54
"ए बाँझी स्त्री, जसले जन्म दिएकी छैन, गीत गा । आनन्दको गीत गा, उच्च सोरमा करा, तँ जो कहिल्यै प्रसववेदनामा परेकी छैनस् । किनकि बाँझी स्त्रीको सन्तानहरू विवाहित स्त्रीको भन्दा धेरै छन्,"परमप्रभु भन्नुहुन्छ ।2 "उदार भएर, आफ्नो पाललाई अझ ठूलो बना र आफ्नो पालका पर्दाहरू तन्का । आफ्ना डोरीहरू लामो बना र आफ्ना किलाहरू बलियो पार् ।3 किनकि तँ दाहिनेतिर र देब्रेतिर फैलिनेछस्, तेरा सन्तानहरूले जातिहरूलाई जित्नेछन् र उजाड सहरहरूमा पुनः बसोबास गर्नेछन् ।4 नडरा, किनकि तँ लज्जित हुनेछैनस्, न त निराश हुनेछस्, किनकि तेरो अपमान गरिेनेछैन । आफ्नो जवानीको लाजलाई र आफ्नो त्यागिएको अवस्थाको अपमानलाई तैँले बिर्सनेछस् ।5 किनभने तँलाई बनाउनुहुने तेरो स्वामी हुनुहुन्छ । उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो । इस्राएलको परमपवित्र तेरो उद्धारक हुनुहुन्छ । उहाँलाई सारा पृथ्वीको परमेश्वर भनिन्छ ।6 किनकि त्यागिएकी र आत्मामा दुःखी पत्नीको रूपमा जवानीमा विवाह भएकी र तिरस्कृत स्त्रीलाई झैँ परमप्रभुले तँलाई फिर्ता बोलाउनुभएको छ", तेरो परमेश्वर भन्नुहुन्छ ।7 "छोटो समयको निम्ति मैले तँलाई त्यागेँ, तर ठूलो दयासाथ म तँलाई भेला पार्नेछु ।8 रीसको झोँकमा मैले क्षणिक रूपमा आफ्नो मुख तँबाट लुकाएँ । तर अनन्त करारको विश्वस्ततामा म तँमाथि दया गर्नेछु - तँलाई छुटाउनुहुने परमप्रभु भन्नुहुन्छ ।9 किनकि यो मेरो निम्ति नोआको समयको पानी जस्तै होः जसरी नोआको पानीले पृथ्वीलाई फेरि कहिल्यै डुबाउनेछैन भनी मैले शपथ खाएँ, त्यसरी नै तँसँग कहिल्यै रिसाउँदिन वा तँलाई हप्काउँदिन भनी मैले शपथ खाएको छु ।10 पर्वतहरू खसे र पहाडहरू थरथर भए पनि, मेरो अटल प्रेम तँबाट हट्नेछैन, न त मेरो शान्तिको करारको हल्लिनेछ - तँलाई दया गर्नुहुने परमप्रभु भन्नहुन्छ ।11 ए कष्टमा परेका, आँधीबेहरीले बत्ताइएका र सान्त्वना नपाएकाहरू हो, हेर, तेरो बाटोलाई म फिरोजा पत्थरले जोड्नेछु र तेरो जगहरू नीरले बसाल्नेछु ।12 म तेरो गजुरहरू रूबीले र तेरा ढोकाहरू चम्कने पत्थरहरूले र तेरो बाहिरी पर्खाल सुन्दर ढुङ्गाहरूले बनाउनेछु ।13 अनि परमप्रभुद्वारा नै तेरा सबै छोराछोरीहरूलाई सिकाइनेछ । अनि तेरा छोराछोरीहरूका शान्ति महान् हुनेछ ।14 धार्मिकतामा तँलाई स्थापित गरिनेछ, र अत्याचारबाट तँ टाढा हुनेछस्, किनकि तँ डराउनेछैनस् । अनि त्रास तेरो नजिक आउनेछैन ।15 हेर्, कसैले कष्ट ल्यायो भने, त्यो मबाट हुनेछैन । तँमाथि कष्ट ल्याउने जोसुकैले पराजय बेहोर्नेछ ।16 हेर्, मैले कारीगरलाई सृष्टि गरेको छु, जसले भुङ्ग्रो फुक्छ र आफ्नो कामको रूपमा हतियार बनाउँछ, अनि नष्ट गर्नलाई मैले नष्ट गर्नेको सृष्टि गरेको छु ।17 तेरो विरुद्धमा बनाइएका कुनै पनि हतियार सफल हुनेछैनन् । अनि तँलाई दोष लगाउने हरेकलाई तैँले दोषी ठहराउनेछस् । परमप्रभुका सेवकहरूका पैतृक सम्पत्ति र तिनीहरू निर्दोष छन् भनेर मैले दिने प्रमाण यही हो - यो परमप्रभुको घोषणा हो ।"