34
ए जातिहरू, नजिक आओ र सुन । ए मानिसहरू, ध्‍यान देओ । पृथ्वी र त्‍यसलाई भर्ने सबैले, संसार र त्‍यसबाट आएका सबै थोकले सुन्‍नुपर्छ ।2 किनकि परमप्रभु सबै जातिहरूसँग रीसाउनुभएको छ र तिनीहरूका सबै फौजको विरुद्धमा क्रोधित हुनुहुन्‍छ । उहाँले तिनीहरूलाई पूर्ण रूपमा विनाश पार्नुभएको छ, उहाँले तिनीहरूलाई संहारको निम्ति सुम्पनुभएको छ ।3 तिनीहरूका मृतकहरूका लाशहरू बाहिर फालिनेछन् । लाशहरूको दुर्गन्ध जताततै हुनेछ । अनि पर्वतहरूले तिनीहरूका रगत सोस्‍नेछ ।4 आकाशका सबै ताराहरू विलीन हुनेछन् र आकाशचाहिँ एउटा चर्मपत्रको मुट्ठाझैँ बेह्रिनेछ । अनि दाखको पात झरेर ओइलाएझैँ र अञ्‍जीरको रूखबाट गलेका अञ्‍जीरहरू खसेझैँ तिनीहरूका सबै ताराहरू विलीन हुनेछन् ।5 किनकि जब मेरो तरवारले स्वर्गमा अघाउञ्‍जेल पिउनेछ; हेर, मैले विनाशको निम्ति अलग गरिरहेका मानिसहरू एदोममाथि त्‍यो आउनेछ ।6 परमप्रभुको तरवारबाट रगत चुहिरहेको छ र बोसोले ढाकेको छ, थुमाहरू र बोकाहरूका रगत चुहिरहेको छ, भेडाहरूका मृगौलाको बोसोले ढाकिएको छ । किनकि बोज्रामा परमप्रभुको बलिदान छ र एदोममा ठूलो संहार छ ।7 तिनीहरूसँगै जङ्‌गली साँढेहरू, अनि वृद्ध साँढेहरूसँगै जवानहरू ढल्नेछन् । तिनीहरूका देश रगतले मात्‍नेछ र तिनीहरूका माटो बोसोले मोटाउनेछ ।8 किनकि परमप्रभुको निम्ति यो बदलाको दिन हुनेछ र उहाँले सियोनको निम्ति तिनीहरूसँग साटो फेर्ने एउटा वर्ष हुनेछ ।9 एदोमका नदीहरू अलकत्रामा, त्‍यसको माटो गन्धकमा परिणत हुनेछ र त्‍यसको देश जलिरहने अलकत्रा हुनेछ ।10 त्‍यो रातदिन जल्नेछ । त्‍यसको धूवाँ सदासर्वदा माथि उठिरहनेछ । पुस्तादेखि पुस्तासम्म यो उजाड भूमि हुनेछ । सदासर्वदा यसबाट कोही पनि हिँड्नेछैन ।11 तर जङ्‌गली चराहरू र जनावरहरू त्‍यहाँ बस्‍नेछन् । लाटोकोसेरो र कागले त्‍यसमा आफ्ना गुँड बनाउनेछन् । उहाँले त्‍यसमाथि नाशको नाप्‍ने डोरी र विनाशको साहुल लगाउनुहुनेछ ।12 राज्‍य भन्‍नलाई त्‍यसका भारदारहरूसँग कुनै कुरा रहनेछैन, र त्‍यसका सबै शासकहरू लोप हुनेछन् ।13 त्‍यसको दरबारमा काँढाहरू, अनि त्‍यसको किल्लाहरूमा सिस्‍नो र सिउँडीहरू उम्रिनेछन् । त्‍यो स्यालको वास र शुतुरमुर्गको ठाउँ हुनेछ ।14 त्‍यहाँ जङ्‌गली जनावरहरू र हुँडारहरू भेट्नेछन् अनि घोरलहरू एकआपसमा कराउनेछन् । रातका जनावरहरू त्‍यहाँ बस्‍नेछन् र तिनीहरूको निम्ति विश्रामको ठाउँ हुनेछ ।15 लाटोकोसेराहरूले गुँड बनाउनेछन्, अण्डा पार्नेछन् कोरल्नेछन् र तिनीहरूका बचेराहरूको संरक्षण गर्नेछन् । हो, त्‍यहाँ आ-आफ्ना जोडीसँग बाजहरू भेला हुनेछन् ।16 परमप्रभुको चर्मपत्रको मुट्ठोभरि खोज । यीमध्‍ये एउटै पनि हराउनेछैन । कसैलाई पनि जोडीको कमी हुनेछैन । किनकि उहाँको मुखले यस्तो आज्ञा दिनुभएको छ र उहाँको आत्माले तिनीहरूलाई भेला गर्नुभएको छ ।17 उहाँले नै तिनीहरूका ठाउँहरूका निम्ति चिट्ठा हाल्नुभएको छ र उहाँकै हातले तिनीहरूको निम्ति डोरीले नाप लिनुभएको छ । तिनीहरूले सदासर्वदा त्‍यसको अधिकार गर्नेछन् । पुस्तादेखि पुस्तासम्म तिनीहरू त्‍यहाँ बस्‍नेछन् ।