35
उजाड-स्थान र अरब खुसी हुनेछन् । मरुभूमी आनन्‍दित हुनेछ र फुल्नेछ । गुलाफ जस्‍तै,2 त्‍यो प्रशस्त गरी फुल्नेछ आनन्‍द र गीतले रमाउनेछ । लेबनानको गौरव, कर्मेलको र शारोनको प्रताप यसलाई दिइनेछ । तिनीहरूले परमप्रभुको महिमा, हाम्रा परमेश्‍वरको वैभव देख्‍नेछन् ।3 कमजोर हातहरूलाई बलियो बनाओ र काँप्‍ने घुँडाहरूलाई सीधा पार ।4 डराएका हृदय भएकाहरूलाई भन, "बलियो होओ, नडराओ ! हेर, तिमीहरूका परमेश्‍वर बदला लिएर, परमेश्‍वरको इनाम लिएर आउनुहुनेछ । उहाँ आउनुहुनेछ र तिमीहरूलाई बचाउनुहुनेछ ।5 तब अन्धाहरूका आँखाहरूले देख्‍नेछन् र बहिराहरूका कानले सुन्‍नेछन् ।6 तब लङ्‌गडो मानिस हरिणझैँ उफ्रनेछ र गुँगाहरूका जिब्रोले गाउनेछन्, किनकि अरबमा पानीको मूल फुट्नेछ र उजाड-स्थानमा खोलाहरू बग्‍नेछन् ।7 जल्ने बालुवा तलाउ बन्‍नेछ र सुक्‍खा जमिन पानीको मूल हुनेछ । कुनै बेला स्यालहरू बस्‍ने ठाउँहरूमा नर्कट र काँशको घाँस हुनेछ ।8 त्‍यहाँ पवित्र बाटो भनिने मूल बाटो हुनेछ । अपवित्रहरूले त्‍यसमा यात्रा गर्नेछैनन् । तर यो यसमा हिँड्नेहरूका निम्ति हुनेछ । यसमा कुनै मूर्ख जानेछैन ।9 त्‍यहाँ कुनै सिंह हुनेछैन, कुनै डरलाग्दो जङ्‌गली जनावर हुनेछैन । तिनीहरू त्‍यहाँ भेट्टाइनेछैनन्, तर उद्धार पाएकाहरू त्‍यहाँ हिँड्नेछन् ।10 परमप्रभुले मोल तिरेर छटकारा दिनुभएकाहरू फर्किनेछन् र गाउँदै सियोनमा आउनेछन्, अनि तिनीहरूको शिरमा अनन्‍तको आनन्‍द हुनेछ । खुसी र आनन्‍दले तिनीहरूमा वास गर्नेछ । कष्‍ट र सुस्केरा भाग्‍नेछ ।