40
तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्‍छ, "सान्‍त्वना, मेरा मानिसहरू सान्‍त्वना ।2 यरूशलेमसँग कोमल भएर बोल । अनि त्‍यसलाई घोषणा गर, त्‍यसका युद्ध समाप्‍त भएको छ, त्‍यसका अधर्म क्षमा गरिएको छ, आफ्ना सबै पापहरूका निम्ति त्‍यसले परमप्रभुबाट दोब्बर पाएको छ ।3 एउटा आवाजले कराउँछ, "उजाड-स्थानमा परमप्रभुको बाटो तयार पार । अरबमा हाम्रा परमेश्‍वरको निम्ति मूल बाटो सोझो बनाओ ।"4 हरेक मैदानलाई माथि उठाइनेछ, र हरेक पर्वत र डाँडालाई समतल पारिनेछ । खाल्‍डाखुल्‍डी जमिनलाई समतल बनाइनेछ र नमिलेको ठाउँहरूलाई मैदान बनाइनेछ ।5 र परमप्रभुको महिमा प्रकट गरिनेछ र सबै मानिसहरूले एकसाथ यो देख्‍नेछन् । किनकि परमप्रभुको मुखले यो बोलेको छ ।6 एउटा आवाजले भन्‍छ, "करा ।" अर्कोले जवाफ दिन्‍छ, "मैले के भनेर कराउने ?" सबै प्राणी घाँस हो र तिनीहरूका विश्‍वसनीयताको करार सबै खेतबारीका फूल जस्‍तै हो ।7 यसमाथि परमप्रभुको सास पर्दा घाँस ओइलाउँछ र फूल सुक्छ । निश्‍चय नै मानवहरू घाँसै हुन् ।8 घाँस ओइलाउँछ, फूल सुक्छ, तर हाम्रा परमेश्‍वरको वचन सदासर्वदा रहन्‍छ ।9 ए सुसमाचार ल्याउनेहरू हो, उच्‍च पहाड सियोनमाथि जाओ । हे यरूशलेम ठूलो स्‍वरमा कराओ । ए सुसमाचार ल्याउनेहरू हो, आफ्ना स्‍वर उचाल, नडराओ । यहूदाका सहरहरूलाई भन, "तिमीहरूका परमेश्‍वर यहाँ हुनुहुन्‍छ !"10 हेर, परमप्रभु परमेश्‍वर विजयी योद्धाझैँ आउनुहुन्‍छ र उहाँका शक्तिशाली बाहुलीले उहाँको निम्ति शासन गर्छ । हेर, उहाको इनाम उहाँसँगै छ र उहाँले उद्धार गर्नुभएकाहरू उहाँको अगि-अगि जान्‍छन् ।11 एक जना गोठालोले झैँ उहाँले आफ्ना बगाललाई खुवाउनुहुनेछ, उहाँले थुमाहरूलाई आफ्नो बाहुलीमा जम्मा गर्नुहुनेछ र तिनीहरूलाई आफ्ना हृदयको छेउमा बोक्‍नुहुनेछ, अनि पाठाहरूलाई दूध खुवाउने भेडाहरूलाई कोमल भएर डोर्‍याउनुहुनेछ ।12 पानीलाई कसले आफ्नो हातमा नापेको छ, आकाशलाई कसले आफ्नो हातले नापेको छ, पृथ्वीको धूलोलाई कसले डालोमा राखेको छ, पहाडहरू वा पर्वतहरूलाई कसले तराजुमा जोखेको छ ?13 परमप्रभुको मनलाई कसले बुझेको छ, वा उहाँको सल्लाहकार भएर उहाँलाई कसले सिकाएको छ ?14 कसबाट उहाँले कुन बेला सुझाव पाउनुभयो ? उहाँलाई कुराहरू गर्ने ठीक तरिका कसले सिकाएको छ, अनि उहाँलाई कसले ज्ञान सिकाएको वा उहाँलाई कसले समझको बाटो देखाएको छ ?15 हेर, जातिहरू बाल्टीमा एक थोपा पानी जस्‍तै हुन् र तराजुहरूमा धूलो जस्‍तै ठानिन्‍छन् । हेर, उहाँले टापूहरूलाई छेस्कोझैँ जोख्‍नुहुन्‍छ ।16 लेबनान दाउराको निम्ति पर्याप्‍त छैन न त यसका जङ्‌गली जनावरहरू होम बलिको निम्ति पर्याप्‍त छन् ।17 उहाँको सामु सबै जातिहरू अपर्याप्‍त छन् । उहाँले तिनीहरूलाई केही जस्‍तो पनि ठान्‍नुहुन्‍न ।18 तब तिमीहरूले परमेश्‍वरलाई केसँग तुलना गर्नेछौ ? तिमीहरूले उहाँलाई कुन मूर्तिसँग तुलना गर्नेछौ ?19 एउटा मूर्ति ! एक जना कारीगरले यसलाई बनाउँछः सुनारले यसमा सुनको जलप लगाउँछ र यसको निम्ति चाँदीको सिक्री बनाउँछ ।20 बलि चढाउनलाई कसैले नकुहुने काठ ल्याउँछ । नढल्ने मूर्ति बनाउन उसले एक जना निपुण कारीगर खोज्छ ।21 के तिमीहरूले जानेका छैनौ ? के तिमीहरूले सुनेका छैनौ ? के सुरुदेखि नै यो कुरा तिमीहरूलाई भनिएको छैन ? पृथ्वीको जगहरू बसालेदेखि नै तिमिहरूले बुझेका छैनौ ?22 पृथ्वीको क्षितिज भन्‍दा माथि विराजमान हुनुहुने उहाँ नै हुनुहुन्‍छ । अनि यसका बासिन्‍दाहरू उहाँको सामु फट्‌याङ्‌ग्राहरू जस्‍तै छन् । आकाशहरूलाई उहाँले पर्दाझैँ तन्काउनुहुन्‍छ र तिनीहरूलाई बस्‍ने पालझैँ फिँजाउनुहुन्‍छ ।23 उहाँले शासकहरूलाई बकामको बनाउनुहुन्‍छ र पृथ्वीका शासकहरूलाई नगण्‍य बनाउनुहुन्‍छ ।24 ती रोपिने बित्तिकै, छरिने बित्तिकै, तिनका जरा जमिनमा पर्ने बित्तिकै, जब उहाँले तीमाथि फुक्‍नुहुन्‍छ, तब तिनीहरू ओइलाउँछन्, र हावाले तिनलाई परालझैँ लैजान्‍छ ।25 परमपवित्र भन्‍नुहुन्‍छ, "तब तिमीहरूले मलाई कोसँग तुलना गर्छौ, म को जस्‍तो छु ?26 माथि आकाशमा हेर ! यी सबै ताराहरूलाई कसले सृजेका हुन् ? उहाँले तिनको निर्माणलाई डोर्‍याउनुहुन्‍छ र ती सबैको नाउँ काढेर बोलाउनुहुन्‍छ । उहाँको शक्तिको महान्‌ता र उहाँको सामर्थ्यको शक्तिद्वारा एउटा पनि हराएका छैनन् ।27 ए याकूब, तँ किन यसो भन्‍छस्, ए इस्राएल, तँ किन घोषणा गर्छस्, "मेरो बाटो परमप्रभुबाट लुकाइएको छ र मेरो परमेश्‍वरले मेरो बदलाको वास्ता गर्नुहुन्‍न ?"28 के तैँले जानेको छैनस् ? के तैँले सुनेका छैनस् ? परमप्रभु अनन्‍तका परमेश्‍वर, पृथ्वीको अन्‍तसम्मका सृष्‍टिकर्ता थकित वा हैरान बन्‍नुहुन्‍न । उहाँको समझको कुनै सीमा छैन ।29 उहाँले थकितहरूलाई बल दिनुहुन्‍छ । अनि कमजोरहरूलाई उहाँले नयाँ उर्जा दिनुहुन्‍छ ।30 जवान मानिसहरू पनि थकित र हैरान हुन्‍छन्, अनि जवानहरूले ठेस खान्‍छन् र ढल्छन्ः31 तर परमप्रभुमा आशा गर्नेहरूले आफ्नो बललाई नयाँ बनाउनेछन् । तिनीहरू चीलहरू झैँ पखेटाहरूले माथि-माथि उड्नेछन् । तिनीहरू दौडनेछन् र हैरान हुनेछैनन् । तिनीहरू हिँड्नेछन् र मूर्च्‍छा पर्नेछैनन् ।