33
विनाश नभएको विनाश पार्ने तँलाई धिक्कार ! तिनीहरूले धोका नदिएको धोकेबाजलाई धिक्कार ! जब तैँले विनाश गर्न छोड्छस् तब तेरो विनाश हुनेछ । जब तैले धोका दिन छोड्छस् तब तिनीहरूले तँलाई धोका दिनेछन् ।2 हे परमप्रभु, हामीप्रति अनुग्रही हुनुहोस् । हामी तपाईंको आशा गर्छौं । हरेक बिहान हाम्रो बाहुली हुनुहोस्, कष्‍टको समयमा हाम्रो उद्धार हुनुहोस् ।3 ठूलो आवाजमा मानिसहरू भाग्छन् । तपाईं उठ्नुहुँदा जातिहरू तितरबितर हुन्‍छन् ।4 तपाईंको लूट सलहहरूले जस्‍तै बटुलिन्‍छ । सलहहरू उफ्रेझैँ मानिसहरू उफ्रन्‍छन् ।5 परमप्रभु उच्‍च पारिनुभएको छ । उच्‍च स्थानमा उहाँ विराजमान हुनुहुन्‍छ । उहाँले सियोनलाई न्‍याय र धार्मिकताले भर्नुहुनेछ ।6 तिमीहरूका समयमा उहाँ स्थिरता, उद्धार, बुद्धि र ज्ञानको प्रचुरता हुनुहुनेछ । परमप्रभुको भय नै त्‍यसको भण्डार हो ।7 हेर, तिनीहरूका दूतहरू सडकहरूमा कराउँछन् । शान्‍तिको आशा गर्ने कुटनीतिज्ञहरू धुरुधुरु रुन्‍छन् ।8 मूल बाटोहरू उजाड पारिएका छन् । त्‍यहाँ कुनै यात्रीहरू छैनन् । करारहरू तोडिएका छन्, गवाहीहरूको अवहेलना भएको छ र मानव जातिलाई आदर गरिँदैन ।9 देशले विलाप गर्छ र ओइलाउँछ । लेबनान लज्‍जित हुन्‍छ र ओइलाउँछ । शारोन मरुभूमिको मैदान जस्‍तै हो । बाशान र कर्मेलले आफ्ना पातहरू हल्लाउँछन् ।10 परमप्रभु भन्‍नुहुन्‍छ, "अब म उठ्नेछु, अब म उच्‍च पारिनेछु; म अब उचालिनेछु ।11 तिमीहरूले भुस गर्भधारण गर्‍यौ र तिमीहरूले परालका ठुटाहरू जन्‍मायौ । तिमीहरूका सास तिमीहरूलाई भस्‍म पार्ने आगो हो ।12 काँढाका झाडीहरू काटेर जलाएझैँ मानिसहरूलाई चूनझैँ जलाइनेछ ।13 तिमीहरू टाढा हुनेहरू, मैले के गरेको छु सो सुन । अनि तिमीहरू नजिक हुनेहरू, मेरो शक्तिलाई स्वीकार गर ।14 सियोनका पापीहरू भयभीत भएका छन् । ईश्‍वरहीनहरूलाई थरथराउने डरले समातेको छ । हामीमध्‍ये कोचाहिँ बलिरहेको आगोसँग खेल्न सक्छ र ? हामीमध्‍ये कोचाहिँ अनन्‍त जलिरहने आगोसँग खेल्न सक्छ र ?15 त्‍यही नै जो धार्मिकतासाथ हिँड्छ र इमानदारसाथ बोल्छ । जसले अत्‍यचारको लाभलाई घृणा गर्छ, जसले घूस स्वीकार नगर्न आफ्नो हात टकटकाउँछ, रक्तपातको बारे सुन्‍नदेखि आफ्ना कानहरू बन्‍द गर्छ र जसले दुष्‍टता हेर्नदेखि आफ्ना आँखाहरू बन्‍द गर्छ ।16 यो त्‍यो मानिस हो जो उच्‍च स्थानहरूमा वास गर्नेछ, त्‍यसको सुरक्षाको स्थान भीरहरू माझको किल्लाहरूमा हुनेछ, त्‍यसको खाना दिइनेछ र त्‍यसको पानीको आपूर्ति निरन्‍तर हुनेछ ।17 तेरा आँखाहरूले राजालाई उहाँको सुन्‍दरतामा देख्‍नेछ । तिनीहरू देशलाई टाढाको दूरीमा देख्‍नेछन् ।18 तिमीहरूका मनले त्रासलाई याद गर्नेछ । शास्‍त्री कहाँ छ, पैसा तौलने कहाँ छ ? धरहराहरूको गन्‍ती गर्ने कहाँ छ ?19 तिमीहरूले फेरि हठी मानिसहरू, तिमीहरूले नबुझ्‍ने भाषा बोल्ने अनौठो मानिसहरूलाई कदापि देख्‍नेछैनौ ।20 सियोन, हाम्रो भोजको सहरलाई हेर । तिमीहरूका आँखाहरूले यरूशलेमलाई शान्‍त वासस्थानको रूपमा, नहटाइने पालको रूपमा देख्‍नेछौ, जसको किलाहरूलाई कदापि उखेलिनेछैन न यसको कुनै डोरीलाई चुँडाइन्‍छ ।21 बरु, परमप्रभु आफ्नो वैभवमा फराकिलो नदीहरू र खोलाहरूको ठाउँमा हामीसँग हुनुहुनेछ । पतवारले चलाइने कुनै पनि युद्धका पानी जहाजहरूले यात्रा गर्नेछैनन् र कुनै पनि ठूला पानी जहाजहरू जानेछैनन् ।22 किनकि परमप्रभु हाम्रो न्‍यायकर्ता हुनुहुन्‍छ, परमप्रभु हाम्रो व्यवस्था दिने हुनुहुन्‍छ, परमप्रभु हाम्रा राजा हुनुहुन्‍छ । उहाँले हामीलाई बचाउनुहुनेछ ।23 तिमीहरूका जहाजका डोरीहरू खुकुलो छन् । तिनीहरूले मस्तूललाई पक्रन सक्दैनन् । तिनीहरू पाल टाँग्‍न सक्दैनन् । जब ठूलो लूट बाँडिन्‍छ, लङ्‌गडोले पनि लूटको माल घिसारेर लानेछ ।24 बासिन्‍दाहरूले "म बरामी छु" भन्‍नेछैनन् । त्‍यहाँ बस्‍ने मानिसहरूलाई तिनीहरूको पाप क्षमा गरिनेछ ।