30
यो परमप्रभुको घोषणा हो, "धिक्कार विद्रोही छोराछोरीहरूलाई ! तिनीहरू योजना बनाउँछन्, तर मबाट योजना होइन । तिनीहरूले अरू जातिहरूसँग मित्रता गाँस्छन्, तर तिनीहरू मेरो आत्माद्वारा निर्देशित भएनन्, त्‍यसैले तिनीहरूले पापमाथि पाप थप्छन् ।2 तिनीहरू तल मिश्र देशमा जान निस्कन्‍छन्, तर मेरो निर्देशन खोजेका छैनन् । तिनीहरूले फारोबाट सुरक्षा खोज्छन् र मिश्र देशको छायाँमा शरण लिन्‍छन् ।3 यसकारण फारोको सुरक्षा तिमीहरूको शर्म हुनेछ र मिश्र देशको छायाँको शरण तिमीहरूको अपमान हुनेछ,4 यद्यपि तिनीहरूका शासकहरू सोअनमा र तिनीहरूका दूतहरू हानेसमा आएका छन् ।5 आफूलाई सहायता गर्न नसक्‍ने मानिसहरूको कारणले तिनीहरू लज्‍जित हुनेछन्, जो न सहायता न मदत हुन्, तर शर्म र अपमान हुन्‍छन् ।6 नेगेवको घमण्डको बारेमा एउटा घोषणाः कष्‍ट र खतराको देशबाट भएर सिंहनी र सिंह, साँप र उड्ने सर्प निस्कनेछन्, आफूलाई सहायता गर्न नसक्‍ने मानिसहरूकहाँ लैजानलाई तिनीहरूले गधाहरूलाई आफ्ना सम्पत्ति र ऊँटहरूलाई आफ्ना बहुमूल्य भण्डारहरू बोकाउँछन् ।7 किनकि मिश्र देशको सहायता व्यर्थ हुन्‍छ । यसकारण मैले त्‍यसलाई राहाब भनेँ, जो चुपचाप बस्छ ।8 अब जा, तिनीहरूको सामु यो एउटा पाटीमा लेख् र एउटा मुट्ठामा यो लेख्, ताकि आउने समयको निम्ति यो गवाहीको रूपमा सुरक्षित हुन सकोस् ।9 किनकि यी विद्रोही मानिसहरू, झूट बोल्ने छोराछोरीहरू, परमप्रभुको शिक्षा नसुन्‍ने छोराछोरीहरू हुन् ।10 तिनीहरूले दर्शीहरूलाई भन्‍छन्, "नहेर्नुहोस्" र अगमवक्ताहरूलाई भन्‍छन्, "हामीलाई सत्‍य अगमवाणी नगर्नुहोस् । हाम्रा निम्ति चापलुसी कुरा गर्नुहोस्, भ्रम अगमवाणी गर्नुहोस् ।11 मार्गबाट तर्की जानुहोस्, बाटोबाट हट्नुहोस् । इस्राएलका परमपवित्रलाई हाम्रो सामु नबोल्ने पार्नुहोस् ।12 यसकारण इस्राएलका परमपवित्र भन्‍नुहुन्‍छ, "तिमीहरूले यो वचन इन्कार गरेको छौ र अत्‍याचार र छलमा भरोसा गरेको छौ अनि त्‍यसमा अडेको छौ,13 त्‍यसैले यो पाप खस्‍नलाई तयार भएको टुटेको थोक जस्‍तै, तुरुन्‍तै अचानक रूपमा खस्‍न लागेको अग्लो पर्खालको निस्केको भाग जस्‍तै हुनेछ ।14 कुमालेको भाडा फुटेझैँ उहाँले त्‍यसलाई फुटाउनुहुनेछ । उहाँले त्‍यसलाई छोड्नुहुनेछैन, ताकि त्‍यहाँ त्‍यसका टुक्राहरूमध्‍येमा चुल्होबाट आगो निकाल्ने वा इनारबाट पानी उबाउने टुक्रा पाइनेछैन ।15 किनकि परमप्रभु इस्राएलका परमपवित्र परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, "फर्कनु र विश्राम गर्नुले तिमीहरू बचाइनेछौ । चुपचाप बस्‍नु र भरोसा गर्नुले तिमीहरूले बल पाउनेछौ । तर तिमीहरू तत्पर भएनौ ।16 तिमीहरूले भन्‍यौ, ‘होइन, किनकि हामी घोडामा भाग्‍नेछौँ', यसरी तिमीहरू भाग्‍नेछौ । अनि 'हामी छिटो दौडने घोडाहरूमा चढ्नेछौँ', त्‍यसैले तिमीहरूलाई खेद्‌नेहरू झन् छिटो हुनेछन् ।17 एक जनाको धम्कीले एक हजार जना भाग्‍नेछन् । पाँच जनाको धम्कीले तिमीहरूका बाँकी रहेकाहरू डाँडाको टाकुराको झन्डाको डन्डा वा पर्वतमाथिको झन्डा जस्‍तो नभएसम्म भाग्‍नेछौ ।18 तापनि परमप्रभुले तिमीहरूप्रति अनुग्रही हुनलाई आशा गरिरहनुभएको छ, यसकारण तिमीहरूलाई दया देखाउन उहाँ तयार हुनुहुन्‍छ । किनकि परमप्रभु न्‍यायको परमेश्‍वर हुनहुन्‍छ । उहाँको प्रतीक्षा गर्ने सबै जना धन्‍यका हुन् ।19 किनकि मानिसहरू सियोनमा, यरूशलेमा बस्‍नेछन् र तिमीहरू फेरि रुनेछैनौ । तिमीहरूको रुवाइको आवाज सुन्‍दा उहाँ निश्‍चय नै अनुग्रही हुनुहुनेछ । जब उहाँले त्‍यो सुन्‍नुहुन्‍छ, तब उहाँले तिमीहरूलाई जवाफ दिनुहुनेछ ।20 परमप्रभुले दुःखको रोटी र कष्‍टको पानी दिनुभए तापनि, र त्‍यसो हुँदा पनि तिमीहरूका शिक्षक तिमीहरूबाट अझै लुक्‍नुहुनेछैन, तर तिमीहरूले आफ्नो शिक्षकलाई आफ्नै आँखाले देख्‍नेछौ ।21 जब तिमीहरू दाहिने फर्कन्‍छौ वा जब तिमीहरू देब्रे फर्कन्‍छौ, तब तिमीहरूका पछाडिबाट यसो भनिरहेको आवाज तिमीहरूका कानले सुन्‍नेछन् "बाटो यही हो, यसैमा हिँड ।22 तिमीहरूले आफ्ना खोपिएका चाँदीका र सुनले बनाइएका आकृतिहरूलाई अपवित्र तुल्याउनेछौ । तिमीहरूले महिनावारीको फोहोर फालेझैँ ती फाल्नेछौ । तिनलाई तिमीहरूले भन्‍नेछौ, "यहाँबाट गइहाल ।"23 तिमीहरूले जमिनमा बीउ छर्दा उहाँले तिमीहरूलाई वर्षा र जमिनबाट प्रशस्त रोटी दिनुहुनेछ, र अन्‍नहरू प्रशस्त हुनेछन् । त्‍यो दिनमा तिमीहरूका गाइवस्तु फराकिलो खर्कमा चर्नेछन् ।24 जमिन जोत्‍ने गोरुहरू र गधाहरूले बेल्चा र नाङ्लोले निफनिएका दाना खानेछन् ।25 धरहरा ढलेर ठूलो संहार भएको दिनमा, हरेक अग्लो पहाड र हरेक अग्लो डाँडामा, त्‍यहाँ बगिरहने खोलाहरू र खोल्साहरू हुनेछन् ।26 चन्‍द्रमाको ज्‍योति सूर्यको ज्‍योति जस्‍तै हुनेछ र सूर्यको ज्‍योति सात दिनको सूर्यको ज्‍योति जस्‍तै सात गुणा बढी चहकिलो हुनेछ । परमप्रभुले आफ्ना मानिसहरूका घाउमा पट्टि लगाउनुहुनेछ र घाइतेहरूका चोटहरू निको पार्नुहुनेछ ।27 हेर, परमप्रभुको नाउँ टाढाबाट उहाँको रीसले जलिरहेको र गाढा धूवाँमा आउँछ । उहाँका ओठहरू क्रोधले पूर्ण छन् र उहाँको जिब्रो विनाश गर्ने आगो जस्‍तै छ ।28 उहाँको सास जातिहरूलाई विनाशको नाङ्लोले निफन्‍न घाँटीसम्म नै आउने उर्लंदो जलाधार जस्‍तै छ । उहाँको सास मानिसहरूलाई भर्माउन लगाउने मानिसहरूको बङ्‌गारामा लगाइएको लगाम जस्‍तो छ ।29 तिमीहरूले पवित्र चाड मनाउदा झैँ रातमा पनि गीत गाउनेछौ र परमप्रभुको पर्वतमा अर्थात् इस्राएलको चट्टानकहाँ बाँसुरी बजाउँदै जाँदाको जस्‍तै मन खुसी हुनेछ ।30 परमप्रभुले हावाहुरी, आँधीबतास र असिनासँगै रीसको आँधीमा र आगोको ज्वालामा आफ्नो आवाजको प्रतापलाई सुनाउनुहुनेछ र उहाँको बाहुलीको चाललाई देखाउनुहुनेछ ।31 किनकि परमप्रभुको आवाजमा अश्शूरलाई चुरचुर पारिनेछ । उहाँले तिनीहरूलाई लट्ठीले चुट्नुहुनेछ ।32 तिनीसँग लड्दा र युद्ध गर्दा परमप्रभुले तिनीहरूलाई दिनुभएको हरेक प्रहारसँग खैँजडी र वीणाहरूको सङ्‌गीतले साथ दिइनेछ ।33 किनकि जल्नको निम्ति ठाउँ धेरै पहिला तयार पारिएको थियो । वास्तवमा, यो राजाको निम्ति तयार पारिन्‍छ र परमेश्‍वरले यसलाई गहिरो र फराकिलो बनाउनुभएको छ । त्‍यो आगो र धेरै दाउरासहित तयार छ । परमप्रभुको सासले गन्धकको नदी जस्‍तै यसलाई आगो सल्काउनेछ ।