38
ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्‍यको मुखैमा पुगे । त्‍यसैले आमोजका छोरा यशैया अगमवक्ता तिनीकहाँ आए र तिनलाई भने, "परमप्रभु भन्‍नुहुन्‍छ, 'आफ्नो घरको व्यवस्थापन गर् । किनभने तँ मर्नेछस्, बाँच्‍नेछैनस्' ।"2 तब हिजकियाले आफ्नो मुख भित्तातिर फर्काए र परमप्रभुमा प्रार्थना चढाए ।3 तिनले भने, "कृपया, हे परमप्रभु, म तपाईंको सामु कसरी सारा हृदयले विश्‍वासयोग्य भएर हिँडेको छु र मैले तपाईंको नजरमा जे असल छ सो कसरी गरेको छु सो सम्झनुहोस् ।" अनि हिजकिया धुरुधुरु रोए ।4 तब यशैयाकहाँ परमप्रभुको वचन यसो भनेर आयो,5 "जा, मेरा मानिसहरूका अगुवा हिजकियालाई यसो भन्, 'परमप्रभु, तेरो पुर्खा दाऊदका परमेश्‍वर यसो भन्‍नुहुन्‍छः मैले तेरो प्रार्थना सुनेको छु, र मैले तेरो आँसु देखेको छु । हेर्, तेरो जीवनमा पन्ध्र वर्ष आयु मैले थप्‍न लागेको छु ।6 तब म तँलाई र यस सहरलाई अश्शूरका राजाको हातबाट छुटकारा दिनेछु र म यो सहरको रक्षा गर्नेछु ।7 मैले जे प्रतिज्ञा गरेको छु सो मैले गर्नेछु भन्‍ने कुराको परमप्रभुबाटको चिन्ह तँलाई यो हुनेछ ।8 हेर, म आहाजको सिँढीको छायाँलाई दश कदम पछाडि जान लगाउनेछु ।" त्‍यसैले सिँढीको छाया दश कदम पछाडि गयो, जुन अगि बढेको थियो ।9 यहूदाका राजा हिजकिया बिरामी भएर निको भएपछि तिनले लेखेको प्रार्थना यही थियो,10 "मैले भनेँ मेरो आधा जीवनमा नै म चिहानको ढोकाभित्र जानेछु । मेरो बाँकी वर्षहरूका निम्ति मलाई त्‍यहाँ पठाइन्‍छ ।11 मैले भनेँ परमप्रभुलाई म देख्‍नेछैन, जीवितहरूको देशमा म परमप्रभुलाई कदापि देख्‍नेछैन । मानवजाति वा संसारको बासिन्‍दालाई म फेरि देख्‍नेछैन ।12 मेरो जीवन मबाट गोठालोको पालझैँ बोकेर लगिएको छ र हटाइएको छ । मेरो जीवनलाई मैले एउटा जुलाहाले जस्‍तो बेह्रेको छु । तपाईंले मलाई तानबाट काट्दै हुनुहुन्‍छ । तपाईंले मेरो जीवनलाई दिन र रातको बीचमा अन्‍त गर्दै हुनुहुन्‍छ ।13 मैले बिहानसम्म नै पुकारा गरेँ । उहाँले मेरा सबै हड्‌डीहरूलाई सिंहले झैँ तोड्नुहुन्‍छ । तपाईंले मेरो जीवनलाई दिन र रातको बीचमा अन्‍त गर्दै हुनुहुन्‍छ ।14 गौँथलीझैँ म चिरबिर गर्छु । ढुकुरझैँ घुर्रघुर्र गर्छु । माथितिर हेरेर मेरा आँखा थकित भएका छन् । हे परमप्रभु, म दुःखमा परेको छु । मलाई सहायता गर्नुहोस् ।15 म के भन्‍न सक्छु र ? उहाँ मसँग बोल्ने अनि त्‍यसलाई पूरा गर्ने दुवै गर्नुभएको छ । मेरा सबै वर्षहरूमा म बिस्तारै हिँड्नेछु किनभने म शोकले व्याकुल भएको छु ।16 हे परमप्रभु, तपाईंले पठाउनुभएका दुःखकष्‍ट मेरो निम्ति असल छन् । मेरो जीवन मलाई फिर्ता दिइयोस् । तपाईंले मरो जीवन र स्वस्थ्यलाई पुनर्स्थापना गर्नुभएको छ ।17 मेरै भलाइको निम्ति मैले यस्तो शोकको अनुभव गरेँ । तपाईंले मलाई विनाशको खाडलबाट छुटकारा दिनुभएको छ । किनकि तपाईंले मेरा सबै पापहरूलाई आफ्नो पछाडि फाल्नुभएको छ ।18 किनकि चिहानले तपाईंलाई धन्‍यवाद दिँदैन । मृत्‍युले तपाईंको प्रशंसा गर्दैन । चिहानतिर जानेहरूले तपाईंको विश्‍वसनीयताको आशा गर्दैनन् ।19 जस्‍तो म आज गर्दैर्छु, जीवित व्यक्तिले, केवल जीवित व्यक्तिले मात्र तपाईंलाई धन्‍यवाद दिन्‍छ । एक बाबुले आफ्‍ना छोरछोरीहरूलाई तपाईंको विश्‍वसनीयताको बारेमा भन्‍छन् ।20 परमप्रभुले मलाई बचाउन लाग्‍नुभएको छ र हामीले परमप्रभुको मन्‍दिरमा हाम्रो सारा दिनहरूभरि भजन गाउँदै उत्सव मनाउनेछौँ ।21 यति बेला यशैयाले भनेका थिए, "अञ्‍जीरको लेप लिनु र त्‍यसलाई त्‍यो घाउमा लगाउनु र उहाँ निको हुनुहुनेछ ।"22 हिजकियाले यसो पनि भनेका थिए, "म परमप्रभुको मन्‍दिरमा जानुपर्छ भन्‍ने कुराको लागि के चिन्ह हुनेछ ?"