45
आफ्नो अभिषिक्त कोरेसलाई परमप्रभुले यसो भन्नुहुन्छ, उसको सामु रहेका जातिहरूलाई अधीन गर्न, राजाहरूलाई निशस्त्र पार्न र ढोकाहरू खुल्ला रहून् भनेर उसको सामु भएका ढोकाहरू खोल्न, जसको दाहिने हातलाई म समात्छुः2 "म तेरो अगि-अगि जानेछु र पर्वतहरूलाई समतल बनाउनेछु । काँसाका ढोकाहरूलाई म टुक्राटुक्रा बनाउनेछु र तिनीहरूका फलामे बारहरूलाई काटेर टुक्रा बनाउनेछु।3 अनि अँध्यारोका भण्डारहरू र टाढा लुकाइएका धनहरू म तँलाई दिनेछु, जसले गर्दा तैँले जान्न सक्छस् कि म परमप्रभु इस्राएलका परमेश्वर हुँ जसले तेरो नाउँ काढेर तँलाई बोलाउँछ ।4 मेरो सेवक याकूब र मेरो चुनिएको इस्राएलको निम्ति, मैले थोरै आदरको पद तँलाई दिएर तेरो नाउँ काढेर बोलाएको छु, तापनि तैँले मलाई चिन्दैनस् ।5 म परमप्रभु हुँ र त्यहाँ अरू कुनै छैन । मबाहेक कोही परमेश्वर छैन । तैँले मलाई नचिनेको भए तापनि म तँलाई युद्धको निम्ति सुसज्जित पार्नेछु ।6 ताकि सूर्य उदाउने ठाउँदेखि, र पश्चिमदेखि मानिसहरूले मबाहेक कुनै ईश्वर छैन भनी जानून्, म परमप्रभु हुँ र अरू कोही छैन ।7 म नै ज्योति बनाउँछु र अन्धकारको सृष्टि गर्छु । म शान्ति ल्याउँछु र विपत्तिको सृजना गर्छु । यी सबै कुराहरू गर्ने परमप्रभु म नै हुँ ।8 ए आकाश, माथिबाट वर्षा झार् ! आकाशले धार्मिकताको वर्षा गराओस् । पृथ्वीले त्यो सोसेर लेओस् ताकि मुक्ति उम्रियोस् र त्यससँगै धार्मिकता उम्रियोस् । म, परमप्रभुले नै ती दुवैको सृष्टि गरेको हो ।9 त्यसलाई धिक्कार जसले आफूलाई बनाउनेसँग बहस गर्छ, जो जमिनमा भएका सबै माटोका भाँडाका माझमा अरू कुनै माटोको भाँडा जस्तै छ ! के माटोले कुमालेलाई यसो भन्छ, 'तैँले के गर्दैछस्" वा "तँ के बनाउँदै थिइस् - त्यो काम गर्दा के तँसँग हात थिएन ?'10 धिक्कार त्यसलाई जसले बुबालाई भन्छ, 'तपाईंले के जन्माउनुभयो ?' वा आमालाई भन्छ, ‘तपाईंले के जन्म दिनुभयो ?'11 इस्राएलका सृष्टिकर्ता परमपवित्र परमप्रभु यसो भन्नुहुन्छ, ‘मेरा छोराछोरीका बारेमा म के गर्नेछु भनी तिमीहरू किन प्रश्न सोध्छौ ? के मेरो हातका कामको बारेमा मैले के गर्नुपर्छ भनी तिमीहरू सिकाउँछौ ?'12 मैले नै पृथ्वी बनाएँ, अनि त्यसमा मानिसको सृष्टि गरेँ । मेरै हातले आकाशलाई फैलाएँ, र सबै तारालाई देखा पर्ने आज्ञा मैले नै दिएँ ।13 मैले नै कोरेसलाई धार्मिकतामा उत्तेजित पारेँ र त्यसका सबै मार्गलाई म नै सहज बनाइदिनेछु । त्यसले मेरो सहर निर्माण गर्नेछ । त्यसले मेरा निर्वासित मानिसहरूलाई घर जान दिनेछ, न कुनै मूल्य वा घूस लिनेछ", सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।14 परमप्रभु यसो भन्नुहुन्छ, "मिश्र देशको कमाइ र शेबाका अग्ला कदका मानिसहरूसँग कूशको व्यापार तँकहाँ ल्याइनेछ । ती तेरै हुनेछन् । साङ्लामा तिनीहरू तेरो पछि-पछि आउनेछन् । तिनीहरू तेरो सामु घोप्टो पर्नेछन् र यसो भन्दै तँसँग बिन्ती गर्नेछन्, 'निश्चय पनि परमेश्वर तपाईंसँग हुनुहुन्छ र उहाँबाहेक अरू कोही छैन' ।"15 हे इस्राएलका परमेश्वर, उद्धारक, साँच्चै तपाईं परमेश्वर हुनुहुन्छ, जसले आफैलाई लुकाउनुहुन्छ ।16 तिनीहरू सबै एकसाथ लज्जित र अपमानित हुनेछन् । मूर्ति बनाउनेहरू अपमानमा हिँड्नेछन् ।17 तर परमप्रभुले इस्राएललाई अनन्त उद्धारसहित बचाउनुहुनेछ । तँ फेरि कहिल्यै लज्जित वा अपमानित हुनेछैनस् ।18 आकाशको सृष्टि गर्नुहुने परमप्रभु, पृथ्वीको सृष्टि गर्ने र त्यसलाई बनाउने र त्यसलाई स्थापित गर्ने साँचो परमेश्वर यसो भन्नुहुन्छ । उहाँले नै त्यसको सृष्टि गर्नुभयो, उजाड होइन, तर बसोबास गर्नलाई तयार पार्नुभयोः "म नै परमप्रभु हुँ र त्यहाँ अरू कोही छैन ।19 मैले गुप्तमा अर्थात् कुनै लुकेको ठाउँमा बोलेको छैन । मैले याकूबका सन्तानलाई, ‘व्यर्थमा मेरो खोजी गर' भनेको छैन । म परमप्रभु हुँ, जसले विश्वसनीयतासाथ बोल्छु । ठीक कुराहरूको घोषणा म गर्छु ।20 आफूलाई भेला पार र आओ ! जातिहरूका माझबाटका आएका शरणार्थीहरू, एकसाथ भेला होओ ! तिनीहरूसँग ज्ञान नै छैन, जसले खोपेका मूर्तिहरू बोक्छन् र बचाउन नसक्ने देवताहरूसँग प्रार्थना गर्छन् ।21 नजिक आओ र मलाई यो घोषणा गर, प्रमाण ल्याओ ! तिनीहरूले एकसाथ षड्यन्त्र गरून् । यसलाई धेरै पहिलेदेखि कसले प्रकट गरेको छ ? कसले यो घोषणा गर्यो ? के यो म परमप्रभुले नै थिएनँ र ? मबाहेक त्यहाँ अरू कुनै परमेश्वर छैन, न्यायी परमेश्वर र उद्धारक । मबाहेक कुनै अरू छैन ।22 ए पृथ्वीका अन्तिम छेउका हो, मतिर फर्क र बाँच । किनकि म नै परमेश्वर हुँ र त्यहाँ अरू कोही छैन ।23 म आफैमा शपथ खान्छु, मेरो न्यायी आदेश दिन्छु र यो फिर्ता हुनेछैन, 'मेरो सामु हरेक घुँडा टेक्नेछ, हरेक जिब्रोले स्वीकार गर्नेछ ।24 तिनीहरूले मेरो बारेमा यसो भन्नेछन्, "परमप्रभुमा मात्र उद्धार र शक्ति छ ।" ' " उहाँसँग रिसाउनेहरू सबै लाजमा पर्नेछन् ।25 परमप्रभुमा नै इस्राएलका सबै सन्तानहरू धर्मी ठहरिनेछन् । तिनीहरूले उहाँमा नै गर्व गर्नेछन् ।