47
ए बेबिलोनकी कन्ये छोरी, तल आइज र धूलोमा बस् । ए कल्दीकी छोरी सिंहासनबिना नै जमिनमा बस् । तँलाई कदापि सुकुमार र कोमल भनिनेछैन ।2 जाँतो ली र पीठो पिँध् । तेरो घुम्टो हटा, तेरो लामो वस्त्र उतार, तेरा गोडाहरू नाङ्गो पार्, खोलाहरू तर् ।3 तेरो नाङ्गोपन देखिनेछ, हो, तेरो लाज देखिनेछ । म बदला लिनेछु र एक जना मानिसलाई पनि छोड्नेछैन ।4 सर्वशक्तिमान् परमप्रभु हाम्रा उद्धारक, इस्राएलको परमपवित्र उहाँको नाउँ हो ।5 कल्दीकी छोरी, शान्त बस् र अँध्यारोमा जा । किनकि तँलाई कदापि राज्यहरूको रानी भनिनेछैन ।6 म आफ्ना मानिसहरूसित रिसाएको थिएँ । मैले मेरो उत्तराधिकारलाई अशुद्ध तुल्याएँ र तिनीहरूलाई तेरो हातमा सुम्पेँ, तर तैँले तिनीहरूलाई कुनै दया देखाइनस् । वृद्ध मानिसहरूमाथि तैँले धेरै गह्रौँ जुवा बोकाइस् ।7 तैँले भनिस्, "म सदासर्वदा प्रभुत्वशाली रानी भएर राज्य गर्नेछु ।" यी कुराहरूलाई तैँले मनमा राखिनस्, न ती के हुनेछन् भनी तैँले विचार गरीस् ।8 त्यसैले अब यो कुरा सुन, तिमीहरू जो विलासिता रुचाउँछौ र निस्फिक्री बस्छौ । तिमीहरू जसले आफ्नो मनमा भन्छौ, "म अस्तित्वमा छु, र म जस्तो त्यहाँ अरू कोही छैन । म कहिल्यै विधवाझैँ बस्नेछैन, न छोराछोरी नाश भएको अनुभव म कहिल्यै गर्नेछु ।9 तर यी दुई कुराहरू एकै दिनमा एकै छिनमा तँलाई हुनेछन्ः छोराछोरीहरूको नाश र विधवापन । तँसँग मन्त्रतन्त्र, टुनामुना र जन्तरहरू भए पनि ती तँमाथि पूरा शक्तिका साथ आउनेछन् ।10 तैँले आफ्ना दुष्टतामा भरोसा गरिस् । तैँले भनेको छस्, "मलाई कसैले देख्दैन ।" तेरो बुद्धि र तेरो ज्ञानले तँलाई बहकायो तर तैँले आफ्नो मनमा भन्छस्, "म अस्तित्वमा छु, त्यहाँ म जस्तो अरू कोही छैन ।"11 तँमाथि विपत्ति आइपर्नेछ । आफ्नो मन्त्रतन्त्रले तैँले त्यो धपाउन सक्नेछैनस् । तँमाथि विनाश आउनेछ । तैँले त्यसलाई तर्काउन सक्नेछैनस् । तैँले थाहा पाउनुअगि नै विपत्तिले तँलाई अचानक प्रहार गर्नेछ ।12 आफ्नो तन्त्रमन्त्र र आफ्ना धेरै टुनामुनामा निरन्तर लाग्, जसलाई तैँले आफ्नो बाल्यकालदेखि नै विश्वस्ततासाथ उच्चारण गरेको छस् । शायद तँ सफल हुनेछस्, शायद तैँले विपत्तिलाई भगाउनेछस् ।13 तेरा धेरै सल्लाहरूदेखि तँ थाकेको छस् । ती मानिसहरू खडा होऊन् र तँलाई बचाऊन् - तिनीहरू जसले आकाशको मानचित्र बनाउँछन्, र ताराहरू हेर्छन्, जसले औँसीको घोषणा गर्छन् - तँलाई जे हुनेछ सोबाट तिनीहरूले नै तँलाई बचाऊन् ।14 हेर, ती परालको झ्यासझैँ हुनेछन् । आगोले तिनलाई जलाउनेछ । ज्वालाको हातबाट तिनीहरूले आफूलाई बचाउनेछैनन् । तिनीहरूलाई न्यानो पार्न कुनै भुङ्ग्रो छैन र तिनीहरूले आगो ताप्नलाई आगो छैन !15 तेरो निम्ति तिनीहरू यस्तै भएका छन् - जससँग तैँले काम गरेको छस्, अनि तिनीहरूसँग तैँले आफ्नो जवानीदेखि किनबेच गरेको छस्, तिनीहरू हरेक आ-आफ्नै निर्देशनमा भौँतारिए । तँलाई छुटकारा दिने सक्ने त्यहाँ कोही छैन ।"