37
हिजकिया राजाले तिनीहरूको कुरा सुनेपछि, तिनले आफ्ना लुगा च्याते, आफूलाई भाङ्ग्राले ढाके र परमप्रभुको मन्दिरमा गए ।2 राजदरबारका निरीक्षक एल्याकीम, र शास्त्री शेब्ना र पूजाहारीहरूका धर्मगुरुहरूलाई सबैलाई भङ्ग्रा लगाएर तिनले आमोजका छोरा यशैया अगमवक्ताकहाँ पठाए ।3 तिनीहरूले उनलाई भने, "हिजकियाले भन्नुहुन्छ, 'आजको दिन बालक जन्माउनलाई प्रसव भएको, तर आफ्नो बालक जन्माउन आमासँग कुनै बल नभए जस्तो दुःख, हप्की र अपमानको दिन हो ।4 शायद तपाईंका परमप्रभु परमेश्वरले प्रमुख सेनापतिका कुराहरू सुन्नुहुनेछ जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्वरको निन्दा गर्न पठाएका छन्, र परमप्रभु तपाईंको परमेश्वरले सुन्नुभएको कुराको निम्ति उहाँले हप्काउनुहुनेछ । अब अझै यहाँ बाँकी रहेकाहरूका निम्ति तपाईंले प्रार्थना गरिदिनुहोस्' ।"5 त्यसैले हिजकिया राजाका सेवकहरू यशैयाकहाँ आए,6 र यशैयाले तिनीहरूलाई भने, "आफ्ना मालिकलाई भन, 'परमप्रभु भन्नुहुन्छ, "अश्शूरका राजाले मेरो अपमान गर्न पठाएका सेवकहरूले भनेका कुराहरूदेखि तँ नडरा, जुन तैँले सुनिस् ।7 हेर्, उसमा म एउटा आत्मा हालिदिनेछु, उसले एउटा खबर सुन्नेछ र ऊ फर्केर आफ्नै देशमा जानेछ । उसको आफ्नै देशमा म उसलाई तरवारले मार्नेछु ।" ' "8 तब प्रमुख सेनापति फर्के र अश्शूरका राजाले लिब्नासँग युद्ध गरिरहेको भेट्टाए, किनकि राजा लाकीशबाट गएका छन् भन्ने तिनले सुनेका थिए ।9 तब कूशका राजा तिर्हाकाह र मिश्र देशले सनहेरीबको विरुद्धमा युद्ध सुरु गरे भन्ने तिनले सुने, त्यसैले तिनले हिजकियालाई यस्तो सन्देशसहित दूतहरू पठाएः10 "यहूदाका राजा हिजकियालाई यसो भन, 'तिमीले भरोसा गर्ने परमेश्वरले तिमीलाई यसो भनेर छल नगरून्, 'यरूशलेमचाहिँ अश्शूरका राजाको हातमा दिइनेछैन' ।11 हेर, अश्शूरका राजाले सबै देशहरूलाई पूर्ण रूपमा नष्ट पारेर के गरेका छन् भन्ने तिमीहरूले सुनेका छौ । त्यसैले के तिमीले चाहिँ छुटकारा पाउनेछौ र ?12 के मेरा पुर्खाहरूले नष्ट पारेका जातिहरूः गोजान, हारान, रेसेप र तेल-अस्सारका अदनका मानिसहरू, देवताहरूले तिनीहरूलाई छुटकारा दिए ?13 हमातका राजा, अर्पादका राजा, सपर्बेम सहरहरूका, हेनाका र इव्वाका राजा कहाँ छन् ?' "14 हिजकियाले दूतबाट त्यो पत्र प्राप्त गरे र त्यो पढे । अनि तिनी परमप्रभुको मन्दिरमा गए र त्यसलाई उहाँको सामु फिँजाए ।15 हिजकियाले परमप्रभुसँग प्रार्थना गरे,16 "हे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर, तपाईं करूबहरूमाथि विराजमान हुनुहुन्छ, तपाईं नै पृथ्वीका सारा राज्यहरूमाथि एक मात्र परमेश्वर हुनुहुन्छ ।17 हे परमप्रभु, तपाईंको कान फर्काउनुहोस् र सुन्नुहोस् । हे परमप्रभु तपाईंको आँखा खोल्नुहोस् र हेर्नुहोस्, अनि सनहेरीबका कुरा सुन्नुहोस्, जुन तिनले जीवित परमेश्वरको गिल्ला गर्न पठाएका छन् ।18 हे परमप्रभु, यो सत्य हो, अश्शूरका राजाहरूले सबै जातिहरू र तिनीहरूका देशलाई विनाश गरेका छन् ।19 तिनीहरूले उनीहरूका देवताहरूलाई आगोले जलाएका छन्, किनकि ती देवताहरू थिएनन् तर मानिसको हातले बनेका काठ र ढुङ्गाका काम मात्र थिए । त्यसैले अश्शूरीहरूले तिनीहरूलाई विनाश गरेका छन् ।20 त्यसैले अब, हे परमप्रभु हाम्रो परमेश्वर हामीलाई त्यसको शक्तिबाट बचाउनुहोस्, ताकि पृथ्वीका सबै राज्यले जानोस् कि तपाईं मात्र परमप्रभु हुनुहुन्छ ।"21 तब आमोजका छोरा यशैयाले हिजकियाकहाँ यसो भनेर सन्देश पठाए, "परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, 'तैँले अश्शूरका राजा सनहेरीबको विषयमा मसँग प्रार्थना गरेको हुनाले,22 परमप्रभुले उसको बारेमा भन्नुभएको वचन यही होः "सियोनका कन्ये छोरीले तँलाई घृणा गर्छे र खिसी गर्न तँमा हाँस्छे । यरूशलेमकी छोरीले तँलाई आफ्नो टाउको हल्लाउँछे ।23 तैँले कसको निन्दा र अपमान गरेको छस् ? कसको विरुद्धमा तैँले घमण्डमा आफ्ना आँखा उचालेको छस् र आफ्नो स्वर उच्च पारेको छस् ? इस्राएलको परमपवित्रको विरुद्धमा हो ।24 तेरो सेवकहरूद्वारा तैँले परमप्रभुको निन्दा गरेको छस् र भनेको छस्, 'मेरा असङ्ख्य रथहरूसहित पहाडहरूको उच्च स्थानहरूमा र लेबनानको उच्च ठाउँहरूमा म गएको छु । यसका अग्ला-अग्ला देवदारुहरू र यसका असल-असल सल्ला रूखहरूलाई म काट्नेछु र यसका सबै भन्दा उच्च स्थानहरू, यसका सब भन्दा बढी फलदायी जङ्गलहरूमा म पस्नेछु ।25 मैले इनारहरू खनेको छु र पानी पिएको छु । मिश्र देशका सबै नदीहरूलाई मेरा गोडाको पैतालामुनि मैले सुकाएको छु ।26 मैले यसलाई लामो समयअघि नै कसरी निश्चित गरेको छु र यसको प्राचीन समयमा नै योजना गरेको छु भन्ने तैँले सुनेको छैनस् ? अहिले म यसलाई पूरा गर्दैछु । तँ यहाँ जित्न नसकिने सहरहरूलाई भग्नावशेष बनाउनलाई छस् ।27 थोरै बल भएका तिनीहरूका बासिन्दाहरूलाई चुरचुर पारिन्छ र लज्जित हुन्छन् । तिनीहरू खेतका बिरुवाहरू, हरियो घाँस, पूर्वीय बतासअगिको छाना वा खेतमा भएका घाँस हुन् ।28 तर तेरो बसाइ, तँ बाहिर गएको, भित्र आएको र तँ मेरो विरुद्धमा रिसाएको मलाई थाहा छ ।29 म विरुद्धको तेरो रीसको कारणले र तेरो अहंकार मेरो कानमा परेको हुनाले, तेरो नाकमा म आफ्नो बल्छी हाल्नेछु र म आफ्नो लगाम तेरो मुखमा हाल्नेछु । तँ जताबाट आएको हो त्यतै म तँलाई फर्काउनेछु ।30 तेरो निम्ति चिन्ह यो हुनेछ, "यो वर्ष तैँले आफै उम्रेका कुरा खानेछस्, र दोस्रो वर्षमा त्यसबाट उम्रेका कुरा खानेछस् । तर तेस्रो वर्ष तैँले रोप्नुपर्छ र कटनी गर्नुपर्छ, दाखबारी रोप्नुपर्छ र तिनका फल खानुपर्छ ।31 यहूदाको घरानाका बाँचेर बाँकी रहेकाहरूले फेरि जरा हाल्नेछन् र फल फलाउनेछन् ।32 किनकि यरूशलेमबाट बाँकी रहेकाहरू आउनेछन् । सियोन पर्वतबाट बाँचेकाहरू आउनेछन् ।' सर्वशक्तिमान् परमप्रभुको जोशले यो गर्नेछ ।"33 यसकारण परमप्रभुले अश्शूरका राजाको बारेमा यसो भन्नुहुन्छ, "यो सहरभित्र ऊ आउनेछैन र उसले यहाँ एउटा वाण पनि हान्नेछैन । यसको सामु ऊ ढाल लिएर आउनेछैन वा यसको विरुद्धमा घेरा-मचान बनाउनेछैन ।34 जुन बाटोबाट ऊ आयो त्यही बाटोबाट ऊ नै जानेछ । यस सहरभित्र ऊ पस्नेछैन - यो परमप्रभुको घोषणा हो ।35 किनकि मेरो निम्ति र मेरा सेवक दाऊदको निम्ति, म यो सहरको रक्षा गर्नेछु र यसलाई छुटकारा दिनेछु ।"36 तब परमप्रभुको दूत गए र अश्शूरीको छाउनीमा आक्रमण गरेर १,८५,००० सिपाहीहरूलाई मारे । बिहान सबेरै मानिसहरू उठे, तब लाशहरू जताततै छरिएका थिए ।37 त्यसैले अश्शूरका राजा सनहेरीबले इस्राएल छाडे र घर गए र निनवेमा नै बसे ।38 पछि, उसले आफ्नो देवता निस्रोकको मन्दिरमा पूजा गरिरहँदा, उसको छोरा अद्रम्मलेक र शरेसेरले तिनलाई तरवारले मारे । त्यसपछि तिनीहरू आरारातको देशमा भागेर गए । त्यसपछि उसको ठाउँमा उसको छोरा एसरहदोनले राज्य गरे ।