेका कुरा तिनीहरूले बुझ्नेछन् ।