44
ए मेरो सेवक, याकूब, ए इस्राएल जसलाई मैले चुनेको छु, अब सुन्ः2 परमप्रभु जसले तँलाई गर्भमा बनाउनुभयो र आकार दिनुभयो, अनि जसले तँलाई सहायता गर्नुहुनेछः उहाँले यसको भन्नुहुन्छ, "ए याकूब, मेरो सेवक, नडरा । अनि ए यशूरून, जसलाई मैले चुनेको छु ।3 किन सुकेको जमिनमाथि म पानी खन्याउनेछु र सुक्खा जमिनमाथि खोलाहरू बगाउनेछु । तेरो सन्तानमाथि मेरो आत्मा र तेरा छोराछोरीहरूमाथि मेरो आशिष् म खन्याउनेछु ।4 तिनीहरू घाँसहरू माझमा पानीको नदीको किनारको लहरे-पिपलहरू झैँ उम्रनेछन् ।5 कसैले भन्नेछ, "म परमप्रभुको हुँ', अनि अर्कोले याकूबको नाउँ लिनेछ, र अर्कोले आफ्नो हातमा 'म परमप्रभुको हुँ', भनी लेख्नेछ र आफैलाई इस्राएलको नाउँ दिनेछ ।6 इस्राएलका राजा, त्यसको उद्धारक, सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, "म नै पहिलो हुँ र म नै अन्तिम हुँ । र मबाहेक अरू कुनै परमेश्वर छैन ।7 म जस्तो को छ ? आफ्ना प्राचीन मानिसहरूलाई मैले स्थापित गरेदेखि भएका घटनाहरू त्यसले मलाई घोषणा गरोस् र त्यो वर्णन गरोस्, अनि तिनीहरूले हुन आउने घटनाहरूका बारेमा घोषणा गरून् ।8 नडरा नता भयभीत हो । के मैले धेरै पहिले नै यो तँलाई घोषणा गरेको र सुचना दिएको होइन र ? तिमीहरू मेरा गवाहीहरू हौः "के मबाहेक अरू कुनै परमेश्वर छ र ? त्यहाँ अरू कुनै चट्टान छैन । म यस्ता कुनैलाई चिन्दिनँ ।9 मूर्तिहरू बनाउने सबै जना केही पनि होइनन् । तिनीहरू प्रशन्न हुने थोकहरू व्यर्थ हुन् । तिनीहरूका गवाहीहरूले कुनै कुरा पनि देख्न वा जान्न सक्दैनन् र तिनीहरू लाजमा पारिनेछन् ।10 कसले देवतालाई आकार दिन्छ वा व्यर्थको मूर्ति खोप्छ ?11 हेर, त्यसका सबै सहकर्मी लाजमा पारिनेछन् । कारीगरहरू मानिसहरू मात्र हुन् । तिनीहरूले एकसाथ आफ्ना अडान लेऊन् । तिनीहरू तर्सिनेछन् र लज्जित हुनेछन् ।12 सुनारले आफ्ना औजारहरूले भुङ्ग्रोमा काम गरेर त्यो बनाउँछ । उसले त्यसलाई घनले आकार दिन्छ र आफ्नो बलियो पाखुराले त्यसको काम गर्छ । ऊ भोकाउँछ र उसको बल घट्छ । उसले पानी पिउँदैन र मूर्च्छा पर्छ ।13 सिकर्मीले काठलाई धागोले नाप्छ र कलमले त्यसमा चिन्ह लगाउँछ । उसले आफ्ना औजारहरूले त्यसलाई आकार दिन्छ र पर्कालले त्यसमा चिनो लगाउँछ । उसले त्यसलाई आकर्षक मानिस जस्तै मानिसको आकारमा बनाउँछ, ताकि त्यो घरमा नै रहोस् ।14 उसले देवदारु काट्छ, वा सल्लाको रूख वा फलाँटको रूख छान्छ । उसले आफ्नो निम्ति वनका रूखहरू छान्छ । उसले सल्लाको रूख लगाउँछ र पानीले त्यसलाई बढाउँछ ।15 अनि मानिसले त्यसलाई दाउरा बाल्न र आफूलाई न्यानो पार्न प्रयोग गर्छ । हो, उसले आगो बाल्छ र रोटी पकाउँछ । त्यसपछि उसले त्यसबाट एउटा देउता बनाउँछ र त्यसमा घोप्टो पर्छ । उसले एउटा मूर्ति बनाउँछ र त्यसमा घोप्टो पर्छ ।16 आफूले खाने मासु पकाउँछ त्यो रूखका केही भागलाई उसले दाउरा बाल्छ । उसले खान्छ र तृप्त हुन्छ । उसले आफैलाई न्यानो बनाउँछ र भन्छ, "ओहो, म तातो भएको छु, मैले आगो देखेको छु ।"17 बाँकी रहेको काठले उसले एउटा देउता अर्थात् आफ्नो खोपेको मूर्ति बनाउँछ । त्यसमा ऊ घोप्टो पर्छ र त्यसको आदर गर्छ, र यसो भन्दै त्यसमा प्रार्थना चढाउँछ, "मलाई बचाउनुहोस्, किनकि तपाईं मेरो ईश्वर हुनुहुन्छ ।18 तिनीहरूले जान्दैनन्, न तिनीहरूले बुझ्छन्, किनकि तिनीहरूका आँखा अन्धा छन् र देख्न सक्दैनन्, अनि तिनीहरूका हृदयहरूले बुझ्न नै सक्दैनन् ।19 कसैले विचार गर्दैन, न तिनीहरूले बुझ्छन् र भन्छन्, "मैले रूखका केही भाग दाउरा बालेँ । हो, त्यसको भुङ्ग्रोमा मैले रोटी पनि पकाएको छु । त्यसको भुङ्ग्रोमा मैले मासुको सुकुटी पनि बनाएको र खाएको छु । अब के मैले त्यो रूखबाट बचेको अरू भागबाट पूजा गर्न घिन लाग्ने कुरा बनाउनु र ? के म काठको टुक्रामा घोप्टो पर्नु र ?20 यो त उसले खरानी खाएको जस्तो भयो । उसको छलमा परेको हृदयले उसलाई बहकाउँछ । उसले आफैलाई बचाउन सक्दैन, न उसले यसो भन्छ, "मेरो दाहिने हातमा भएको यो कुरा झूटो देवता हो ।"21 ए याकूब र इस्राएल, यी कुराहरूका बारेमा विचार गर्, किनकि तँ मेरो सेवक होस्ः "मैले तँलाई आकार दिएको हुँ । तँ मेरो सेवक होस्ः ए इस्राएल, तँलाई बिर्सिइनेछैन ।22 तेरा विद्रोहका कामहरूलाई एउटा बाक्लो बादललाई झैँ र तेरा पापहरूलाई एउटा बादललाई झैँ मैले हटाएको छु । मकहाँ फर्की, किनकि मैले तँलाई उद्धार गरेको छु ।23 ए आकाश गाओ, किनकि परमप्रभुले नै यसो गर्नुभएको हो । ए पृथ्वीका गहिराइ हो कराओ । ए पर्वतहरू, वनका सबै रूख हो, गीत गाओ । किनकि परमप्रभुले याकूबलाई उद्धार गर्नुभएको छ र इस्राएलमा आफ्नो महिमा प्रकट गर्नुहुनेछ ।24 तँलाई गर्भमा आकार दिनुहुने परमप्रभु तेरा उद्धारक यसो भन्नुहुन्छः "म परमप्रभु हुँ, जसले हरेक कुरा बनाएँ, जसले आकाशलाई एक्लै फैलाएँ, जसले पृथ्वीलाई एक्लै बनाएँ ।25 हात हेरेर फतफताउनेका खोक्रा कुरालाई व्यर्थ तुल्याउने म नै हुँ र हात हेर्ने कुरा पढ्नेलाई घृणा गर्ने म नै हुँ । यस्ता बुद्धिमान्हरूका बुद्धिलाई उल्टाउने र तिनीहरूका सल्लाहलाई मूर्ख बनाउने म नै हुँ ।26 आफ्ना सेवकका वचनहरू पूरा गर्ने र आफ्ना दूतहरूका भविष्यवाणी पूरा गर्ने परमप्रभु म नै हुँ, जसले यरूशलेमलाई भन्छ, 'त्यसमा बसोबास गरिनेछ' र यहूदाका नगरहरूका बारेमा भन्छ, 'तिनीहरूलाई फेरि निर्माण गरिनेछ र म तिनका भग्नावशेषहरूलाई खडा गर्नेछु ।'27 जसले गहिरो समुद्रलाई भन्छ, 'सुक् र तेरा धारहरूलाई म सुकाउनेछु ।'28 जसले कोरेसलाई भन्छ, 'त्यो मेरो गोठालो हो, त्यसले मेरा हेरक इच्छा पूरा गर्नेछ । त्यसले यरूशलेमको बारेमा, 'त्यसलाई पुननिर्माण गरिनेछ' र मन्दिरको बारेमा, 'यसको जग बसालियोस्' भनेर आदेश दिनेछ ।"