48
ए याकूबको घराना, यो कुरा सुन जसलाई इस्राएलको नाउँले बोलाइन्छ र यहूदाको वीर्यबाट आएको छ । तिमीहरू जसले परमप्रभुको नाउँमा शपथ खान्छौ र इस्राएलको परमेश्वरलाई पुकार्छौ, तर साँचो रूपले गर्दैनौ न धार्मिक तरिकाले गर्छौ ।2 किनकि तिनीहरूले आफूलाई पवित्र सहरका मानिसहरू भन्छन् र इस्राएलको परमेश्वरमा भरोसा गर्छन् । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।3 मैले धेरै पहिलेदेखि नै घोषणा गरेको छु । तिनीहरू मेरो मुखबाट निस्के र मैले नै तिनीहरूलाई प्रकट गरेँ । तब मैले अचानक ती गरेँ र ती हुन आए ।4 किनभने तिमीहरू हठी भएको म जान्दथेँ, तिमीहरूका गर्दनका मांशपेशी फलाम जस्तै कडा थियो, अनि तिमीहरूका निधार काँसा जस्तै थियो,5 यसकारण मैले यी कुराहरू तिमीहरूलाई पहिले नै बताएँ । ती हुनुअगि नै मैले तिमीहरूलाई जानकारी दिएँ, त्यसैले तिमीहरूले यसो भन्न सक्नेछैनौ, "मेरो मूर्तिले त्यो गरेको छ" वा "मेरो खोपेको आकृति र मेरो धातुबाट बनाइएको आकृतिले यी कुराहरू ठहराए ।"6 तिमीहरूले यी कुराहरूका बारेमा सुन्यौ । यी सबै प्रमाणलाई हेर । अनि के मैले जे भनेँ सो सत्य हो भनी तिमीहरू स्वीकार गर्नेछैनौ ? अबदेखि, तिमीहरूले नजानेका नयाँ कुराहरू, लुकाइएका थोकहरू म तिमीहरूलाई देखाउँदैछु ।7 अहिले र पहिलेदेखि होइन, तिनीहरू अस्तित्वमा आउँछन् र आज भन्दा पहिले तिनीहरूका बारेमा तिमीहरूले सुनेका छैनौ, त्यसैले तिमीहरूले यसो भन्न सक्दैनौ, 'हो, तिनीहरूका बारेमा मलाई थाहा थियो ।'8 तिमीहरूले कहिल्यै सुनेनौ । तिमीहरूले जानेनौ । यी कुराहरू तिमीहरूका कानमा यसअघि भनिएको थिएन । किनकि तिमीहरू धेरै छली भएका छौ र जन्मैदेखि तिमीहरू विद्रोही भएका छौ भनी मलाई थाहा थियो ।9 मेरै नाउँको निम्ति म आफ्नो क्रोधलाई ढिला गर्नेछु, मेरो इज्जतको निम्ति म तिमीहरूलाई नाश गर्न रोक्नेछु ।10 हेर, तिमीहरूलाई मैले शुद्ध पारेँ, तर चाँदीलाई झैँ होइन । तिमीहरूलाई मैले दुःखकष्टको भट्टीमा शुद्ध पारेको छु ।11 मेरै निम्ति, मेरै निम्ति म काम गर्नेछु । किनकि मेरो नाउँलाई म कसरी अपवित्र हुन दिन सक्छु र? म आफ्नो महिमा अरू कसैलाई दिनेछैन ।12 ए याकूब, मेरो कुरा सुन्, ए इस्राएल जसलाई मैले बोलाएँः म उही हुँ । म पहिलो हुँ र म अन्तिम पनि हुँ ।13 हो, मेरो हातले पृथ्वीको जग बसाल्यो र मेरो दाहिने हातले आकाश फिँजायो । जब म तिनीहरूलाई बोलाउँछु, तब तिनीहरू एकसाथ खडा हुन्छन् ।14 तिमीहरू सबैले आफूलाई भेला पार र सुन ! तिमीहरूका माझमा कसले यी कुराहरू घोषणा गरेको छ ? परमप्रभुको मित्रले बेबिलोनविरुद्धमा उहाँको उद्देश्य पूरा गर्नेछ । कल्दीहरूका विरुद्धमा उसले परमप्रभुको इच्छा पूरा गर्नेछन् ।15 म, मैले बोलेको छु, हो, मैले त्यसलाई बोलाएको छु, मैले त्यसलाई ल्याएको छु र त्यो सफल हुनेछ ।16 मेरो नजिक आओ र यो कुरा सुनः "सुरुदेखि नै मैले गुप्तमा बोलेको छैन । जब यो हुन्छ, तब म त्यहाँ हुन्छु ।" अहिले परमप्रभु परमेश्वरले मलाई र उहाँको आत्मालाई पठाउनुभएको छ ।17 परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्नुहुन्छ, "म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले कसरी सफल हुने भनी सिकाउँछ, जसले तिमीहरू जानुपर्ने बाटोमा डोर्याउँछ ।18 तिमीहरूले मेरा आज्ञाहरू मात्र पालन गरेका भए ! तिमीहरूका शान्ति र समृद्धि नदीझैँ बग्ने थियो र तिमीहरूका उद्धार समुद्रको छालझैँ हुनेथियो ।19 तिमीहरूका सन्तानहरू बालुवाझैँ असङ्ख्य हुने थिए र तिमीहरूका गर्भबाट जन्मेका छोराछोरीहरूका बालुवाका कणझैँ अनगिन्ती हुने थिए । तिनीहरूका नाउँ मेरो सामुबाट काटिने वा मेटिने थिएन ।20 बेबिलोनबाट बाहिर आओ ! कल्दीहरूबाट भाग ! गुञ्जायमान् आवाजसँगै यो घोषणा गर ! यसलाई प्रकट गर, यसलाई पृथ्वीको अन्तिम छेउसम्म जान देओ । यसो भन, 'परमप्रभुले आफ्नो सेवक याकूबलाई उद्धार गर्नुभएको छ ।' "21 उहाँले तिनीहरूलाई मरुभूमिमा डोर्याउनुहुँदा तिनीहरूलाइ तिर्खा लागेन । उहाँले तिनीहरूको निम्ति चट्टानबाट पानी बगाउनुभयो । उहाँले चट्टानलाई चिरा पार्नुभयो र पानी बाहिर बगेर आयो ।22 "दुष्टहरूलाई शान्ति हुँदैन", परमप्रभु भन्नुहुन्छ ।