49
ए समुद्र किनारमा बस्‍नेहरू हो, मेरो कुरा सुन ! ए टाढाका मानिसहरू हो, मेरो कुरामा ध्‍यान देओ । मेरो आमाले मलाई संसारमा ल्याउनुहुँदा नै परमप्रभुले मलाई मेरो नाउँ काढेर बोलाउनुभएको छ ।2 उहाँले मेरो मुखलाई धारिलो तरवार जस्‍तो बनाउनुभएको छ । उहाँले मलाई आफ्नो हातको छायाँमा लुकाउनुभएको छ । उहाँले मलाई टल्काएको काँड बनाउनुभएको छ । उहाँले मलाई आफ्नो ठोक्रोमा लुकाउनुभएको छ ।3 उहाँले मलाई भन्‍नुभयो, "ए इस्राएल, तँ मेरो सेवक होस्, जसद्वारा म आफ्नो महिमा देखाउँछु ।"4 मैले व्यर्थमा परिश्रम गरेको छु, मैले बेकाममा मेरो शक्ति खर्च गरेको छु भनी सोचे तापनि मेरो न्‍याय परमप्रभुसित नै छ र मेरो इनाम मेरो परमेश्‍वरसँग छ ।5 अब परमप्रभु बोल्नुभएको छ - उहाँ नै हुनुहुन्‍छ जसले उहाँको सेवक हुन, याकूबलाई उहाँमा पुनर्स्थापन गर्न मलाई जन्‍मैदेखि बनाउनुभयो, ताकि इस्राएललाई उहाँमा जम्मा गर्न सकियोस्, किनकि परमप्रभुको दृष्‍टिमा मेरो इज्‍जत भएको छ र मेरो परमेश्‍वर नै मेरो बल हुनुभएको छ ।6 अनि उहाँ भन्‍नुहुन्‍छ, "याकूबको कुललाई पुनःस्थापित गर्नलाई र इस्राएलका बचेकाहरूलाई पुनर्स्थापन गर्नलाई मेरो सेवक हुनु तेरो निम्ति अति सानो कुरा हो । म तँलाई अरू जातिहरूका निम्ति ज्‍योति बनाउनेछु, ताकि पृथ्वीको अन्‍तिम छेउसम्म तँ नै मेरो उद्धार हुन सक् ।"7 जातिहरूले तुच्‍छ ठानेका, घृणा गरेका र शासकहरूका सेवकलाई इस्राएलको उद्धारक, तिनीहरूका परमपवित्र परमप्रभु यसो भन्‍नुहुन्‍छ, "विश्‍वासयोग्य परमप्रभु, इस्राएलका परमपवित्रले तँलाई चुन्‍नुभएको हुनाले राजाहरूले तँलाई देख्‍नेछन् र खडा हुनेछन्, अनि राजकुमारहरूले तँलाई देख्‍नेछन् र घोप्‍टो पर्नेछन् ।8 परमप्रभु यसो भन्‍नुहुन्‍छ, "मैले आफ्नो कृपा देखाउन निश्‍चित गरेको समयमा म तँलाई जवाफ दिनेछु, अनि उद्धारको दिनमा म तँलाई सहायता गर्नेछु । म तेरो सुरक्षा गर्नेछु र देशको पुनःनिर्माण गर्न र उजाड जमिनमा फेरि बस्ती बसाल्न तँलाई मानिसहरूका लागि करारको रूपमा दिनेछु ।9 तैँले कैदीहरूलाई, 'बाहिर आओ', अँध्‍यारो कालकोठरीमा हुनेहरूलाई, 'आफूलाई देखाओ' भन्‍नेछस् । तिनीहरू सडकहरूको छेउतिर चर्नेछन् र सबै उजाड पाखाहरू तिनीहरूका खर्क हुनेछ ।10 तिनीहरू तिर्खाउने वा भोकाउनेछैनन् । न तापले न घामले तिनीहरूलाई पोल्नेछ, किनकि जसले तिनीहरूलाई दया गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई डोर्‍याउनुहुनेछ । उहाँले तिनीहरूलाई पानीको मुहानहरूतिर लानुहुनेछ ।11 तब आफ्ना सबै पर्वतलाई सडक र मेरा मूल बाटोहरूलाई समतल बनाउनेछु ।12 हेर, यिनीहरू टाढाबाट, कोही उत्तर र पश्‍चिमबाट आउनेछन् । अनि अरूचाहिँ आश्‍वानको देशबाट आउनेछन् ।13 ए आकाश गाओ र ए पृथ्वी आनन्‍दित होओ । ए पर्वतहरू, गीत गाओ ! किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई सान्‍त्वना दिनुहुन्‍छ र उहाँका कष्‍टमा परेकाहरूलाई दया गर्नुहुनेछ ।14 तर सियोनले भन्‍यो, "परमप्रभुले मलाई त्‍याग्‍नुभएको छ, र परमप्रभुले मलाई बिर्सनुभएको छ ।15 "के स्‍त्रीले आफ्नो दूध खुवाइरहेको बालकलाई बिर्सन सक्छे, अनि तिनले जन्‍माएकी बालकलाई दया देखाउँदिनन् र ? हो, तिनीहरूले बिर्सन सक्छन्, तर तँलाई म बिर्सनेछैन ।16 हेर, मैले तेरो नाउँ आफ्नो हत्केलामा खोपेको छु । तेरा पर्खालहरू निरन्‍तर मेरो सामु छन् ।17 तेरा छोराछोरीहरू फर्कन हतारिँदैछन्, जबकि तिमीहरूलाई विनाश पार्नेहरू टाढा जाँदैछन् ।18 वरिपरि हेर र देख्, तिनीहरू भेला हुँदैछन् र तँकहाँ आउँदैछन् । जस्‍तो म जीवित छु - यो परमप्रभुको घोषणा हो - तैँले तिनीहरूलाई गहनाझैँ लगाउनेछस् र तैँले तिनीहरूलाई दुलहीले झैँ लगाउनेछस् ।19 तँ उजाड र निर्जन, भग्‍नावशेषको देश भए पनि अब बासिन्‍दाहरूका निम्ति तँ अति सानो हुनेछस् र तँलाई नाश पार्नेहरू टाढा हुनेछन् ।20 शोकको अवधिमा जन्‍मेका छोराछोरीहरूले तैँले सुन्‍ने गरी भन्‍नेछन्, 'यो ठाउँ हाम्रा निम्ति साँघुरो हुन्‍छ, ठाउँ तयार पार्नुहोस्, ताकि हामी बस्‍न सकौँ ।'21 तब तैँले आफैलाई सोध्‍नेछस्, 'मेरो निम्ति यी छोराछोरीहरू कसले जन्‍माएको हो ? म शोकमा र बाँझी, निर्वासित र त्‍यागिएकी थिएँ । यी छोराछोरीहरूलाई कसले हुर्कायो ? हेर, मलाई एक्लै छोडिएको थियो । यिनीहरू कहाँबाट आए ?’22 परमप्रभु परमेश्‍वरले यसो भन्‍नुहुन्‍छ, "हेर्, जातिहरूतिर म आफ्नो हात उठाउनेछु । मानिसहरूतिर म आफ्नो सङ्‌केतको झन्‍डा उठाउनेछु । तिनीहरूले तेरा छोराहरूलाई आफ्ना हातमा र तेरी छोरीहरूलाई आफ्ना काँधमा बोकेर ल्याउनेछन् ।23 राजाहरू तेरा धर्म-बुबाहरू र रानीहरू तेरा धाइ-आमाहरू हुनेछन् । तिनीहरूले आफ्ना मुहार भुइँमा घोप्‍टो पारेर तँलाई दण्डवत् गर्नेछन् र तेरा खुट्टाका धूलो चाट्नेछन् । अनि म परमप्रभु हुँ भनी तैँले जान्‍नेछस् । मेरो आशा गर्नेहरू लज्‍जित हुनेछैनन् ।24 के योद्धाहरूबाट लूटको माल लिन सकिन्‍छ, वा क्रूरबाट कैदीहरूलाई छुटाउन सकिन्‍छ ?25 तर परमप्रभु यसो भन्‍नुहुन्‍छ, "हो, योद्धाहरूबाट कैदीहरूलाई खोसिनेछ र लूटका मालहरू छुटाइनेछ । किनकि तेरो विरोधीलाई म विरोध गर्नेछु र तेरा छोराछोरीहरूलाई बचाउनेछु ।26 तेरा अत्‍याचारीहरूलाई तिनीहरूका आफ्नै मासु खुवाउनेछु । अनि तिनीहरू आफ्नै रगतले दाखमद्यले झैँ मात्‍नेछन् । तब म परमप्रभु, तेरो मुक्तिदाता र तेरा उद्धारक, याकूबको शक्तिशाली परमेश्‍वर हुँ भनी सारा मानवजातिले जान्‍नेछन् ।"