36
हिजकिया राजाको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका किल्लाबन्दी गरिएका सबै सहरहरूमा आक्रमण गरे र ती कब्जा गरे ।2 तब अश्शूरका राजाले प्रमुख सेनापतिलाई लाकीशबाट यरूशलेममा हिजकिया राजाकहाँ ठूलो फौजसहित पठाए । तिनी धोबीहरूको खेततिर जाने मूल बाटोमा माथिल्लो तलाउको नहर छेउमा खडा भए ।3 तिनीहरूसँग कुरा गर्न जाने इस्राएली अधिकारीहरूमा दरबारका प्रशासक हिल्कियाहका छोरा एल्याकीम, राजाका सचिव शेब्ना र सरकारको निर्णय लेख्ने आसापका छोरा योआ थिए ।4 प्रमुख सेनापतिले तिनीहरूलाई भने, "हिजकियालाई भन कि अश्शूरका राजा महाराजाले भन्छन्, 'तिम्रो भरोसाको स्रोत के हो ?5 युद्धको निम्ति सल्लाह र सामर्थ्य छ भनी तिमीले व्यर्थका शब्दहरू मात्र बोल्छौ । अहिले तिमीले कसलाई भरोसा गरिरहेका छौ ? मेरो विरुद्धमा विद्रोह गर्न तिमीलाई कसले आँट दिएको छ ?6 हेर, तिमी मिश्र देशमा भर पर्दैछौ, जुन फुटेको नर्कट हो, जसलाई तिमीले हिँड्ने लट्ठीको रूपमा प्रयोग गर्छौ, तर एक जना मानिस यसमा ढल्किन्छ भने, त्यसको हातमा त्यसले घोच्नेछ र त्यसलाई छेड्नेछ । मिश्र देशका राजा फारोमा भरोसा गर्नेहरूका निम्ति त्यो त्यस्तै नै हुनेछ ।7 तर, "परमप्रभु हाम्रा परमेश्वरमा हामी भरोसा गरिरहेका छौँ” भनेर तिमी मलाई भन्छौ भने, के त्यो उही होइन जसका उच्च स्थानहरू र वेदीहरूलाई हिजकियाले हटाएका छन्, अनि यहूदा र यरूशलेमलाई भनेका छन्, "तिमीहरूले यरूशलेमको यस वेदीको सामु आराधना गर्नुपर्छ" ?8 यसकारण, अब मेरो मालिक अश्शूरका महाराजाको तर्फबाट म तिमीलाई असल कुरा दिन चाहन्छु । तिमीले घोडचढीहरू भेट्टाउन सक्छौ भने, म तिमीलाई दुई हजार घोडाहरू दिनेछु ।9 मेरो मालिकका सेवकहरूमध्ये सब भन्दा सानो एक जना कप्तानको पनि तिमीले कसरी सामना गर्न सक्छौ र ? तिमीले रथहरू र घोडचढीहरूका निम्ति मिश्र देशमा भरोसा गरेका छौ ।10 अब के मैले यहाँ यस देशको विरुद्धमा युद्ध गर्न र यसलाई विनाश पार्न परमप्रभुिबिना नै आएको हुँ र ? परमप्रभुले मलाई भन्नुभयो, "यो देशलाई आक्रमण गर् र त्यसलाई नाश गर् ।" ' "11 तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले प्रमुख सेनापतिलाई भने, "कृपया, तपाईंका सेवकहरूसँग आरमेइक भाषा बोल्नुहोस्, किनकि हामी यो बुझ्छौँ । पर्खालमा भएका यी मानिसहरूले सुन्ने गरी यहूदाको भाषामा नबोल्नुहोस् ।12 तर प्रमुख सेनापतिले भने, "के तिमीहरूका मालिक र तिमीहरूलाई मात्र यो कुरा भन्न मेरा मालिकले मलाई पठाउनुभएको हो र ? के पर्खालमाथि बस्ने मानिसहरूलाई पनि यो कुरा भन्न उहाँले मलाई पठाउनुभएको होइन र, जसले तिमीहरूसँगै आफ्नो दिसा खानुपर्छ र आफ्नो पिसाब पिउनुपर्छ ?13 तब प्रमुख सेनापति खडा भए र ठूलो स्वरमा यहूदी भाषामा नै यसो भने, "महान् राजा, अश्शूरका महाराजाका कुरा सुन ।14 महाराजा भन्नुहुन्छ, 'हिजकियाले तिमीहरूलाई छल नगरोस्, किनकि त्यसले तिमीहरूलाई छुटकारा दिन सक्नेछैन ।15 तिमीहरूलाई यसो भन्दै परमप्रभुमा भरोसा गर्ने बनाउन हिजकियालाई नदेओ, "परमप्रभुले निश्चय पनि हामीलाई छुटकारा दिनुहुनेछ । यो सहर अश्शूरका राजाको हातमा दिइनेछैन ।" '16 हिजकियाको कुरा नसुन, किनकि अश्शूरका राजा यसो भन्नुहुन्छ, 'मसँग मिलाप गर र मकहाँ बाहिर आओ । तब तिमीहरूमध्ये हरेकले आ-आफ्नै दाख र अञ्जीरको रूखबाट खानेछ र आफ्नै इनारबाट पानी पिउनेछ ।17 तिमीहरूको जस्तै देशमा, अन्न र नयाँ दाखमद्यको देशमा, रोटी र दाखबारीको देशमा म आएर मैले तिमीहरूलाई नलगेसम्म तिमीहरूले यसै गर्नेछौ ।'18 हिजकियाले तिमीहरूलाई यसो भनेर भ्रममा पार्न नदेओ, 'परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ ।' के अश्शूरका राजाका हातबाट मानिसहरूका कुनै देवताहरूले तिनीहरूलाई छुटकारा दिएका छन् र ?19 हमात र अर्पादका देवताहरू कहाँ छन् ? सपर्बेमका देवताहरू कहाँ छन् ? के तिनीहरूले सामरियालाई मेरो शक्तिबाट छुटकारा दिएका छन् र ?20 यी देशहरूका सबै देवताहरूमध्ये कुनै देवताले आफ्नो देशलाई मेरो शक्तिबाट छुटकारा दिएका छन् । के परमप्रभुले यरूशलेमलाई मेरो शक्तिबाट बचाउनुभयो भने जस्तै कुरा गर्छौ ?"21 तर मानिसहरू चुपचाप बसे र कुनै जवाफ दिएनन्, किनकि "त्यसलाई जवाफ नदिनू" भन्ने राजाको हुकुम थियो ।22 तब राजदरवारका निरीक्षक हिल्कियाहका छोरा एल्याकीम, शास्त्री शेब्ना र लेखक आसापका छोरा योआले आफ्ना लुगा च्यातेर हिजकियाकहाँ आए र प्रमुख सेनापतिका कुरा तिनलाई सुनाए ।