39
त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदकबलदानले हिजकियालाई पत्रहरू र उपहार पठाए । किनभने हिजकिया बिरामी भएका थिए र निको भए भनी उनले सुनेका थिए ।2 यी कुराहरूमा हिजकिया प्रशन्न भएका थिए । ती दूतहरूलाई आफ्ना चाँदी, सुन, मसलाहरू र बहुमूल्य तेलका भण्डार, आफ्ना हतियारहरूका भण्डार र आफ्ना भण्डारमा भेट्टाएका सबै थोक तिनले देखाए । हिजकियाले तिनीहरूलाई नदेखाएका तिनका दरबारमा र राज्यमा कुनै पनि कुरा थिएन ।3 त्यसपछि यशैया अगमवक्ता हिजकिया राजाकहाँ आए र तिनलाई सोधे, "यी मानिसहरूले तपाईंलाई के भने ? तिनीहरू कहाँबाट आएका थिए ?" हिजकियाले भने, "तिनीहरू बेबिलोनको टाढा देशबाट मकहाँ आएका हुन् ।"4 यशैयाले सोधे, "तिनीहरूले तपाईंको दरबारमा के-के कुराहरू हेरेका छन् ?" हिजकियाले जवाफ दिए, "तिनीहरूले मेरो दरबारका हरेक कुरा हेरेका छन् । मेरा बहुमूल्य थोकहरूमा तिनीहरूलाई मैले नदेखाएको कुनै पनि थोक छैन ।"5 तब यशैयाले हिजकियालाई भने, "सर्वशक्तिमान् परमप्रभुको वचन सुन्नुहोस्,6 ‘हेर्, यस्ता दिनहरू आउँदैछन् जति बेला तेरा दरबारमा भएका हरेक कुरा, आजको दिनसम्म तेरा पुर्खाहरूले भण्डारण गरेका कुराहरू बेबिलोनमा लगिनेछ । परमप्रभु भन्नुहुन्छ, कुनै कुरा पनि छोडिनेछैन ।7 तँबाट जन्मिएका छोराहरू, जसका बाबु तँ आफैँ होस्, तिनीहरूले नै ती लानेछन् र बेबिलोनका राजाको दरबारमा तिनीहरू नपुङ्सकहरू बन्नेछन्' ।"8 तब हिजकियाले यशैयालाई भने, "तपाईंले भन्नुभएको परमप्रभुको वचन असल छ ।" किनकि तिनले सोचे, "मेरो जीवनकालभरि शान्ति र स्थिरता हुनेछ ।"